coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्टरपोल प्रमुख बेपत्ता, अनुसन्धान सुरु

पेरिस (बिबिसी) – अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता भएपछि फ्रान्समा अनुसन्धान सुरु गरिएको छ।

इन्टरपोलको फ्रान्सस्थित मुख्यालयबाट गत साता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। तर उनी फ्रान्सबाट बेपत्ता नभएको फ्रान्सेली अनुसन्धान टोलीसँग नजिक रहेको एउटा स्रोतले समाचार संस्था एएफपीलाई बताएको छ । ‘साउथ चाइना मर्निङ पोस्ट’ले नाम उल्लेख नगरिएको स्रोतलाई उद्धृत गर्दै ६४ वर्षीय मेङलाई सोधपुछ गर्न लगिएको जनाएको छ। हङकङ आधारित सो पत्रिकाले उनलाई के कारणले अनुशासन अधिकारीहरुले लगेका हुन् वा कहाँबाट नियन्त्रणमा लिइएको हो भन्ने विवरण भने उल्लेख गरेको छैन।

मेङबारे चीनका अधिकारीहरुले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। मेङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीसमेत भएको बताइएको छ। चीन हिँडेका मेङ बेपत्ता भएको भन्दै उनकी पत्नी प्रहरीको सहयोग लिन पुगेपछि त्यसबारे अनुसन्धान थालिएको फ्रान्सेली प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

इन्टरपोलको अनुसन्धान केमा केन्द्रित छ?
मेङ पत्नीले आफ्ना पति बेपत्ता भएको भन्दै प्रहरीमा रिपोर्ट गरेपछि यसबारेको तथ्य बाहिर आएको थियो। २९ सेप्टेम्बरदेखि मेङ पारिवारिक सम्पर्कमा नरहेको मेङ पत्नीलाई उद्धृत गर्दै प्रहरी स्रोतले सुरुमा उल्लेख गरेको थियो। तर फेरि फ्रान्सको आन्तरिक मन्त्रालयले मिति सच्याउँदै उनी २५ सेप्टेम्बरबाट हराइरहेको बताएको थियो। मेङको अवस्थाबारे चिनियाँ अधिकारीसँग सम्पर्क भइरहेको सो मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

‘इन्टरपोलका अध्यक्षको अवस्थाबारे फ्रान्स जानकार रहेको र उनको श्रीमतीलाई दिइएको चेतावनीबारे जानकार रहेको सो मन्त्रालयले जनाएको छ। इन्टरपोलले एउटा विज्ञप्तिमा जारी गर्दै मेङबारे अनुसन्धान भइरहेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ। इन्टरपोलले थप जानकारी भने नदिएको बिबिसीले उल्लेख गरेको छ। ‘यो फ्रान्स र चीनका सम्बन्धित निकायको चासोको विषय हो,’ इन्टरपोलले जनाएको छ। एक सय ९२ सदस्य रहेको इन्टरपोलको दैनिकी सञ्चालन गर्ने जिम्मेवारी अध्यक्षको नभएर महासचिवको भएको इन्टर्पोलले जनाएको छ। अध्यक्षका रूपमा मेङले कार्यकारी समितिको नेतृत्व गर्छन्। सो समितिले इन्टरपोललाई परामर्श र निर्देशन दिन्छ। बेपत्ता भएका मेङको सन् २०२० सम्म कार्यकाल रहेको छ।

के मेङले चीनलाई चिढ्याएका थिए?
मेङ होङ्वेई बेपत्ता भएको घटना चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीहरुले जानेकै शैलीसँग मिल्दोजुल्दो छ। कुनै अधिकारी अकस्मात सार्वजनिक दृष्टिबाट हराउँछन् र सर्वसाधारणमाझ उनी बेपत्ता भएको भनेर चर्चा हुन्छ। ती अधिकारीबारे अनुसन्धान हुँदै गरेको भनेर अन्ततः पार्टीले एउटा संक्षिप्त विज्ञप्ति निकाल्छ। त्यसपछि अनुशासन भंग गरेको’ भन्दै ती व्यक्तिलाई पार्टीबाट निकालिन्छ र जेल सजाय सुनाइन्छ। राष्ट्रपति सी चिनफिङ सन् २०१२ मा सत्तामा आएपछि १० लाखभन्दा बढी अधिकारीलाई कुनै न कुनै रूपमा अनुशासनको कारबाही गरिएको छ । मेङको घटना केही कारणले अर्थपूर्ण रहेको बिबिसीले उल्लेख गरेको छ।

पहिलो, उनी केही दिनदेखि मात्रै सम्पर्कविहीन भएका भए पनि मेङकी पत्नीले फ्रान्सेली सरकारी निकायलाई गुहारिन्। चिनियाँ कम्युनिस्ट पार्टीका बेपत्ता भएका अधिकारीका परिवारका सदस्यले दण्ड बढी पाउलान् भन्ने भयले प्रायः विदेशी निकायलाई गुहार्दैनन्। अरू उपाय बाँकी छैन भन्ने लागेर मेङकी पत्नीले त्यसो गरेकी हुन् कि भन्ने आशंका रहेको बिबिसीले जनाएको छ  । इन्टरपोलमा मेङको उच्च पद कुनै बेला चीनका लागि गौरवको विषय थियो । यदि मेङ साँच्चै चीनको राज्य संयन्त्रभित्रै बेपत्ता भएका हुन् भने उनले कसलाई चिढ्याएका थिए होलान् भन्ने सर्वत्र चासोको विषय बनेको छ । त्यर्सगरी उनले नियतवश र सार्वजनिक रूपमै इन्टरपोलको पद त्याग्ने गरी बेइजिङका लागि के गरेका थिए भन्ने पनि चर्चाको विषय भएको बिबिसीले उल्लेख गरेको छ।

अवस्था सार्वजनिक गर : इन्टरपोल
इन्टरपोलका अध्यक्ष मेङ होङ्वेइको अवस्थाबारे प्रष्ट पार्न इन्टरपोलले चीनसँग आग्रह गरेको छ।

‘इन्टरपोलका अध्यक्षको अवस्थाबारे सार्वजनिक गर्न चीनसँग आग्रह गरिएको छ,’ संगठनका महासचिव जुरजेन स्टकलाई शनिबार उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

‘आधिकारिक कानुन कार्यान्वयन संयन्त्रमार्फत इन्रटपोलले अध्यक्ष मेङको अवस्थाबारे जानकारी गराउन चीनका अधिकारीसमक्ष आग्रह गरेको छ,’ संगठनको दैनिक प्रशासन सञ्चालन गर्ने जिम्मेवारी भएका महासचिव स्टकले बताए । अध्यक्ष सही अवस्थामा हुनुहुन्छ भन्नेबारे चिनियाँ प्रशासनबाट जानकारी पाउनेमा इन्टरपोलको सचिवालय विश्वस्त रहेको समेत महासचिव स्टकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २१ आश्विन २०७५ ०३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App