शब्दमै रमाएको जीवन

शनिबार, २० असोज २०७५, ११ : ५१ पुष्पराज जोशी

तिमी सित भेट हुँदा मन हुन्छ कस्तो कस्तो
दुइटा खोला उर्लिएर दोभानमा मिले जस्तो ...

यो आधुनिक गीत कसैको मोबाइल या एफएम रेडियोमा बज्दा कवि कृष्ण पनेरू ‘वञ्चित’ मख्ख पर्छन् । समाजले के दियो भन्दा पनि समाजलाई शब्द दिएँ भन्दै गर्व गर्छन् । कैलालीको अत्तरिया निवासी कवि पनेरु सुदूरको साहित्यिक क्षेत्रमा परिचित नाम हो । उमेरले सात दशक पार गरिसके पनि उनको मन अझै युवा अवस्थाझैं फुरुङ्ग छ।

माथि लेखिएको आधुनिक गीतको हरफ कवि पनेरुद्वारा सिर्जित हो । ‘वेदना’ एल्बममा राखिएको आधुनिक गीत नेपाली संगीत क्षेत्रका चर्चित गायक रामकृष्ण ढकालको स्वरमा सजिएको छ । उक्त एल्बम कवि पनेरुद्वारा २०६५ सालमा बजारमा ल्याइएको हो । उनले तमामौ गीत र गजल बजारमा ल्याइसकेका छन्।

‘गीत र गजलसहितका गीति एल्बम बजारमा आइसकेको छ,’ उनले भने, ‘यसका साथै विसौनी गीति सङ्ग्रह कृति समेत २०६० सालमा प्रकाशित गरिसकेको छु ।’ आफूले गीत, गजका साथै नाटकीय विधामा समेत कलम चलाएको उनी बताउँछन् । उनले दीप, समस्या, चङ्खे साहू र सोझो आसामी, स्पष्टीकरण नाटक मञ्चन गरिसकेका छन्।

कवि पनेरु सुदूरको साहित्यिक क्षेत्रमा परिचित नाम भएको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी बताउँछन् । उनले भने, ‘उनी (कृष्ण) कवि मात्र नभएर बहुप्रतिभावान व्यक्ति हुन् ।’ गीत, गजल र पद्य विधाका कवितका साथै नाटकमा पनि उत्तिकै दखल राख्ने साहित्यकारका रूपमा पनेरु परिचित भएको उनले बताए । ‘साहित्यकार पनेरुका साहित्यमा सामाजिक विकृति, विसंगति प्रति तिखो व्यङ्ग्य प्रहार गरिएको हुन्छ,’ अध्यक्ष जोशीले भने।

तिमी हाँसे पूर्णिमाको जून उदाउँछ
तिमी रोए साउनको झरी सुसाउँछ...

जगदिश समालको स्वरमा सजिएको आधुनिक गीत पनि उनैद्वारा रचित हो । उनले गीतका साथै गजलमा पनि उत्तिकै सफलता पाएका छन् । साहित्यकार पनेरुद्वारा रचित गीतिगजल पनि श्रोतामाझ उत्तिकै चर्चित छ ।

बग्दै जाँदा सुक्दै जाने खोला रै’छ जिन्दगी यो
ठाउँठाउँमा च्यातिएको चोला रै’छ जिन्दगी यो
भित्र भित्रै रित्तो खाली, तर सधैँ अस्तव्यस्त    
मगन्तेको मागी खाने, झोला रै’छ जिन्दगी यो...

रूपक डोटेलको स्वरमा सजिएको गजल ‘वेदना’ एल्बममा राखिएको छ । आफ्नै जिन्दगी वरपर घुमेर लेखिएका उनका गीति गजलहरूले बजार लिइसकेको छ । कहिलेकाहीँ एफएम र बजारमा हिँड्दै गर्दा मोबाइलमा आफ्ना गजल र गीतहरू बज्दा आनन्द महसुस हुने गरेको बताउँदै कवि पनेरु भन्छन्, ‘के पाएँभन्दा पनि समाजमा सबैलाई मनोरञ्जन गर्न शब्द दिएछु जस्तो लाग्छ।’

