५ वैशाख २०८१ बुधबार
समाज

विद्यालयमा बम आतंक

मंगलबारकाे विस्फाेटले भ्वाङ पारेकाे विद्यालयकाे भित्ता नियाल्दै जाेरपाटीस्थित अाकाशदीप माविका विद्यार्थी। तस्बिर: उपेन्द्र लामिछाने

काठमाडौं–‘हामीले तपार्इंहरुको के बिगारेका छौं र ? यसरी स्कुलमा बम पड्काएर हामीलाई नतर्साउनुस्,’ राजधानीको जोरपाटीस्थित आकाशदीप माविकी १३ वर्षीया छात्रा सुस्मिता गुरुङले भयमिश्रित प्रश्न गरिन् ।
त्यो प्रश्न कसलाई ?

उनैलाई थाहा थिएन, किनकि उनका अगाडि त्यो व्यक्ति थिएन जसले उनी अध्ययनरत विद्यालयमा भर्खैरै बम विस्फोट गराएको थियो ।
थियो त केवल आतंकको छाया र बारुदको गन्ध ।

विद्यालय क्षेत्रलाई अशान्त र भयाक्रान्त बनाउने केहीबेरअघिको घटना सम्झँदै उनले यसो भनिरहँदा त्यहाँ उपस्थित अभिभावक, शिक्षक र उनका साथीहरू भावविह्ल देखिन्थे । आकाशदीप मात्र होइन, मंगलबार एकाबिहानै राजधानीका करिब दर्जन स्कुलमा छाएको आतंकको कालो छायाले सिंगो उपत्यकाभरका विद्यालय अशान्त बन्न पुगे ।

सखारै ३ः४० बजे आकाशदीपमा सिलिन्डर बम विस्फोट गराइएको थियो जसले विद्यालयको पर्खालमा ठूलो भ्वाङ पा¥यो । त्यसको केही मिनेटमै जोरपाटीकै मनकामना स्कुलमा सिलिन्डर बम पड्केको थियो । जोरपाटीकै राई स्कुलमा राखिएको कुकर बम भने सुरक्षाकर्मीले डिस्पोज्ड गर्न भ्याए ।

‘बिहानै साढे तीन बजे स्कुलभित्र एक्कासि ठूलो आवाजले बम पड्किँदा हामी डराएर सबै रुन थाल्यौं,’ आकाशदीपकी आवासीय छात्रा सुस्मिताले सुनाइन् । यो स्कुलमा अधिकांश त्यस्ता आवासीय विद्यार्थी छन् जसका आमाबाबु विदेश छन् । जोरपाटीकै इस्टपोल, माउन्टयुराल, एमबासडर, कान्तिपुर, डल्लुको कञ्चनजंगा र ललितपुर सानेपाको रेडियन्ट रिडर्समा कुकर बम भेटिएका थिए ।
बालसंसार स्कुलमा भने हक्स बम भेटिएको प्रहरीले जनाएको छ ।

विद्यालय क्षेत्रमा विस्फोट र बम रहेको हल्ला फैलिएपछि राजधानीका अधिकांश विद्यालयमा मंगलबार पढाइ र जारी परीक्षामा असर परेको थियो । कतिपय विद्यालयले आधा समय मात्र पढाएर विद्यालय बन्द गरेका थिए । सरकारले पाँच वर्षअघि नै विद्यालय र विद्यार्थीलाई कानुनी रुपमै शान्ति क्षेत्र घोषणा गरिसकेको छ । ठूला सबै राजनीतिक दलले यसमा सहमति जनाएका छन् तर विद्यालयमा शान्ति भंग गर्ने र विद्यार्थीलाई राजनीतिक हतियार बनाउने क्रम भने रोकिएको छैन ।

विद्यालय शान्ति क्षेत्र कानुनी रुपमै उल्लंघन हुँदा पनि सरकार मूकदर्शक रहेकोमा निजी विद्यालय सञ्चालक आक्रोशित छन् ।
निजी विद्यालय सञ्चालक छाता संगठन प्याब्सन, एनप्याब्सन र हिसानले घटनाको विरोध गरेका छन् । सरकारी नीति र नियम लत्याउँदै बारम्बार राजनीति गर्ने निहुँमा विद्यालय र बालबालिकामाथि आपराधिक आक्रमण अब असह्य भएको निजी विद्यालय सञ्चालकले चेतावनी दिएका छन् ।

प्याब्सन अध्यक्ष लक्ष्यबहादुर केसीले केही दिनअघि मात्र यही समूहले ललितपुरको आइडल मोडेल इंग्लिस स्कुलका नानी बोकेको बसलाई डल्लुमा नियन्त्रणमा लिएर आगजनी गरेको अवगत गराउँदै अब प्याब्सन पनि आन्दोलनमा उत्रने चेतावनी दिए । अध्यक्ष केसीले मंगलबार विद्यालयभित्रको बम विस्फोट आतंकका कारण अभिभावक र विद्यार्थी मनोवैज्ञानिक त्रासमा रहेको र फोन गरेर नानीहरुलाई स्कुल नपठाउनेसम्म बताएको सुनाए ।

