७ वैशाख २०८१ शुक्रबार
अन्य

हरियो जमरा

‘बुबा, सबैका पहेँलो जमरा, हाम्रोमात्रै किन हरियो जमरा?’

सात वर्षे छोरा गोपालको प्रश्नले धनबहादुरको मुटुमा तीर पसेजस्तो भयो । पिँढीमा बसिरहेको धनबहादुरले यसो आँखा घुमाएर चारैतिर हे-यो । दशैंको टीका लाउन गोरेटाहरूमा हिँड्दै गरेका मानिसका कपालमा पहेँलै जमरा थिए । सुबेदारबाको आँगनमा खेल्दै गरेका केटाकेटीको कपालमा पनि पहेँलै जमरा थिए । अनि उसले आफ्नै छोराको टाउकोमा हे-यो र हरियो जमरा देख्यो । उसलाई नरमाइलो लाग्यो।

छोराको प्रश्नको उत्तर कसरी दिने ? धनबहादुर अलमलमा प-यो । उसको छोराले एकोहोरो उसको मुख ताकिरह्यो । बाबु टोलाउन थालेको देखेर ऊ आफ्नो प्रश्नको उत्तर नपर्खीकन खेल्न हिँड्यो । धनबहादुर भने टोलाउन छोडेन । छोराको प्रश्नले अझै पनि धनबहादुर भित्रभित्रै रन्थनिरह्यो । कसरी दिने छोराको प्रश्नको जबाफ?

जमरा पहेँलै हुनुपर्ने हो, तर उसकै जमरामात्रै हरियो भयो । त्यसमा उसको के दोष ? दोष त निर्दयी भूकम्पको थियो, जसले धनबहादुरको सानो घरलाई पाताल बनाइदियो । धनबहादुरलाई बेघर बनाइदियो र बेसहारा बनाइ दियो । अनि जमरा राख्ने एउटा गतिलो ठाउँ पनि भएन । त्यसैले पहेँलो हुनुपर्ने जमरा हरियो भयो।

धनबहादुर विगतमा फक्र्यो।

बिहानको खाना खाएर धनबहादुर बारी खन्दै थियो । दुई हात जति मात्रै बारी खन्न भ्याएको थियो । जमिन थररर काम्न थाल्यो । उसलाई रिंगटा लागेजस्तो भयो । उसको घर बीरेझाँक्री हल्लिएजस्तै हल्लिन थाल्यो । हल्लिँदाहल्लिँदै घरको छाना खस्यो, भित्तो लड्यो । अनि पूरै घर पाताल बन्यो । हेर्दाहेर्दै आफ्नो सग्लो घर पाताल भएको देखेर धनबहादुर भूकम्पले जमिन कामेभन्दा जोडले काम्न थाल्यो । उसका खुट्टा लुला हुँदै गए । आँखा धमिला हुँदै गए । पृथ्वी नै फननन घुम्न थाल्यो । त्यसपछि धनबहादुर बेहोश भएर बारीमै ढल्यो।

केही बेरपछि धनबहादुरको होश खुल्यो । ऊ भएभरको बल निकालेर आफ्नो पाताल भइसकेको घरतिर दौडियो । घरधन्दा गर्दै गरेकी उसकी जहान घरभित्रै पुरिएकी थिई । ऊ डरले आँत्तिएर चिच्यायो, ‘गुहारगुहार, मेरी बूढी घरभित्र पुरिई... ।’

धनबहादुरको मात्रै होइन, भूकम्पका कारण धनबहादुरका जस्ता घर अरूका पनि भत्किएका थिए । अरू पनि विलौना गर्दै थिए । तर अरूका घरभित्र मान्छे पुरिएका थिएनन् । धनबहादुरले गुहार मागेको सुनेर दुई तीन जना बलिया केटाहरू दौडेर आए । हतारहतार ढुंगामाटो पन्छाएर धनबहादुरकी जहानलाई बाहिर निकाले । तर त्यतिबेला सम्ममा धनबहादुरकी बूढीको प्राण उडिसकेको थियो । धनबहादुर रोयो, चिच्यायो । तर उसकी जहानको प्राण फर्केर आएन।

स्कुल गएको चार वर्षे छोरो गोपाल हातमा किताब च्यापेर अरू केटाकेटीसँगै हस्याङफस्याङ गदै आयो । आँगनमै आमाको लाश लडेको देखेर ऊ अवाक भयो । एक छिन्सम्म त उसलाई रुन पनि आएन । आमालाई के भएको हो उसले बुझ्नै सकेन । जब उसको बाबुले उसलाई अँगालो हालेर ‘तेरी आमा मरी’ भनेर रुन थाल्यो, त्यसपछि मात्रै उसले आमा मरेको थाहा पायो । त्यसपछि ऊ पनि ‘आमा...आमा...’ भन्दै रुन थाल्यो।

