७ वैशाख २०८१ शुक्रबार
अन्य

घरको मुली राम्रो भयो भने परिवार राम्रो हुन्छ

नेपाल प्रहरीको सेवामा करिब ३१ वर्ष बिताएका पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलका महत्वपूर्ण राजनीतिक तथा प्रहरी संगठनभित्रका उथलपुथल पूर्ण घटनाक्रमबारे प्रकाशित आत्मकथा पुस्तक आज शनिबार सार्वजनिक हुँदैछ । यसै विषयमा केन्द्रित रहेर नागरिककर्मी टपेन्द्र कार्कीले गरेका कुराकानीको केही अंशहरू यहाँ प्रस्तुत गरिएको छ।  

पुस्तक धेरै वर्षअघि लेखिसक्नुभएको थियो, तर अहिले प्रकाशन गर्नुभयो अहिलेकै समय छान्नुपर्ने कारणचाहिँ के हो?
हो, मैले केही वर्षअघि नै त्यसको प्रारम्भिक ड्राफ्ट (टिपोट) तयार पारेको थिएँ, अन्तिम रूप दिन बाँकी थियो । प्रकासन संस्था नेपालयलाई दिएको पनि तीन वर्ष भयो । मैले प्रकाशन संस्थालाई दिएपछि किन ढिला भयो त्यो उनीहरूले नै जवाफ दिन्छन् । हरेक कुराको समय आउँछ यतिबेलै गर्छु भनेर हुँदो रहेनछ । पहिले सामान्य लेखेको थिएँ । तर, सोच्दा किन लेख्नु भन्ने पनि लाग्यो । पात्र पनि सान्दर्भिक भएनन्, लेखेको विषयलाई बुझ्ने मानिस पनि आएनन् । मैले टिपोट गरेका विषयलाई प्रकाशन गर्नुपर्छ भन्ने लागेर छोरालाई पनि भनेको थिएँ । पुस्तक लेखनपछि मेरो जीवनमा विभिन्न घटनाहरू घटे । मेरो श्रीमतीलाई क्यान्सर भयो, मुद्दा मामिला भयो । यस्ता विभिन्न कारणहरू पनि रहे।  

पुस्तक लेख्दा पाठकलाई कतिको न्याय गर्नुभएको छ?
यो पाठकले मूल्यांकन गर्ने कुरा हो । मैले त सकेसम्म न्याय गरेको छु । मैले न्याय गरेको छ कि छैन सत्य छ कि छैन भन्ने कुरा सार्वजनिक भएपछि पाठकले महसुस गर्छन् । म ३० वर्षदेखि हरेक दिन बिहान पशुपतिनाथ जान्छु । धर्ममा विश्वास गर्छु । मैले लेखेका कुरा पशुपतिनाथको बाहिर राखिएको चन्दनजतिकै सत्य छ । म जति त्यसमा सत्यता देख्छु लेखेको कुरा पनि सत्य छन्।

२०५७ साउन २२ गते गायक प्रवीण गुरुङको हत्या भयो त्यो घटनालाई तपाईँले जोगाउनुभयो भन्ने आरोप छ, त्यसलाई कुन रूपमा प्रस्तुत गर्नुभएको छ?
तपाईँले प्रवीण गुरुङको हत्या भन्नुभयो, त्यसलाई म सच्याउँछु, त्यो हत्या होइन दुघर्टना हो । त्यसलाई भवितव्य दुर्घटना भनिन्छ । त्यसलाई ढाकछोप गर्न खोजिएको होइन । त्यसभन्दा अघिको पाटोमा जाने हो भने पुस्तक पढ्दा छर्लङग हुन्छ । मेरो कार्यकालमा त्यो मुद्दा अदालतमा बुझाइनँ । सामान्य मानिसले दुर्घटना गरेको भए त्यो घटना पनि सामान्य नै भएर जान्थ्यो । कुन पात्रले दुर्घटना गरायो भन्नेले पनि महत्व राख्छ । दुर्घटना नै हो । पारसले गरेजस्तो दुर्घटना त्यही अवस्थामा कतिले गराए होलान् । उनको दुर्घटनाले ज्यदा चर्चित भयो । अर्को कुरा मानवीय स्वाभाव जस्को पनि हुन्छ मानवीय स्वाभावमा राजा र रंकमा केही फरक हुँदैन । मैले मेरो छोराले दुर्घटना गरायो भने पनि बचाउन खोज्छु । तर, कति न्याय गरेर बचाउन खोज्छु त्यो अलग कुरा भयो । त्यसैले उहाँको तर्फबाट गरेको कुरा बेठिक थिएन मेरो तर्फबाट गरेको पनि सही थियो।