‘विद्यालयभित्र शान्ति सुरक्षा कायम गर्न शिक्षा मन्त्रालय र गृह मन्त्रालयमा प्याब्सन, एनप्याब्सन र हिसानले दबाब आन्दोलन गर्नेछ,’ अध्यक्ष केसीले चेतावनी दिए, ‘आतंक मच्चाउने समूहले निजी विद्यालयले निःशुल्क पढाउने माग गर्दै पर्चा फालेका रहेछन्, जुन सम्भव छैन ।’
एनप्याब्सन अध्यक्ष कर्णबहादुर शाहीले निजी विद्यालयमा चन्दा असुलीलगायत विभिन्न निहुँमा विभिन्न दल निकट समूहले आतंक मच्चाइरहँदा शिक्षा मन्त्रालय हराएको गुनासो गरे । उच्च मावि संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु आपराधिक काम भएको टिप्पणी गरे ।

प्याब्सन महासचिव डिके ढुंगानाले शान्ति, विकास र समृद्धिको संवाहक मानिएका बालबालिकालाई निर्वाध एवं भयरहित स्थितिमा शिक्षार्जन गर्न पाउने नैसर्गिक अधिकारबाट वञ्चित गराउने यस्ता अमानवीय र आपराधिक क्रियाकलापले समग्र शैक्षिक क्षेत्रलाई आतंकित बनाएको प्रतिक्रिया दिए ।

‘आफ्ना निहीत स्वार्थ पूर्तिका लागि विद्यालयमा गरिएका विस्फोट, आक्रमण, आगजनी, तोडफोडमा संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याइयोस्’, रेडियन्टका प्रिन्सिपलसमेत रहेका महासचिव ढुंगानाले भने ।

‘कसले र किन स्कुलभित्र बम विस्फोट गरायो, कुनै जानकारी छैन,’ मनकामनाका प्रिन्सिपल भवानी पौडेलले भने, ‘कुनै पार्टीको कुनै माग छ भने सरकारसँग छलफल गरी पूरा गराउनुपर्छ ।’ स्कुलभित्र आतंक फैलाउने जोकोहीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
विद्यालय परिसरमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्स समूह लेखिएका विभिन्न मागसहितका पर्चा भेटिएको पौडेलले जानकारी दिए ।

‘बमको आवाज सुनेर म घरबाट दौडँदै ३ः५० मा स्कुल पुग्दा नानीहरु त्रस्त थिए,’ आकाशदीपका प्रिन्सिपल मदन सुवेदीले नागरिकसँग भने, ‘प्रहरीले स्कुल क्षेत्र नियन्त्रणमा लिइसकेको थियो ।’ नानीहरुलाई परामर्श दिएर आधा दिन मात्र कक्षा सञ्चालन गरेको उनले जानकारी दिए ।’
विद्यालयमा भएको बम आतंकको विभिन्न दल र विद्यार्थी संगठनले पनि विरोध गरेका छन् । विप्लव निकट क्रान्तिकारी विद्यार्थी संगठनका महासचिव दीपेन्द्र चलाउनेले आफूहरुले जनआन्दोलनकालमा समेत विद्यालयभित्र आतंक मच्चाउने काम नगरेको र यस्ता कार्य गर्ने जोकोहीमाथि कडा कारबाही माग गरे ।

संगठनले विज्ञप्ति जारी गर्दै विद्यालय कलेजभित्र भएको बम विस्फोटमा आफ्नो संगठनको कुनै संलग्नता नभएको  स्पष्ट पारेको छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले विद्यार्थीलाई मार्ने र आतंक मच्चाउने आन्दोलन विद्यार्थी आन्दोलन कहिल्यै हुन नसक्ने टिप्पणी गरे ।

यसैबीच, शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद  लम्सालले विज्ञप्ति जारी गर्दै आफ्ना माग पूरा गराउने नाममा विद्यालयमा बम विस्फोट गराउने, भौतिक आक्रमण गर्ने, विद्यालयलाई ढालका रुपमा प्रयोग गर्ने, चन्दा माग्ने र विद्यालय तथा बालबालिकालाई निशाना बनाउने कामको भत्र्सना गरेका छन् । सरकारले विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र बनाइसकेको अवस्थामा विद्यालयमा नानीहरु भयरहित वातावरणमा पढ्न पाउने वातावरण तयार गर्नसमेत मन्त्रालयले सबैसँग आग्रह गरेको छ । मानवअधिकार तथा शान्ति समाज, केन्द्रीय बालकल्याण समितिले पनि विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेका छन् ।

 

प्रकाशित: ५ आश्विन २०७३ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App