६ वैशाख २०८१ बिहीबार
विचार

शान्ति दिवस र विश्व शान्ति

आज सेप्टेम्बर २१ । ३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको छ । यस वर्षको अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा ‘दिगो विकासका लक्ष्य :  शान्तिका मूलभूत आधार’ भन्ने छ । संसारका सबै देश र जनतामा शान्तिको कामनासहित यो दिवस प्रारम्भ भएको हो । नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ ।  

कुनै पनि देशको विकासको मूल आधार शान्ति हो । विकासको मूल आधार मात्र नभएर शान्ति मानव जातिको अमूल्य अधिकार पनि हो । शान्तिको अधिकार भनेको युद्धविरुद्धको अधिकार हो । युद्ध, हिंसा, हुलदंगा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र र मुक्त रहन पाउनु नै शान्तिको अधिकार हो । दोस्रो विश्वयुद्धपश्चात् १९४५ मा जारी संयुक्त राष्ट्र संघको बडापत्रको प्रमुख उद्देश्य नै ‘युद्ध रोकी शान्ति स्थापना गर्नु’ भन्ने छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को प्रस्तावनामा नै ‘अधिकारहरुको मान्यता नै न्याय र शान्तिको स्थापना गर्नु रहेको’ भनी शान्तिलाई जोड दिइएको छ । विभिन्न देशमा भएका आमनरसंहारकारी युद्धपश्चात् अपराधीलाई कारबाही गर्न भनी गठन हुने गरेका अस्थायी ट्राइबुनलहरुको उद्देश्य पनि शान्ति स्थापना गर्नु नै रहने गरेको पाइएको छ ।

आज शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानुनको अभिन्न अंग बनेको छ । सबै मानव अधिकारहरु शान्तिपूर्ण अवस्थामा मात्र उपभोग गर्न पाउने हुँदा शान्तिको अधिकार अरु अधिकारको तुलनामा बढी महत्वपूर्ण हुन्छ । संयुक्त राष्ट्र संघले बेलाबेलामा शान्ति र अरु विषयगत अधिकारलाई सँगै जोडेर घोषणापत्रहरु जारी गर्दै आएको छ । पछिल्लो पटक जारी गरिएको शान्तिको अधिकारसम्बन्धी घोषणापत्र, १९८४ मा जनताको शान्तिपूर्ण अधिकारको रक्षा गर्नु राज्यको कर्तव्य हुने, जनतालाई शान्तिको अधिकार हुने र विवादको समाधान शान्तिपूर्ण तरिकाबाट गर्नुपर्ने कुरा उल्लेख छ । यो घोषणापत्रले शान्तिलाई यस धर्तीका बासिन्दाको महत्वपूर्ण र पवित्र अधिकारका रूपमा चित्रण गरेको छ ।
संयुक्त राष्ट्र संघका अलावा अन्तर्राष्ट्रिय रेडक्रस जस्ता संस्थाहरुले पनि शान्तिका लागि कार्य गरिरहेका छन् । गैरसरकारी संस्थाका रूपमा विश्व शान्ति परिषद्लगायतका थुप्रै संस्था कार्यरत छन् । तर आज विश्वमा शान्तिका लागि जति धनराशि खर्च गरिँदैछ त्योभन्दा कैयौँ गुना बढी सशस्त्रको होडबाजी, आणविक अस्त्र परीक्षण युद्धमा खर्च भइरहेको छ । यसले गर्दा विश्वमा शान्ति स्थापनामा भएका प्रयासहरुमा चुनौती थपिइरहेको छ ।
विश्वमा हिंसा न्यूनीकरण हुन नसक्नुको मुख्य कारण हिंसा हुनुका कारणहरुको सम्बोधन हुन नसक्नु हो । आज अशान्ति रोक्ने जे÷जति प्रयास भएका छन् ती हिंसालाई बलका भरमा रोक्नेतर्फ मात्र केन्द्रित छन् । हिंसा हुनका कारणहरुको सम्बोधनतर्फ विश्वको ध्यान केन्द्रित भएको छैन । शान्ति, अहिंसा, मानव अधिकार र लोकतन्त्र एकापसमा पृथक रहन नसक्ने भएकाले मानव अधिकार र प्रजातन्त्रको जगमा नै शान्ति स्थापना हुन्छ भन्ने कुरामा अझै पनि सरकारहरुको ध्यान पुगेको छैन । अहिले पनि विश्वको ठूलो शक्ति हिंसा दबाएर शान्ति स्थापना हुन्छ भन्नेमा विश्वास राख्छ ।
नेपाल जस्तो सशस्त्र द्वन्द्व भइसकेको देशमा पुनः द्वन्द्व नहोस् र शान्ति नखल्बलियोस् भन्नका लागि पनि शान्तिको बहस बढी औचित्यपूर्ण हुन्छ । नेपालको सशस्त्र द्वन्द्वको कारण, प्रकृति र प्रभावहरु तथा यसको समाधानका लागि अपनाइएका उपाय मौलिक प्रकृतिको रहेकाले द्वन्द्वपछिको शान्ति स्थापनामा नेपालको शान्ति प्रक्रिया विश्वकै लागि चासो, चर्चा, अनुसन्धान, अध्ययनको विषय बन्नुका साथै अनुकरणीय पनि छ । वर्तमान सन्दर्भमा नेपालले विश्व शान्ति स्थापनामा समेत योगदान गर्न सक्ने अवस्था छ । तर यति हुँदाहुँदै पनि नेपालमा १७ हजार जनाको ज्यान जाने गरी भएको हिंसात्मक द्वन्द्वको असर अझैँ बाँकी छ ।

