स्मृति

मनको चचहुई

शनिबार, २० असोज २०७५, ११ : १७ दीपेन्द्रसिंह थापा

प्रत्येक वर्ष आवृत्त हुन्छ शारदीय सौन्दर्य । छरिन्छ मनमनमा समयको एकखाले आकर्षण । प्रकृतिको यही अनुक्रमसँगै जोडिएर आउँछ दसैँ । नेपाली मनका लागि सबैभन्दा ठूलो सांस्कृतिक उत्सवका रूपमा छुट्टै आकर्षण छ दसैँको । ग्रामीण परिवेशको दसैँ बिम्ब अझै उल्लेख्य लाग्छ मलाई । दसैँ नजिकिँदै गर्दा गाउँका उत्सवमय परिदृश्यका स्मृतिचित्र ताजा बन्छन् । बिर्सनै सक्दिनँ म त्यस्ता जीवन्त बिम्बहरू।

दसैँ प्रारम्भ हुनु केही दिन पूर्व नै आँगनमा दमाई दाइ टुप्लुक्क देखा पर्छन् । एकै छिन सहनाईको मीठो धुन गुन्जाएर अर्को घरतिर लाग्छन् । यो दसैँ आगमनको सङ्केतध्वनि बन्छ । हामी साना छँदा दमाई दाइले अर्को एउटा उल्लास पनि बोकेर ल्याएझैँ लाग्थ्यो, जब उनी लुगा सिलाउने हाते मेसिन बोकेर हाम्रो घरको पिँढीमा आइपुग्थे । उनैले हाते मेसिन कटट कटट पार्दै हाम्रा लागि नयाँ लुगा सिलाइदिन्थे । नयाँ लुगा लगाउन पाउँदा मन फुरुङ्ग बन्थ्यो, हाम्रा अनुहार खुसीको रङले उज्यालिन्थे।

हाम्रो घरभन्दा केही माथि मुखियाको घर थियो, उनी मगर जातिका । त्यो घरमा दसैँको नवमीका दिन बिहान तमासाजस्तो लाग्ने दृश्य मञ्चन हुन्थ्यो । पिठो, अबिर, फूल, आदिले सजाइएको आँगनको बीच भाग । त्यहाँ बडेमाको सुँगुरलाई बलि दिन लाग्दा सुँगुर कराएको च्वाँ च्वाँ आवाज र पन्चैबाजाको ध्वनिले गाउँ नै गुञ्जायमान हुन्थ्यो । एउटा रन्को बनेर फैलन्थ्यो दसैँको ध्वनि त्यहाँबाट।

टाढा बजारबाट घरका अभिभावकद्वारा किनेर ल्याइएका हुन्थे थानका कपडा । दमाई दाइले नसिलाइदिई त्यो कहाँ लगाउन मिल्थ्यो र ? त्यति बेलासम्म तयारी पोशाक नै किनेर लगाउने प्रचलनले गाउँसम्म स्थान पाइसकेको थिएन । पुख्र्यौली पेसाका रूपमा कपडा सिलाउने दमाई समुदायका सीमित मान्छेबाहेक अरू अहिलेका जस्ता तालिमप्राप्त आधुनिक सूचीकार भेटिँदैन थिए गाउँतिर । त्यसैले दमाई दाइ दसैँलाई दसैँमय बनाउन एउटा पूरक भूमिकामा क्रियाशील पात्रजस्तो लाग्थ्यो । सबैका आङलाई एकसरो खुसीका नयाँ आवरणले सजाइदिन सघाउने उनी नै हुन्थे।

अहिले सम्झिँदा लाग्छ, त्यति बेला ती दमाई दाइको शिल्पबाट प्राप्त भए जति खुसी अहिलेका कुनै आधुनिक ‘टेलर्स’ र महङ्गा परिधानबाट पनि पाउँन सकिँदैन।

दसैँको सम्मुखमा ढिकीहरू व्यस्त हुन्थे भक्राङच्याङ भक्राङच्याङ गर्न । एकतमासले बजिरहने ढिकीले दसैँलाई ठुलै स्वरले बोलाएझैँ लाग्थ्यो । खासमा ती ढिकी चिउरा कुट्न तल्लीन हुन्थे । त्यतिबेला अहिलेजस्तो बजारु चिउरा गाउँमा पुग्दैन थियो या गाउँका मान्छे त्यस्ता पातला बजारु चिउरा रुचाउदैनन् थिए, हामी केटाकेटीलाई के थाहा! आफ्नै खेतमा फलेका धानबाट घरकै ढिकीमा कुटेर तयार पारिएको चिउरा बाक्ला र मीठा हुन्थे । अचेल यस्ता चिउरा कहाँ देख्न पाउनु ?  स्वाद मात्र अल्झिएर बसेको छ जिब्रोमा।