लेखौं भनेर साहित्य लेख्न नसकिने विधा भएको बताउँदै उनले भने, ‘कहिलेकाहीँ राति उठेर मनमा उब्जेका भावनाहरू लेख्ने गर्थे । आज तिनै भावनाहरू गीति एल्बमका माध्यममा बजारमा गइसकेका छन् ।’ आफ्ना जीवनका ४० वसन्त शिक्षण पेशामै बिताएका उनले जीवनको उत्तराद्र्धमा भने साहित्य र समाज सेवालाई अँगालेका छन्।

शिक्षण पेशाबाट निवृत्त भएपछि भने उनको दिनभरको समय सामाजिक सेवामै बित्ने गरको छ । अत्तरियास्थित प्रतिभा पुस्तकालयका संस्थापक समेत रहेका कवि पनेरुले पछिल्लो समयमा अध्ययन केन्द्रमा सहजताका लागि भन्दै चन्दा संकलन गरेर भव्य भवन निर्माण गरिसकेका छन् । भवन निर्माणपश्चात् पाठकलाई पत्रपत्रिकाका साथै पुस्तक अध्ययनका लागि सहज भएको उनी बताउँछन्।

शिक्षण पेशामा रहेका बेला पनेरु छन्दबादी कविका रूपमा चिनिएको बताउँदै  चर्चित डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ले भने, ‘पछिल्लो समयमा युवाहरूलाई हौस्याउन उनले गजल विधामा पनि उत्तिकै वाहवाही पाइरहेका छन् ।’ वृद्धावस्थामा पनि पनेरु गजल विधाका माध्यमबाट मन तन्नेरी बनाउन सक्ने अब्बल साहित्यकार मानिएको उनले बताए । उनले भने, ‘साहित्यिक कार्यक्रममा पनि उहाँ युवालक्षित गजल प्रस्तुत गर्नुहुन्छ, जसले युवामाझ पनेरू उत्तिकै लोकप्रिय हुनुहुन्छ।’

आफूले शिक्षण पेशामा पनि निकै समय खर्चेको बताउँदै उनले भने, ‘जीवनको आधा बढी समय मैले शिक्षण पेशामै खर्चिएँ ।’ शिक्षण पेशामा पनि शब्द लेखाउँदा विद्यार्थीलाई साक्षर बनाएको र शिक्षण अघिपछिको समय पनि शब्द खेलाउँदै सुन्दर रचना बनाउने गरेको उनी बताउँछन् । ‘विद्यार्थीलाई पनि शब्द लेखाउँदै सुन्दर वाक्य बनाउन प्रेरणा दिन्थे,’ उनले भने, ‘अघिपछिको समय पनि शब्द खेलाउँदै सुन्दर रचना फूलाउनमै समय खर्चिइयो।’

डडेल्धुरामा जन्मे हुर्केका उनले सुरुमा घरमै स्वअध्ययन गरे । २१ वर्षको उमेरमा पढ्न भनेर भारत छिरेका उनी ऋषिकेसमा कक्षा ७ मा भर्ना भए । भारतमै आइएसम्मको अध्ययन सकेपछि उनी महेन्द्रनगरस्थित वन डिभिजनमा सरकारी जागिरे भए । घरमा बुबाआमाको हेरचाह गर्नुपर्ने भएकाले उनले वनको जागिर छाडेर डडेलधुरा पुगे । उनले त्यहाँ चार वर्ष विद्यालयमा अध्यापन गराए । त्यहाँ पनि स्थायी जागिरे भएकाले उनले प्रअको खटनपटनमा विवाद हुँदा जागिरै छोडे । वि.सं. २०३० सालमा दिदी भिनाजूलाई भेट्न कैलालीको अत्तरिया पुगेका उनी अत्तरियालाई कर्मथलो बनाउँदै आएका छन् । ‘दिदी भिनाजूलाई भेट्न त्योबेला अत्तरिया आएँ, यहीँ भर्खरै विद्यालय खुल्यो र मलाई नै संस्थापक प्रधानाध्यापक बनाएर स्थानीयले पढाउन भने,’ उनले भने, ‘अत्तरियाका स्थानीयको माया, सद्भाव र प्रेमले यहीँ कर्मथलो बनाएँ ।’ २०३० सालदेखि उनी निरन्तर अत्तरियामै छन् । ‘अत्तरियामै निरन्तर पढाइरहेँ, यहीँ शब्दहरु सिर्जित गरेँ र यहीँबाट साहित्यिक र सामाजिक क्षेत्रमा अभिप्रेरित भएँ,’ उनले भने, ‘अहिलेसम्म जे जति पढाएर चिनिएँ, त्यो भन्दा बढी साहित्य र सामाजिक क्षेत्रमा काम गरेर चिनिएँ।’