तपाईँको कार्यकालमा दरवारले नेताहरूको फोन ट्याप गरेर राखेको र पछि प्रहरीले छापा मारेर त्यसलाई जफत गरेको थियो । प्रहरीले जफत गरेको सामान सेनाले प्रहरी हेडक्वार्टरबाटै लग्यो भनिन्छ नि?
हो, आइजिपी भएकै बेला भएको घटना हो । त्यसको को को नेताहरूको फोन टयापिङ भएको थियो । सामान फिर्ता लगेको कुरा गलत हो । त्यहाँ प्रयोग भएका मानिस सबै सेनाका थिएनन्।

तपाईँको पुस्तकमा समेटिएको विषय हेर्दा र तपाईँ आइजिपी हुने बेलामा मागिएको २० लाखको सन्दर्भ जोड्ने हो भने आइजिपी हुनका लागि पैसा र शक्ति दुवै आवश्यक देखियो कि?
प्रहरीको इतिहास हेर्ने हो भने एक कालखण्डसम्म एउटै सिस्टममा बढुवा हुने गरेको छ, जतिखेर म आइजिपी हुने बेला पनि एक नम्बरै एआइजी थिए, स्वाभाविक प्रक्रियाले भएको छ । प्रहरीभित्र डिएसपी, एसपीदेखि नै यी व्यक्तिचाहिँ संगठनभित्र यो लेभलसम्म पुग्छन् भन्ने थाहा हुन्छ । पब्लिकले पनि त्यसलाई मूल्यांकन गर्छन् । मोतीलाल बोहोरा मभन्दा वरिष्ठ हुन त्यसपछि म भएँ । मपछि  धु्रवबहादुर प्रधान नै हुने हो । तर, प्रक्रिया ठीक भयो कि भएन त्योचाहिँ सबैभन्दा महत्वपूर्ण हो । त्यतिबेला जे भयो प्रहरी इतिहासमा कहिल्यै नभएको घटना हो ।
जहाँसम्म तपाईँले उठाएको विषय छ कस्ले माग्यो कस्तो पात्र छ, त्यसमा भर पर्छ । के–के कुरा भए कसरी भयो, मैले त्यो कुरा स्वीकार गरें कि गरिनँ ? मैले त्यो विषयलाई कुन रूपमा लिएँ । निर्णय लिने बेलामा अर्को कोही मानिस साक्षी पनि राखेको छु । त्यस सन्दर्भमा कोही कसैले के सोच्नु भो पनि भनेको छ । शक्ति र पैसाको खेल अहिले कहाँ प्रयोग भएको छैन ? त्यसकारण यसको जवाफ तपार्इँसँगै छ । किताब पढ्नेलाई मजा आउँछ ।

तपार्इँको विचारमा प्रधामन्त्री, गृहमन्त्रीको प्रहरी संगठनमा रहेका पात्रसँग र संगठनसँग के स्वार्थ रहेको हुन्छ?
अहिले तपार्इँ आफै देख्नसक्नु हुन्छ कि जुनसकै संगठनमा स्वार्थ देखिन्छ।