धनबहादुरलाई सान्त्वना दिन छरछिमेकीहरू भेला भए । बाबु र छोरा एकसाथ विलौना गर्दै रोएको सहन नसकेर सान्त्वना दिन आएका छिमेकीहरू आफैं रुन थाले । आँसुले आँसु नै बढायो।

भूकम्पले घर भत्काएको तीन वर्ष भयो । उसको चार वर्षको छोरो गोपाल सात वर्षको भयो । धनबहादुरका बाबुछोराले टहरामै जिन्दगी गुजार्न थालेको पनि तीन वर्षै भयो । घर बनाउन आफूसित पैसा छैन । सरकारले दिएको राहतले खानै पुगेन । घर बनाउन अनुदान दिन्छु भनेको थियो सरकारले । तर अनुदानको पहिलो किस्ता पनि धनबहादुरको हातमा परेको छैन । कुनै राजनीतिक दलको सदस्य नबनेको धनबहादुरको नाम भूकम्पपीडितको सूचीमै परेन । अरू सबैले सरकारीे अनुदानको पहिलो, दोस्रो र तेस्रो किस्ता पनि पाए । तर धनबहादुरले पाएन । उसले धेरै पटक गाउँपालिकामा धायो । तर हरेक पटक त्यहाँको कर्मचारीले उसलाई सिफारिश लिएर आउनू भनेर फर्कायो । तर गाउँको सबैभन्दा गरिब धनबहादुरलाई कसैले भूकम्पपीडित हो भनेर सिफारिस गरिदिएन । कुनै राजनीतिक दलले पनि सिफारिश दिएन । तिमीले चुनावमा हाम्लाई भोट दिएका थियौ र ? सबैले यस्तै भने । दुखका बेला पनि भोटको कुरा गर्ने राजनीतिक दल देखेर धनबहादुर निराश भयो । उसले कसैसित सिफारिश माग्नै छोडिदियो । तैपनि उसले आश गर्न छोडेन । कोही न कोही त कसो नआउला गरिबलाई हेर्ने मान्छे । धनबहादुरले यस्तै आशा गरिरह्यो । तर उसको आशा पु-याउने मान्छे कोही उसकहाँ आएन । कहिल्यै आएन।

बरु पोहोर र परारझैं यसपालि पनि दशैं नजिक आयो । एक दिन दुई दिन गर्दै अरूका घरमा झैं धनबहादुरको टहरासम्म पनि आयो दशैं । धनीले मात्रै होइन गरिबले पनि मनाउने चाड हो दशैं । धनीले धुमधामले मनाए पनि गरिबले गच्छेअनुसारले मनाउँछन् दशैं । कानमा पहेँलो जमरा सिउरेर एक झट्का पिङ मच्चाउन पाए दशैं मनाएजस्तो हुन्छ गरिबलाई।

धनबहादुरसँग धन छैन, तर मन छ । त्यसैले उसले पनि गच्छेअनुसार नै दशैं मनाउने सोचेको छ । धनबहादुर आफैंलाई जे लाए पनि हुन्छ, जे खाए पनि हुन्छ । छोरालाई एक जोर नयाँ लुगा हालिदिए र एक किलो मासु ल्याइदिए छोरा रमाइहाल्छ । अनि त दशैं पनि रमाइलो भइहाल्छ । यस्तै सोचेर धनबहादुरले दशैंका लागि जमरा राख्ने तयारी ग-यो।

टहरामा घाम छिर्छ, हावा छिर्छ र शीत पनि चुहिन्छ । पानी पर्दा कतैकतै पानी पनि चुहिन्छ । कहाँ राख्ने जमरा ? धनबहादुरलाई आपत प-यो । तैपनि उसले टहराको एउटा कुनामा जमरा राख्ने ठाउँ बनायो । खोलाबाट ल्याएको बालुवा खन्यायो । दियो जगायो । कलश खडा ग-यो । गणेशको पूजा ग-यो । तामाको घडामा गोबरको धर्सो कोर्दै त्यसमा जौ टाँस्यो । अनि बालुवामा गहुँ, जौ र मकै छ-यो । यसरी जमरा राख्ने काम सकियो । भूकम्पको पीडालाई बिर्सेर धनबहादुरले दशैंलाई स्वागत ग-यो।

बाबु धनबहादुरले जमरा राखेपछि छोरो गोपाल पनि खुसी भयो दशैं आयो भनेर । उसलाई थाहा छ दशैंमा नयाँ लुगा लाउन पाइन्छ र मीठो खान पाइन्छ । उसका लागि दशैं भनेकै यत्ति हो । त्यो भन्दा बढी गाउँमा हालेको पिङमा एक दुई पटक मच्चिन पाउनु नै उसका लागि दशैंको रमाइलो हो । कहिलेकाहीं रोइकराइ गरेर बाबुसँग पैसा मागेर लट्टाइधागो र चंगा पनि किन्छ । चंगा उडाउन पाए उसलाई भोक पनि लाग्दैन । तिर्खा पनि लाग्दैन । दिनभरि ऊ चंगा उडाउनमै व्यस्त हुन्छ । खान पनि उसलाई बोलाउनैपर्छ । कहिलेकाहीं चंगा च्यातिएर ऊ अँध्यारो मुख पारेर आउँछ । बाबुको अगाडि बसेर टुलुटुलु बाबुको अनुहार हेर्छ । बाबुको खप्की खानुपर्ने डरले उसले बाबुसँग चंगा किन्ने पैसा पनि माग्न सक्दैन । तर छोराको टीठलाग्दो अनुहार देखेर धनबहादुरलाई छोराको मायाले मन भरिएर आउँछ । अनि ऊ खल्ती टक्टक्याएरै भए पनि चंगा किन्ने पैसा दिन्छ । छोरा फुरुंग परेर जान्छ । धनबहादुरलाई पनि ठूलो सन्तुष्टि मिल्छ । छोराको खुसी नै उसको पनि खुसी हो । ऊ छोरा रमाउँदै गएको हेरिरहन्छ । छोरा रमाउँदा उसलाई निकै आनन्द लाग्छ।

‘ओहो, जमरा त राखियो । उम्रिने पो हो कि होइन ? उम्रिए पनि सप्रिने पो हो कि होइन ?’ धनबहादुरलाई चिन्ता लाग्न थाल्छ । जहान खसेको शोकमा धनबहादुरले परारसाल जमरा नै राखेन र दशैं पनि मनाएन । आमा गुमाएको छोराले पनि दशैंमा कुनै कुराको माग गरेन । बरु ऊ पनि आमालाई सम्झेर दशैंभरि न्यास्रो मानेर बस्यो।

पोहोर साल भने धनबहादुरले जहान खसेको शोकलाई बिर्सेर दशैंको जमरा राख्यो । त्यो बेलामा अहिलेजस्तै चिन्ता थियो उसलाई । जमरा उम्रिने हो कि होइन । उम्रिए पनि सप्रिने हो कि होइन । यस्तै चिन्ताले सताएको थियो उसलाई । जमरा त उम्रियो । सप्रियो पनि । तर पहेँलो हुनुपर्ने जमरा हरियो भइदियो।

गाउँका सबै घरका जमरा पहेँलै थिए । धनबहादुरको जमरामात्रै हरियो भयो । तैपनि कसैले केही भनेनन् । तर आफ्नै छोराले सबैको जमरा पहेँलो, हाम्रोमात्रै किन हरियो भनेर सोध्दाचाहिँ धनबहादुरलाई निकै गा¥हो भएको थियो छोराको प्रश्नको जबाफ दिनलाई । त्यतिखेर उसले अरूका जमरा नसप्रिएको र आफ्नोचाहिँ सप्रिएको जमरा भनेर ढाँटेको थियो । छोरा पनि खुसी भएको थियो । उसले गाउँका केटाकेटीसँग ‘तिमीहरूको त नसप्रिएको पहेँलो जमरा । हाम्रो त सप्रिएको हरियो जमरा’ भनेर धाक पनि लगाएको थियो । अरू केटाकेटीले हारेको खेलाडीले जस्तो फुस्रो अनुहार लगाउँदा उसकोचाहिँ धपक्क बलेजस्तो भएको थियो । ऊ निकै खुसी भएको थियो । घर आएर उसले गर्वसाथ भनेको थियो, ‘बुबा, अरूको त नसप्रिएको पहेँलो जमरा । हाम्रो मात्रै सप्रिएको हरियो जमरा है ।’ छोराको खुसीमा धनबहादुर पनि खुसी भएको थियो।

यसपालि पनि जमरा हरियो भयो भने के गर्ने ? छोरालाई कसरी ढाँट्ने ? धनबहादुर चिन्तित हुनथाल्यो।

धनबहादुरले हरेक दिन बिहानै जमरा उम्रियो कि उम्रिएन भनेर हेर्न थाल्यो । जमरा उम्रियो । ऊ खुसी भयो । अब जमरा सप्रिन्छ कि सप्रिदैंन र पहेँलो हुन्छ कि हरियो ? यही एउटा चिन्ता बाँकी छ।

धनबहादुरले हेर्दाहेर्दै जमरा सप्रियो । लहलहाउँदो भयो जमरा । तर पहेँलो हुनुपर्ने जमरा पोहोरजस्तै यसपालि पनि हरियो भयो । धनबहादुरको मन खिन्न भयो । जमरा राखेको ठाउँमा घाम र हावा छिर्नु हुँदैन । घाम र हावा छि¥यो भने जमरा पहेँलो नभई हरियो हुन्छ । उसको टहरामा जताततै घाम र हावा छिर्ने प्वालहरू थिए । त्यसैले जमरा हरियो भयो।

विजया दशमीको दिन । टीकाको साइतमा धनबहादुरले आफ्नो छोरालाई टीक लगाइदियो । कानमा पहेँलो होइन हरियो जमरा सिउरिदियो । गच्छेअनुसारको दक्षिणा पनि दियो । दक्षिणा पाएर धनबहादुरको छोरा खुसीले कानको हरियो जमरा हल्लाउँदै साथीको घरतिर कुद्यो।

छोराले साथीहरू भेट्ला । सबै साथीहरूले पहेँलो जमरा लाएका होलान् । सबैको पहेँलो जमरा, आफ्नोमात्रै हरियो जमरा देखेर छोरा खिन्न होला । घरमा आएर फेरि त्यही प्रश्न गर्ला । अब छोरालाई कसरी ढाँट्ने ? यही चिन्ता लिएर बसेको धनबहादुरलाई घर आउनेबित्तिकै छोराले सोध्यो, ‘बुबा, सबैका पहेँलो जमरा, हाम्रोमात्रै किन हरियो जमरा ?’
‘सप्रिएको जमरा हरियो हुन्छ छोरा ।’ धनबहादुरले फेरि पनि ढाँट्ने प्रयास ग-यो।

तर उसको छोराले पत्याएन । ‘होइन, तपाइँ ढँटुवा । सप्रिएको जमरा त पहेँलो नै हुन्छ रे । केदारको बुबाले भन्नुभा’को ।’ उसको छोराले रिसाउँदै भन्यो।

केदार गोपालको साथी हो । केदारको बुबा गाउँकै धनीमानी व्यक्ति हुन् । उनको भूकम्पले पनि केही नगरेको पक्की घर छ । घाम नछिर्ने, शीत नचुहिने र पानी नचुहिने त्यस्तो घरमा राखेको जमरा पहेँलै त हुन्छ।

परम्परादेखि नै चलेको चलन हो पहेँलो जमरा लाउने । बरु परम्परादेखि नै हरियो जमरा लाउने चलन चलेको भए धनबहादुरजस्ता गरिब र बेसहाराले जमरा हरियो भएकोमा दुखी हुनै पर्दैनथ्यो।

अब भने धनबहादुरलाई फेरि अर्को तर्क दिएर छोरालाई ढाँट्ने हिम्मत भएन । छोराको अगाडि ऊ पराजित खेलाडीजस्तै भयो । छोराचाहिँ उसको जबाफ पर्खिरह्यो।

एकछिन् पछि केही सोचेर धनबहादुरले भन्यो, ‘हामीजस्ता गरिब र बेसहाराले लाउने जमरा हरियै हुन्छ छोरा ।’ तर यसो भन्दै गर्दा धनबहादुरको मुटुमा निकै ठूलो गाँठो परेजस्तो भयो । उसलाई सास फेर्न पनि गा¥हो महसुस भयो । तर उसले छोरालाई यो कुराको महसुस भने हुन दिएन।

धनबहादुरको छोरा गोपाल कुरा बुझेजस्तो गरेर चुप लाग्यो । दशैंमा लाउने जमरा पहेँलै हुन्छ र पहेँलै हुनुपर्छ । तर उसलाई थाहा छैन, जमरा किन हरियो हुन्छ र उसको जमरामात्रै किन हरियो भयो भन्ने कुरा।

बाबुको जबाफले चित्त बुझाएर छोरा चंगा लिएर चंगाजस्तै भएर फेरि खेल्न गयो । धनबहादुरको मन भने एक मनको भारीले थिचेजस्तो गहुँगो भइरह्यो।

प्रकाशित: २० आश्विन २०७५ ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App