अहिले पनि न त शान्तिविरुद्धको अपराधका आरोपीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई परिपूरण दिन सकिएको छ न हिंसा हुनुका कारणहरुको सम्बोधनतिर कसैको ध्यान जान सकेको छ । मानिस एकातिर शान्ति चाहन्छ भने अर्कातिर हिंसा गर्छ । एउटै मानिसभित्र पनि शान्ति र हिंस्रक दुवै गुण हुन्छन् । द्वैधात्मक गुण भएको मानवलाई वातावरणले जता आकर्षित गर्छ ऊ त्यसैतर्फ मोडिन्छ । थुप्रै शान्तिप्रेमी युवा १० वर्षे द्वन्द्वमा हतियार बोक्न पुग्नु यसैको उदाहरण हो ।

संसार नै अहिले हिंसा र शान्तिको दोसाँधमा छ । एकातिर शान्तिको चाहना छ अर्कातिर हिंसाको स्थिति छ । हिंसा र शान्ति दुवै शक्ति हुन् । हिंसाको शक्तिलाई कम गर्न र शान्तिको शक्तिलाई प्रबद्र्धन गर्न विश्व नै लागिपरेको छ । तर सार्थक हुन सकिरहेको छैन । संसार सोचाइ एउटा र अवस्था अर्कोको स्थितिमा छ । शान्ति चाहने तर व्यवहारमा हिंसा गर्ने प्रवृत्ति पनि अन्त्य हुन सकेको छैन । ‘मुखमा राम राम बगलीमा छुरा’ को व्यवहारले नै विश्व शान्तिमा चुनौती खडा गरेको छ ।

वर्तमान विश्वमा शान्ति अन्तर्राष्ट्रिय एजेन्डा बनेको छ । मानसिको रंग, रहनसहन, भाषा, संस्कृति, धर्म, नागरिकता, विचार, इच्छा फरक हुन सक्तछ तर विश्वकल्याणका लागि शान्तिको एजेन्डा साझा हुुनुपर्छ भन्ने मान्यता विकास भएको छ । मान्छेले मान्छेलाई घृणा गर्ने र हिंसात्मक गतिविधि गर्ने काम शोभनीय नहुने पाठ मान्छेले मान्छेलाई सिकाउनुपर्ने स्थिति छ ।  

विश्वव्यापीकरणले गर्दा एक ठाउँ वा देशको हिंसाको असर विश्वमा नै पर्ने भएकाले पनि आज विश्वको ध्यान हिंसाको न्यूनीकरण र शान्ति स्थापनामा केन्द्रित छ । राष्ट्र संघ, विश्व समुदाय, गैरसरकारी संस्थाहरु यसमा लागिपरेका छन् तर सम्पूर्ण विश्वले शान्ति स्थापनाको प्रयास गर्दागर्दै पनि विश्वमा अपेक्षाकृत शान्ति हुन सकेको छैन । प्रथम र दोस्रो विश्व युद्धको विभीषिका पुनः नदोरियोस् भनी संयुक्त राष्ट्र संघको स्थापना भए पनि अझै तेस्रो विश्वयुद्धको सम्भावना टरेको छैन । विश्वका महाशक्ति राष्ट्रबीच अहिले पनि अघोषित युद्ध जारी छ । सीमा विवाद कायम छन् । कतिपय मुलुकमा आन्तरिक सत्ता संघर्ष चलिरहेका छन् । आणविक अस्त्र परीक्षणको होडबाजीले विश्व शान्तिलाई चुनौती दिइरहेको छ । आतंकवादले पनि विश्वलाई आतंकित बनाइराखेको छ ।

युद्ध शान्तिका लागि सबैभन्दा ठूलो सत्रु र अवरोध हो । हिंसाको आरम्भ नहुनु र अन्त्य हुुनुबाट नै शान्तिको सुरुवात हुन्छ । न्यायको उपस्थिति र सामाजिक न्यायको प्रत्याभूति शान्तिका लागि आवश्यक छ । महात्मा गान्धी भन्नुहुन्छ– ‘शान्तितर्फ कुनै मार्ग छैन, अपितु शान्ति नै मार्ग हो ।’ भनाइको तात्पर्य शान्ति कुनै अलौकिक शाक्तिको उपहार होइन । अनि यो धनी मुलुकले गरिब मुलुकमाथि दिने सहायता पनि होइन । न त विदेशी सहायताका नाममा आएका पैसाले शान्ति किन्न पाइने हो ।

शान्ति भनेको त संस्कृति हो, शान्ति खोज्न अन्त जानुपर्दैन । शान्ति मानवको मनमस्तिष्कमा हुनुपर्छ । त्यसैले हरेक मानवले मनमस्तिष्कबाट हिंसा हटाइ शान्तिलाई स्थान दिन सकेमात्र समाजमा शान्ति स्थापना हुन्छ । मानव मस्तिष्कमा यो वातावरण निर्माण गर्ने दायित्व राज्यको हुन्छ । मानव अधिकारको सम्मानबाट शान्ति स्थापना हुन्छ र उल्लंघनबाट नै शान्ति खल्बलिन्छ भन्ने मूल मन्त्रलाई राज्यले आत्मसात गर्न सके समाजमा शान्ति स्थापना हुन्छ । समाजमा शान्ति स्थापना हुन सकेमा नै अन्तर्राष्ट्रिय शान्ति दिवसको सार्थकता हुन्छ ।

 

प्रकाशित: ५ आश्विन २०७३ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App