कुनै पनि संगठनहरू व्यावसायिक हुनपर्छ । त्यसको नेतृत्व गर्ने व्यक्ति पनि पेशागत मर्यादामा रहेर बस्नुपर्छ । देशका सम्पूर्ण अंगहरूलाई सरकारले आफ्ना हात–खुट्टा हुन् हाम्रो शक्ति हुन भन्ने मानसिकता बनाउनुपर्छ । यी हात–खुट्टालाई सक्षम बनाउन सकियो भने त्यसले गरेको कामको जस र अपजसमा मेरो भविष्य ठीक छ भन्ने देख्नुपर्छ त्यति भए ती संगठन दुरुपयोग हुँदैनन् । पछिल्ला दिनमा व्यावसायिक दक्षता भएका भन्दा वा राम्रा मान्छेभन्दा हाम्रालाई प्राथमिकता दिइयो । व्यावसायिक दक्षता र क्षमताभित्र रहेर काम गर्ने व्यक्तिहरू स्वार्थ केन्द्रित भए, स्वार्थमा लागि संगठनलाई समेत दुरुपयोग गर्न थाले।

राजनीतिक नेतृत्वको विभिन्न स्वार्थ हुन्छ । आफूलाई पर्दा काम गरिदेला आफ्ना मान्छेलाई सहयोग गर्ला वा आर्थिक रूपमा पनि सहयोग गर्ला यस्ता धेरै स्वार्थहरू हुन्छन् । तेरो मेरो भन्नेबित्तिकै त्यसको निश्चय पनि स्वार्थ हुन्छ।

हिजोभन्दा आज कमजोर भयो भन्ने प्रश्न पनि उठेको छ नि?
हिजो र आजको पद उही हो कानुन र अधिकारका हिसावले झन् बलियो होला । तर, पनि बलियो किन भएन यो प्रश्न बेला बखत उठ्ने गरेकै छ । यसमा तपाईँलाई कथा भन्छु एक आमाले आफ्नो बच्चा ज्यादै चिनी खाने भएछ । जे औषधि गरे पनि छुटाउन सकिनन् । त्यसपछि उनले एक दिनको बाटो पार गरेर एक जना बाबाजीको बच्चा लिएर गइन । बाबाजीकहाँ पुगपछि आफ्नो छोराको सबै पीडा बताइन् र मेरो उद्धार गर्नुस् भनिन् । बाबाजीले उनलाई सात दिनपछि आउन भने । उनी सात दिनपछि पुनः त्यही समस्या लिएर गइन् । बाबाले बच्चालाई गुलियोले स्वास्थ्यलाई हानी गर्छ नखाउ भने । त्यसपछि बाबा केही पनि बोलेनन् । ती महिलालाई रिस उठ्यो र उनले आवेगमा आएर भनिन् यति कुरा भन्नुथियो भने अस्ति नै भनेको भए आउने नै थिइन नि किन अहिले भन्नुभयो। बाबाले जवाफ दिए, अस्तिसम्म म आफै चिनी खान्थे तिमीले यो बच्चा लिएर आएपछि मैले चिनी खान छोडिदिए, त्यसपछि मैले यो भन्नु साहस गरे । मैले भन्न खोजेको के हो भने पहिला आफू सही अवस्थामा रहेर अरुलाई उपदेश दिनुपर्छ । आफूले आत्मसाथ गरिसकेको कुरा अरुलाई भन्दा त्यसमा शक्ति हुन्छ । अन्यथा अहिले जस्तो हिंसाबाट सरकारमा आउने हिंसा गर्नहुन्न भन्ने । बिहानदेखि पत्रपत्रिका हेर्यो भ्रष्टाचार गर्नेहरूले नै भ्रष्टाचार रोक्छु भनेका हुन्छन् । आदेश दिनेहरू नै मर्यादामा छैनन् भने उनीहरूको आदेश कसरी कार्यान्वयन हुन्छ । मैले बुझेको कुरा यही हो।

प्रहरीले गृहमन्त्रीलाई भ्रष्ट हुन प्रेरित गरेको हो कि गृहमन्त्रीले प्रहरीलाई भ्रष्ट हुन प्रेरित गरेको हो?
प्रहरी मात्रै नभन्नुस् सबै संयन्त्रमा अहिले मुल शुद्ध भएको पाइँदैन । घरको मुली राम्रो भयो भने परिवार राम्रो हुन्छ, मैले बुझेको यति हो । जसको शक्ति धेरै छ, त्यसले विकृति बढाउँदै लग्यो । विकृत तलबाट माथि जाँदैन माथिबाट तल आउँछ।

