१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँके सडक दुर्घटना : अरुलाई सिट दिँदा बाँचे टेकबहादुर

कोहलपुर - दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ५९ वर्षीय टेकबहादुर सुनार बिहानै नेपालगन्जका लागि गाडी चढे। स्वास्थ्य चेकजाँच गराउन भन्दै नेपालगन्ज हिँडेका उनी आफू चढेको गाडी दुर्घटना होला भन्ने पक्कै पनि सोचेका थिएनन्।

‘म अगाडिको सिटमा थिएँ, एक महिलाले आफूलाई उल्टी आउने भन्दै अगाडि बस्न दिन भनिन्,’ उनले भने, ‘म आफ्नो सिट छोडेर पछाडि गएर बसेँ।’ उनले सिट छोडिदिएकी महिलाको भने दुर्घटनामा निधन भएको छ।

उनका अनुसार एउटा ट्रक पहिलेदेखि नै बाटोमा पल्टिएको थियो। सोही ट्रकलाई कटाउँदा विपरीत दिशाबाट आएको ट्रकसँग ठोक्किन गएको उनको भनाइ छ। हाइस एकदमै तीव्र गतिमा रहेको उनले बताए।

तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको हाइस र कोहलपुरबाट पूर्व जाँदै गरेको ट्रक ठोक्किँदा हाइसका चालकसहित ६ जनाको मृत्यु भएको छ। बाँकेको राप्ती सोनारी–२, मुगुवा खोला नजिकै बिहान ८:४० मा रा १ ख १६६२ नम्बरको हाइस र लु १ ख ७७२९ नम्बरको ट्रक एकआपसमा ठोक्किएको कोहलपुर प्रहरीले जनाएको छ।

चारजनाको घटनास्थलमा र दुईजनाको कोहलपुर शिक्षण अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ की २७ वर्षीया बसन्ती चौधरी र सोही ठाउँका तुलसी रावत छन् । अन्य मृतकको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार १७ जना घाइते छन्। उनीहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको कोहलपुर प्रहरीले जनाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारीलगायतको टोलीले घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएको छ।

 

प्रकाशित: २० आश्विन २०७५ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App