coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बुङमती बस्तीको मौलिक पुनर्निर्माणमा जोड

ललितपुर - भूकम्पले भत्काएको बुङमती बस्तीको पुनर्निर्माण मौलिक शैलीमा गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। शनिबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बस्तीभित्रका घर पुरानै मौलिकता कायम रहने गरी पुनर्निर्माण गनुर्नपर्नेमा जोड दिएका हुन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले बुङमतीजस्ता सम्पदा बस्तीको मौलिक ढंगमा पुनर्निर्माण गर्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको जानकारी दिए। उनले सम्पदा बस्तीभित्रका घर मौलिक शैलीमा पुनर्निर्माण गर्नका लागि प्राधिकरणले थप ५० हजार रुपैयाँ उपलब्ध गराउने बताए । सम्पदा बस्ती पुनर्निर्माणका लागि पूर्वाधार निर्माणमा पनि प्राधिकरणले सहयोग गर्ने उनको भनाइ छ।

अघिल्लो कार्यकालमा प्रधानमन्त्रीलाई बुङमती ल्याएर यसको गुरुयोजना अनावरण गराएको स्मरण गराउँदै सिइओ ज्ञवालीले आफ्नो कार्यकालमा उक्त गुरुयोजनाअनुसार पुनर्निर्माण सम्पन्न गरेर प्रधानमन्त्रीबाटै उद्घाटन गराउने प्रतिबद्धता जनाए। ‘बुङमतीलाई  मौलिकरुपमा पुनर्निर्माण गर्दा यहाँ ठूलो संख्यामा स्वदेशी एवं विदेशी पर्यटक ल्याउन सकिन्छ,’ बुङमती क्षेत्र पुनर्निर्माण तथा विकास परिषद्को प्रथम वार्षिक साधारण सभामा सिइओ ज्ञवालीले भने, ‘यसले ऐतिहासिक बस्तीको पहिचान कायम राख्नका साथै स्थानीयको जीविकोपार्जनमा समेत टेवा पुग्नेछ।’

कार्यक्रममा उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद पम्फा भुसालले बुङमतीलाई समेत समेटेर एउटा सम्पदा पर्यटकीय चक्रपथ बनाउने योजना रहेको बताइन् । उनले बुङमतीको मौलिक पुनर्निर्माणका लागि आफ्नो तर्फबाट सबै खालको पहल गर्ने प्रतिबद्धता जनाइन् । ‘कला, संस्कृति र सम्पदाको संरक्षणबाट नै यस क्षेत्रको समृद्धि सम्भव छ,’ सांसद भुसालले भनिन्, ‘त्यसैले यहाँको मौलिकता जोगाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान पु-याउनु पर्छ।’

प्रदेश ३ का सांसद जीवन खड्काले प्रधानमन्त्रीद्वारा अनावरण गरिएको बुङमती पुनर्निर्माणको गुरुयोजनालाई सफल पार्नुपर्नेमा जोड दिए । यसमा स्थानीयको भूमिका महत्वपूर्ण हुने उनले बताए।

२०७२ माघ २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले युएन ह्याबिट्याटले निर्माण गरेको बुङमती गुरुयोजनाको नक्सा अनावरण गर्दै पुनर्निर्माण महाअभियानको उद्घाटन गरेका थिए । तर, तीन वर्ष बित्न लाग्दासमेत बुङमती बस्तीको पुनर्निर्माण हुन सकेको छैन।

बुङमती क्षेत्र पुनर्निर्माण तथा विकास परिषद्का अध्यक्ष प्रेमभक्त महर्जनका अनुसार बुङमती क्षेत्रमा आठ सय पाँच जनाले निजी आवास निर्माणका लागि अनुदान सम्झौता गरेकोमा पाँच सय ९३ जनाले पहिलो किस्ताको अनुदान लिएका छन् । तर, घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिने लाभग्राहीको संख्या भने निकै कम रहेको उनले बताए। महर्जनका अनुसार भूकम्पप्रभावित लाभग्राहीले नक्सा बनाउन नसक्नु, सम्पदा क्षेत्र भएका कारण पास गर्न कठिनाइ हुनु, भोगचलनको समस्या तथा घरजग्गा दर्ता नहुनुजस्ता समस्या रहेका छन्।

प्रकाशित: २१ आश्विन २०७५ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App