दसैँ नजिकिँदै गर्दा गाउँका गोरेटा, सफासुग्घर र सिनित्त पार्न लागीमेली गरिन्थ्यो । हिँड्न अप्ठेरा उकालीओरालीमा सिँढीहरू थपिन्थे, मिलाइन्थे । होस्टेमा हैँसे गर्न एकजुट हुन्थे गाउँले । बाटोहरू केही फराकिला र उज्याला देखिन्थे । पुरानो बाटो पनि नयाँझै लाग्ने । चिटिक्क नागबेली त्यस्तै । ती बाटामा हिँडेर सायद थाक्दैनन् थिए हाम्रा खुट्टाहरू।

दसैँका बेला रातोमाटो र कमेरो दलेर झकिझकाउ बनाइन्छन् गाउँका घर । जङ्गली वनस्पतीका बोक्रा पकाएर बनाइएका कालो रङले झ्यालढोका टल्काइन्छन् । अधिकांश घर आधा भाग रातो र आधा भाग सेतो हुने गरी मिलाएर रङ्ग्याउने गाउँले कला हुन्छ।

हामी बगाले थापा क्षेत्रीका घरहरू मात्र राता । कमेरोको सेतो रङ दल्दैनन् अझै । यस्तै छ परम्परा, चित्तबुझ्दो कारण चाहिँ थाहा पाउन सकेको छैन मैले । ‘यस्तै चलन’ भन्ने मात्र सुनेको छु।

दसैँमा घर पोत्ने रातो माटो लिन गाउँ नजिकैको जङ्गलछेउ पुगेको अनुभव छ मसँग पनि । त्यहाँ टिलिक्क टल्किने चिप्लो राटो माटो पाइन्छ । रातो माटो खन्ने गरिएका ढिस्काहरूमा जति भित्रबाट निकाल्यो उति मिहिन माटो पाइने हुँदा स–साना ओडारजस्ता ठाउँ भेटिन्छन् । कहिलेकाहीँ माटो निकाल्दा ढिस्को नै खसेर मानिस पुरिन सक्ने जोखिम पनि हुन्छ।

अचेल आधुनिकताको अनुकरण, सहरबजारको देखासिकी, भुइँचालोको क्षतिजस्ता कारणबाट नेपाली मौलिकता झल्किने कलात्मक घर लोप हुने क्रममा छन् । त्यतिबेला दसैँमा सजाइएका गाउँका एकनासका घर हेर्न लायक देखिन्थे । नेपालीपनको सौन्दर्य उजागर हुन्थ्यो घरघरमा । परिवेश नै रङ्गीन हुँदा बर्खाभरि गरेका दुःख  बिर्सन्थे गाउँले । सुखको इन्द्रेणी ओर्लिएर गाउँलाई स्पर्श गरेजस्तो लाग्थ्यो । साँच्चै उत्सवमय हुन्थ्यो गाउँ।

फूलपातीका दिन भने घरघरबाट एकएक मुठा बाबियो जम्मा गर्न तात्थ्यौँ हामी । गाईबस्तुका लागि दाम्लो बनाउन र अन्य प्रयोजनका लागि डोरी बाट्न प्राय सबैका घरमा बाबियो जोहो गरिएको हुन्थ्यो । बाबियो सङ्कलन पछि डोरी बाट्न सिपालु मान्छेहरू अघि सर्थे । लामो डोरीको लट्ठा तयार हुन्थ्यो र चौबाटोको खुल्ला ठाउँमा नारिन्थ्यो लिङ्गे पिङ । कहिलेकहीँ बरपीपलको चौतारोमा पनि झुन्ड्याइने गरिन्थ्यो । कसले कति माथिसम्म पिङ मच्चाउन सक्छ भन्ने होड पनि हुन्थ्यो ठिटाठिटीबीच । पिङ बनाइएको ठाउँमा यति रमाइलो हुन्थ्यो कि कहिलेकाहिँ त समयमा खाना खान पनि बिर्सन्थ्यौं हामी।