आफूले जीवनकालमा अध्यापनसँगै साहित्यिक क्षेत्रमा खर्चेको समयभन्दा बढी महत्व दिन्छन् पनेरु सामुदायिक पुस्तकालयलाई पनि । २०५६ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा साहित्यकार वामनप्रसाद न्यौपानेले  सबै तह र परिस्थितिका मानिसलाई शिक्षाप्रति सचेत गराउन विद्यालयले मात्र पर्याप्त नहुने हुँदा एउटा सार्वजनिक पुस्तकालयको खाँचो पर्ने भएकाले स्थानीयले पुस्तकालयको पहल गरे आफूले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । सोही घोषणासँगै शिक्षक कृष्ण पनेरु ‘वञ्चित’ को संयोजकत्वमा विनोदकुमार भट्टराई, कुमारप्रसाद निरौला, दीर्घराज भट्ट, रामचन्द्र विनाडी, डम्बरबहादुर पाल सदस्य र गोपालप्रसाद घिमिरे सदस्य सचिव रहेको ७ सदस्यीय तदर्थ समिति गठन गरियो । अर्को वर्ष २०५७ असोज ३० गते जिल्ला प्रशासन कार्यालय कैलालीमा पुस्तकालय दर्ता गरियो । २०५७ मा स्थापित प्रतिभा पुस्तकालयको तीन वर्षे दुई कार्यकालसम्म अर्थात् वि.सं. २०६४ सम्म  पनेरुले कार्यसमितिको अध्यक्षमा  रही काम गरे । पुनः २०६८ वैैशाखदेखि पनेरुकै नेतृत्वमा कार्यसमिति चयन भयो । सोही वर्ष अध्यक्ष पनेरुले नै  पुस्तकालय भवनको शिलान्यास गरे । उनले यहाँका स्थानीय व्यापारी, समाजसेवी, शिक्षक, बुद्धिजीवी, विद्यार्थी, चन्दादाता तथा आम पुस्तकालयप्रेमीबाट सहयोग लिई तीन वर्षको कार्यकालमा दुई तले पक्की भवन बनाउन  सफल भए । त्यसपछि २०७१ मा सम्पन्न साधारण सभाले उनलाई पुनः सर्वसम्मत अध्यक्षमा चयन ग¥यो । यसरी चारपटक सो संस्थाको अध्यक्ष रहँदा संस्थालाई आफ्नै दुई तले व्यवस्थित भवनमा स्थापित गरी उनले स्वेच्छाले २०७५ वैशाखमा सम्पन्न साधारण सभाबाट नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरे । ‘मलाई अहिले पनि पुस्तकालयको अध्यक्षका लागि सबैले दबाब दिए,’ उनले भने, ‘उमेर पनि ढल्कँदै गएको र पहिलेको जति खटिन र समय दिन नसक्ने भएकाले अरुलाई हस्तान्तरण गरेँ।’

सम्मान र पुरस्कार
सामाजिक, शैक्षिक तथा साहित्यिक क्षेत्रमा काम गरेबापत तमामौ सम्मान तथा पुरस्कार प्रदान गरिएका छन् । २०४४ सालमा कैलाली जनपुस्तकालयद्वारा आयोजित कवि गोष्ठीमा प्रथम पुरस्कार, २०४४ सालमा धनगढी जेसिसद्वारा कवि गोष्ठीमा प्रथम पुरस्कार, २०५४ सालमा जिल्ला शिक्षा समिति कैलालीद्वारा कदर पत्र एवं पुरस्कृत, २०६२ सालमा दुर्गालक्ष्मी उमाविद्वारा कदर पत्र, आदिकवि भानुभक्त आचार्य द्विसतवार्षिकी सम्मान पत्र २०७१, नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयद्वारा भानुभक्त पुरस्कार लगायत दुई दर्जन बढी संघसंस्थाले साहित्यिक सम्मान तथा पुरस्कार प्रदान गरेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad