मकवानपुर गढी उत्खनन् भैसकेको छैन । यसको उत्खनन गरी इतिहास अध्ययन केन्द्रका रुपमा विकास गर्न जरुरी देखिन्छ।
निलो आकाश मुनि हरिया डाँडा । एउटा डाँडाको थाप्लोमा दरबारको भग्नाबशेष । हेटौंडा नजिकैको मकवानपुरगढीलाई पर्खालले घेरिएको छ । त्यसको बीचमा दरबार र गढीका भग्नावशेष छन् । प्रवेशद्वारको भित्र वंश गोपालको मन्दिर छ।
इतिहासका खोतल्ने हो भने एक समय मकवानपुर स्वतन्त्र राज्य थियो । त्यसको राजधानी मकवानपुरगढी । त्यहाँ इसं १२५८ तिरै राजा मुकुन्द सेनले गढी बनाउन लगाएका थिए । पछि मुकुन्द सेन द्वितीयका छोरा लोहाङ सेन मकवानपुरका राजा बने।
गढीलाई राजधानी बनाएर सेन वंशका सात पुस्ताले शासन गरेका थिए । मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन हुन् । उनलाई नेपाल एकीकरण नायक पृथ्वीनारायण शाहले पराजित गरेका । पृथ्वीनारायणको फौजले २१ अगस्ट १७६२ मा गढीमा आक्रमण ग¥यो । आफ्ना सेना धमाधम मारिन थालेपछि राजा दिग्बन्धन आत्तिए । उनी भागेर हरिहरपुर गढीतर्फ लागे । गोर्खाली फौजले अक्टुबर ४ का दिन हरिहरपुर गढी पनि आक्रमण गरी जित्यो।
अब कुरा गरौं, त्यहाँको वंश गोपाल मन्दिरको । मन्दिरभित्र कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । त्यसबारे अनौठो किंवदन्ती छ । भएछ के भने भक्तजनले एक बिहान भगवानको पाउभरी तोरीका फूल टाँसिएको देखे । पुजारी सशंकित भए । उनले चियोचर्चो गरे । भगवान् कृष्ण त्यहाँबाट राति बाहिर जाने र बिहानमात्रै फर्कने गर्दा रहेछन् । त्यसैले भगवान् मन्दिर छाडेर जाँदा अनिष्ट आइपर्ला भनेर उनलाई गाउँलेले बाँधेर राखे!
मन्दिर मुन्तिर गुफा छ । त्यही गुफाबाट कृष्ण ओहोरदोहोर गर्थे । तिनताका चितवनमा तोरी खेती हुन्थ्यो । उनी त्यहाँसम्म पुगेर आउँथे।
हाललाई गढी मुन्तिर सामान्य खाजा पसल छन् । त्यस क्षेत्रमा होमस्टेको प्रचुर संभावना देखिन्छ । गढी मुन्तिर हेटौंडा बजारमा दर्जनौं होटल तथा लज छन्।
मकवानपुर गढी उत्खनन् भैसकेको छैन । यसको उत्खनन गरी इतिहास अध्ययन केन्द्रका रुपमा विकास गर्न जरुरी देखिन्छ । दरबारलाई पुरानै स्वरुपमा पुननिर्माण गरेर त्यहाँ होटल तथा रिसोर्ट बनाए पर्यटनधाम बन्न बेर लाग्दैन।
यात्रा गर्दा बनाउँदा मकवानपुरगढी, हेटौंडा बजार र गुम्बाडाँडा घुम्नेगरी योजना बनाउनु पर्छ । हेटौंडाको बुद्धचोकबाट १७ किमिमा अवस्थित गुम्बाडाँडामा ढुंगैढुंगाको मूर्ति बगैंचा छ । हेटौंडा बजारमा रहेका सहिद स्मारक, कुस्माण्ड सरोवर लगायत सम्पदा घुम्न लायक छन् । दुई दिन छुट्टयाए सबैतिर घुम्न भ्याइन्छ।
घुमफिरबाट फर्कंदा बजारबाट हस्तकलाका साथमा चुच्चेखोलाको खुवा ल्याउन बिर्सनु हुँदैन । बुद्धचोकबाट ७.५ किमि दुरीको चुच्चेखोलामा खुवा घोटिरहेको दृश्य देखिन्छ । चुलोमा दाउरा बालेर कराइमा दुध घोटेर बनाईने खुवा स्वादिलो हुन्छ । त्यहाँ थुप्रै छन् खुवा पसल।
कसरी पुग्ने : काठमाडौंको बल्खुबाट कुलेखानी हुँदै हेटौंडासम्म ८० किमि जीपमा । बल्खुमा जीप पाइन्छ । जीपमा ४ घन्टा । हेटौंडाबाट १७ किमिमा गढी । हेटौंडाबाट हिँडेर जाँदा ४ घन्टा । बसमा ४५ मिनेट।
प्रकाशित: २० आश्विन २०७५ ०६:२९ शनिबार