रोटे पिङ बनाउन चाहिँ गाउँभरिका बलियाबाङ्गा नै जुर्मुराउँनु पथ्र्यो । पर्वको रौसमा रौसिँदै जङ्गलबाट काठहरू काटेर ल्याउथे उनीहरू । दिनभरिजसोको श्रम, शक्ति र सीप खर्चेपछि बन्थ्यो रोटे पिङ । त्यसमा तलमाथि गर्दै पटकपटक फन्को मार्दाको आनन्द अलग्गै हुन्थ्यो।

बहुल जातीय सौन्दर्य फुलेको फूलबारीजस्तो गाउँ । क्षेत्री, बाहुन, मगर, नेवार, दमाई र कामी मिलेर बसेको बस्ती । हाम्रो घरभन्दा केही माथि मुखियाको घर थियो, उनी मगर जातिका । त्यो घरमा दसैँको नवमीका दिन बिहान तमासाजस्तो लाग्ने दृश्य मञ्चन हुन्थ्यो । हेर्न गाउँले झुत्तिन्थे । आँगनको एक छेउमा बाजा बजाउने दमाईको टोली । पिठो, अबिर, फूल, आदिले सजाइएको आँगनको बीच भाग । त्यहाँ बडेमाको सुँगुरलाई बलि दिन लाग्दा सुँगुर कराएको च्वा च्वा आवाज र पन्चैबाजाको ध्वनिले गाउँ नै गुञ्जायमान हुन्थ्यो । एउटा रन्को बनेर फैलन्थ्यो दसैँको ध्वनि त्यहाँबाट।

केही वर्षको अन्तरालपछि म गाउँ पुग्दा त्यस घरका मुखिया बुढाबुढी बितिसकेका रहेछन् । त्यो घर भत्काएर अन्तै लगिएकाले घडेरी र बाँझो बारी मात्र देखेँ त्यहाँ । उनीहरूका सन्तान अर्कै गाउँतिर बसाइँ सरेका रहेछन् । थाहा छैन, उनका सन्तानले अचेल यो परम्परा कसरी बचाउँदै छन् या छाडिसके।

अचेल गाउँतिर दसैँ खसी पाल्ने चलन कत्तिको छ, कुन्नि ! हामी सानो छँदा चाहिँ घरघरमा खसी पालिएको हुन्थ्यो । दसैँ आउनु केही महिना अघिदेखि नै विशेष स्याहारसुसार पाउँथे त्यस्ता खसीले । कतिका घरमा त दाम्लो नै नलगाई खुल्ला नै छोडिन्थे । जता गए पनि, जे खाए पनि स्वतन्त्र । यस्ता खसीको स्वभाव यसरी बदलिन्थ्यो कि दिएको खान्थ्यो, चोरेर खान बल गर्दैनथ्यो र घर छाडेर अन्त पनि जाँदैनथ्यो । अरू बाँधेर, खोरमा थुनेर पालिएका खसी, बोका र बाख्रामा यस्तो आनीबानी कहाँ पाउनु!

चिल्लासुकिला र राम्रा पनि देखिन्थे दसैँखसी । खोइ कसको पालादेखि बसालिएको थिति हो, ती खसी एक खालका मान्छेका खाद्य परिकार बनेर भान्सामा पुग्नुपर्ने दसैँमा । मान्छे जातिको चेतनामा अझै धेरै परिष्कार आओस् र एक दिन पशुवधको चलन नै हटेर जाओस् जस्तो लाग्छ मलाई।

दसैँको मिथकीय पाटो आफ्नै छ । सरल रूपले बुझ्दा मान्छेले आफैभित्रको पशुत्वको आत्मसमीक्षा गर्ने र पशुत्व वृत्तिमा साँघुरिएको जीवनबाट माथि उठ्ने प्रण गर्ने पर्व हो दसैँ । यसो गर्न सके दसैँको सान्दर्भिकता अझै बढेर जाने छ।

दसैँमा अभिभावक र मान्यजनबाट टीका लगाउँदा पाइएका आशीर्वादको वर्षाले संयमित, मर्यादित र संस्कारित जीवन बाँच्ने प्रेरणा प्राप्त हुन्छ । जीवनको मूल्यबोध गर्न सम्झाएजस्तो लाग्छ । स्वच्छ मनले आफ्नो शुभ चिताउने अग्रज आफ्ना आँखा अघिल्तिर देखुन्जेल सौभाग्यशाली महसुस गर्छु म आफूलाई।