नेपाल प्रहरीमा तपाईँ उदाहरण मान्नेहरू धेरै छन् । प्रहरीभित्र तपाईँकै कार्यकालबाट हिरोइज्मको महत्वकांक्षा भित्रियो भनिन्छ यसलाई तपाई के भन्नुहुन्छ?
हिरोइज्म मेरो पालाबाट आएको होइन । मानिसको जीवनमा दुईवटा कुरालाई कसैले पनि रोक्न सक्दैन त्यो सुगन्ध र दुर्गन्ध । राम्रो गरेको कामको वासना जता पनि फैलिन्छ कसैले रोकेर रोक्न सकिँदैन । राम्रो काम गरेर बसेका अफिसर्सहरूलाई तपार्इँहरूले पनि स्वीकार गरिसकेको अवस्था छ । पब्लिकमा उसले गरेको कामको आधारमा यसो भनिएको हो । दुर्गन्धको विषय पनि जति छोपे पनि छोपिँदैन।

माओवादीले डोल्पाको दुनैमा हमला गरेपछि तपाईँले राजिनामा दिनुभयो । तपाईँ र सरकारको कुरा नमिलेकै कारणले राजिनामा दिएको भनेर बुझ्दा हुन्छ कि अन्य कुनै कारण छ?
तपाईँले यो वियष उठाउनुभयो । मैले आत्म वृत्तान्त लेखेकै यही कारण हो । मानिसलाई मूल कुरा थाहा हुन्छ । तर, किन छोडे भन्ने कुरा थाहा हुन्न । त्यसकारण मैले यो पुस्तक बाहिर ल्याउनुपरेको हो । सत्य र तथ्य आम मानिसमा आओस् यो घटनाको विषयले तोडमोड हुन नपाओस् सबैले जानकारी लिनुपर्छ यसको सत्यतथ्य बाहिर ल्याउनु नै उद्देश्य यही हो । त्यो बेलाको प्रमुख घटनाहरू उजागार हुनपर्छ । समग्रमा पुस्तकभित्र १७ पानाको दुनै काण्ड मात्रै छ ।

तपाईँले बारम्बार एउटा कुरा भन्नुहुन्थ्यो, संगठन चलाउने संगठनबाटै प्रमुख हुनुपर्छ त्यसलाई अन्तबाट चलाउने गर्नुहुन्न । त्यो जमानामा नवनियुक्त महानिरीक्षकलाई महानिरीक्षकले नै फूली लगाइदिने प्रचलन थियो अहिले गृहमा सर्यो, फूलीसँग अधिकार पनि सर्यो कि अधिकार बाँकी छ?
अधिकार भन्नाले सबै होइन । तर, त्यसले अरु कुरालाई प्रभाव पारेको छ । हरेक कुराको एउटा सिस्टम हुन्छ । फौजको आफ्नै परम्परा, मूल्य र मान्यता हुन्छ । कतिपय मानिसहरूले रिस गर्छन् ।  हिजो आइजिपीकहाँ गार्ड राख्दा किन राखेको भनेर प्रश्न उठाए । मेरो घरमा तीन बम पड्कियो यसको घरमा बम किन पड्कियो कसैले भने । म द्वन्द्वको समयमा तत्कालीन ७५ जिल्ला जाँदा कतिखेर बन्दुक हान्छन् भनेर कसैले सोच्यो ? त्यसैले कसले के पायो होइन किन पायो भन्ने कुरालाई सोच्नुपर्छ । त्यसकारण फूली लगाउने पनि हरेकको आफ्नै कल्चर हुन्छ । धर्म संस्कृति जस्तै हो । त्यसमा एक प्रकारको शक्ति छ । त्यसैगरी फौजभित्रको प्रमुख व्यक्तिले त्यसलाई जोगाउनुपर्छ । मैले राजिनामा दिएपछि सरकारले अर्को आइजिपी नियुक्त गर्यो मैले गएर फूली लगाएको छु हरेक संगठन प्रमुखले आफ्नो संगठनको कल्चरलाई जोगाउनुपर्छ।

प्रकाशित: २० आश्विन २०७५ ०५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App