सानो छँदा बालहुटहुटीले तरङ्गित बन्थ्यो मन । दसैँ छिटोछिटो आइदिए पनि हुने जस्तो लाग्थ्यो । राम्रो लगाउने, मीठो खाने, प्रियजनसँग भेट्ने र आफन्तकहाँ पुग्दा घुमफिर हुने जस्ता आकर्षणले बालबालिकालाई बढी नै प्रभावित तुल्याउनु बालमनोविज्ञानका दृष्टिले अस्वाभाविक पनि होइन रहेछ । त्यतिबेला चाडबाडमा बाहेक अन्य समयमा पर्याप्त मनोरञ्जन गर्ने अवसर पनि कहाँ पाइन्थ्यो र ? औपचारिक लेखपढ र घरायसी काममा सहयोग गरेर नै समय व्यतीत हुन्थ्यो । एकरसता हटाउन पनि चाडपर्वको मतलब बढी राखिन्थ्यो होला।

अहिले समयले कोल्टे फेरिसकेको छ । प्रविधिको पहुँच गाउँबस्तीसम्म पुगेको छ । अचेलका केटाकेटीका लागि मनोरञ्जन लिने र ज्ञान आर्जन गर्ने विकल्प व्यापक हुँदै गएका छन् । समयको परिवर्तनशीलताले मान्छेको सोचाइलाई पनि धेरै हदसम्म प्रभावित तुल्याउँदै जाने रहेछ।

आफ्नै अनुभवको ऐनामा नियाल्दा थाहा हुन्छ, मान्छेलाई खुसी दिने कुराहरू पनि उमेर र जीवनभोगाइ सापेक्ष हुने रहेछन् । बाल्यकालमा हामीलाई जुन कुराले जति मात्रामा रमाइलो दिन्थ्यो त्यही कुराले यौवन अवस्थामा पुग्दा त्यत्तिकै रौनक छर्न नसक्दो रहेछ । युवावयका रहर र वृद्धकालका चाहनाबीच पनि सबै प्रसङ्गमा समानता भेट्न पक्कै सकिँदैन होला।

समयसापेक्ष आवश्यकता र आकांक्षाको यात्राले मान्छेको बसोबास व्यवस्थालाई पनि विकल्प दिँदै जाँदो रहेछ । सबै मान्छे सबै परिस्थितिमा एकै ठाउँमा मात्र सीमित भएर रहन्छन् भन्ने नहुँदो रहेछ । दसैँको बाल्यकालीन अनुभूति सँगालिएको प्रिय गाउँमा भन्दा अन्य स्थानमा नै धेरै वटा दसैँ बितिसकेछन् मेरा पनि । हुन त अहिले गाउँमा पनि धेरै कुरा बदलिन थालेका छन् । सबै गाउँ अहिले गाउँजस्ता छैनन् । कति गाउँ बजारीकरण हुने हतारमा छन् । कति गाउँ सहरीकरणको यात्रातिर उन्मुख बन्न थालिसकेका छन् । कतिपय सन्दर्भमा भौतिक विकासको फड्कोले गाउँ र सहरको पृथकताको रेखा धूमिल बन्दै गएको आभास हुन्छ । समयको गति न हो, नित्यनिरन्तर अघिअघि बहनु उसको विशेषता।

समयले जहाँ पु-याए पनि, उमेर र अनुभवले जुन घुम्ती कटाए पनि बाल्यकाल भनेको बाल्यकाल नै हुने रहेछ । त्यो समय विशेष बनेर सम्झनामा सलबलाउँछ । त्यतिखेर देखेका, भोगेका प्रसङ्गहरू कति चेतन मनमा छन्, कति अवचेतन मनमा होलान् । म अहिले जहाँ पुगे पनि, जस्तो रहे पनि जब दसैँको मालश्री धुन रेडियो, टेलिभिजनमा बजेको सुन्छु, मेरो मनको ग्रामीण बाल्यबिम्ब एकाएक जुर्मुराएर उठ्छ । मन त्यत्तिकै अबोध र चञ्चल भएर गाउँको चौतारोमा झुन्ड्याइएको लिङ्गे पिङमा चचहुइ गर्न पुग्छ र खटखटाउँदै घुम्ने रोटे पिङमा चढेर एकैछिन भए पनि धर्ती छोडूँ भन्छ।






यसमा तपाईको मत

अन्य समाचार

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

यस मूल्यको दायरामा पर्ने र नेपाली बजारमा सजिलै खरिद गर्न सकिने मोडर्न स्मार्टफोनहरूको सूची यहाँ प्रदान गरिएको छ ...

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

Ncell Footer Ad