७ वैशाख २०८१ शुक्रबार
अन्य

‘सखी’ थारू केटीको संघर्ष र सफलताको गाथा हो

मदन पुरस्कार पाएपछि नेपाली साहित्यमा उदाए, साहित्यकार रामलाल जोशी । उनै जोशीको ‘सखी’ उपन्यास आज (शनिबार) विमोचन हुँदैछ । यसै सेरोफेरोमा रही उनीसँग नागरिककर्मी उत्तम ओझाले गरेको कुराकानी।

गजल र कथा संग्रहपछि ‘सखी’ उपन्यास लिएर आउनुभएको छ, तपाईँलाई पनि उपन्यास लेखनको मोहले तानेकै हो त?
साहित्य लेखनमा नजानिँदो तरिकाले तानेको थियो । म कक्षा ४ मा पढ्दा स्वर्गीय पिताको कविताबाट आकर्षित भएर कविता लेख्न थालेँ । पछि क्याम्पस जीवनमा प्रवेश गरेपछि गजल लेख्न थालेँ । त्यसपछि गजल संग्रह प्रकाशन गरेँ । नेपाली साहित्य अध्ययन गर्ने क्रममा जुन त्यहाँको समाज र आञ्चलिकतालाई नेपाली साहित्यको मूलधारमा आएको देखिनँ । थोरै त्यहाँका साहित्यकारले लेखे पनि त्यही पढ्ने, त्यही हराउने भयो । नेपाली साहित्यको मूलधारमा नदेखेपछि र गजलबाट यहाँको अवस्था अभिव्यक्त गर्न नसकेपछि मैले कथा लेखेँ । कथा संग्रहले मेचीदेखि महाकालीसम्मका पाठकको माया पाएँ । र, यहाँका छुटेका विषयवस्तुलाई लेख्न प्रेरित ग-यो । त्यसकारणले कथामार्फत् पनि छुटेका कुराहरू, अटाउन नसकेको समाजलाई उपन्यासमार्फत् ल्याउनुपर्छ ठानें।

इच्छाले तान्यो भन्दा पनि समाजलाई अभिव्यक्त गर्ने क्रममा मैले बाँचेको र भोगेको समाजलाई प्रस्तुत गर्ने क्रममा उपन्यास स्वभावतः आएको हो।

तपाईँले आफ्नो पहिलो कथा संग्रह ‘ऐना’बाट मदन पुरस्कार पाउनुभयो, कथालाई नै निरन्तरता दिऊजस्तो लागेन?
होइन, कथा लेखिरहेको छु । यो आख्यानकै विधा हो । कथामार्फत् जुन समाजलाई अभिव्यक्त गरिरहेको छु, नेपालको थारू समुदाय, जुन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर बसेका छन् । छिटपुटरूपमा थारू समुदायबारे कथा लेखिएका छन् । तर, सिंगो थारू समुदाय र संस्कृतिका बारेमा नेपाली साहित्यमा धेरै अध्ययन÷अनुसन्धान भएजस्तो लागेन । त्यसकारणले यो कथाभन्दा पनि उपन्यासका लागि ठूलो गाथा हो । त्यो गाथालाई उपन्यासमार्फत् अभिव्यक्त गर्नुपर्ने भएकाले मैले उपन्यास लेखें । कथा पनि लेखिरहेको छु, कथा र उपन्यास सँगसँगै लैजाने योजना छ।

‘सखी’ कस्तो उपन्यास हो?
‘ऐना’ जस्तै यो पनि आञ्चलिक उपन्यास हो । ‘ऐना’मा २० ओटा कथा थिए । यसले पश्चिम नेपालका थप पाटोलाई उजागर गर्नेछ । अब ‘ऐना’मा विविध कथा थिए । पश्चिम नेपालको विविध विषयवस्तु थियो । छुवाछुत, गरिबी, थारू–पहाडी आन्दोलन, बेरोजगारीको समस्या, भारतमा जानुपर्ने विवशतालगायत विषयवस्तु थियो भने ‘सखी’चाहिँ एउटा थारू विषयवस्तु तथा जीवन–संघर्षमाथि लेखिएको उपन्यास हो । थारू जाति पश्चिम नेपालमा बस्ने एउटा शालिन, सभ्य र सोझो जाति हो । जुन जातिले लामो संघर्ष पार गरेर आज आफ्नो स्वाभिमानको अवस्थामा आइपुगेको छ । कमैया, कम्लहरी जीवन गुजारा गरेर आजको दिनसम्म आइपुगेका छन् । यो मुक्ति प्राप्त गर्नेसम्म उनीहरूले कुन–कुन संघर्ष गरेर आए । त्यसको एउटा गाथा हो।

यो थारू केटीको संघर्ष र सफलताको गाथा हो । त्यसकारणले यो थारू विषयमा केन्द्रित छ । जुन नेपाली साहित्यको मूलधारमा धेरै थारूको विषयमा त्यति आएको छैन, त्यसकारण यो विषयमा उपन्यास लेखेको हुँ।

उपन्यास लेखनको प्रेरणा कहाँबाट आयो?  
‘ऐना’ लेख्ने क्रममा जुन समाज घुमें  र देखें । विशेष गरी कक्षा ५ पछि तराई झर्ने क्रममा अहिलेसम्म म थारू समुदायमा घुमिरहेको छु । यसमा दुइटा कुराले मलाई छोयो । एउटा, जुन थारू जाति हो, त्यो जातिले आफ्नै किसिमको कला, संस्कृति र सभ्यता र जीवन छ । त्यसको बारेमा अध्ययन÷अनुसन्धान र लेखिएको भेटिनँ । विषयवस्तुमाथि लेखिएको छैन । त्यसकारण यो जातिको बारेमा विचार आयो।

दोस्रो, बाल्यकालदेखि यो समाजसँगै हुर्कदाखेरि तिनीहरूले जुन अवस्थासम्म आइपुगे । जमिन्दार तथा ठूलाबडाबाट हेपिँदै आए । टाठाबाठाहरूले माटो खोसेर उनीहरूलाई कमैया बनाए । उनीहरूलाई दासजस्तो जीवन जिउन बाध्य बनाए । र, उनीहरूका छोरीहरूलाई कम्लहरी बनाए । त्यो जाति विपत्तिको अवस्थामा आजको अवस्थामा आयो । यसले मलाई छोयो र उपन्यास लेखें।

यसले के सन्देश दिन्छ?
नलेखिएको र नउघ्रेको पाटोलाई मैले उघार्ने प्रयास गरे । अर्काे कुरा थारू जाति कस्तो संघर्ष र विपत्तिको अवस्थामा आयो ।  नेपालका धेरै जातजाति छन्, सीमान्तकृत वर्ग छन् । थारू जाति पनि हेपिएको अवस्थामा रहेको जाति हो । उसले संघर्षको इतिहास पार गरेको छ । त्यसकारणले त्यो जातिको बारेमा सकारात्मक सन्देश जाओस् । थारू जातिको कला, संस्कृतिको बारेमा पनि खोजी होस् भन्ने मेरो उद्देश्य हो।

पहिलो आख्यान कृतिबाट नै मदन पुरस्कार पाउनुभयो, ‘सखी’बाट कस्तो अपेक्षा गर्नुभएको छ?
मैले ‘ऐना’बाट पुरस्कार पाउने अपेक्षा गरेको थिएन । त्यसरी लेखिएको पनि होइन, मूलरूपमा पश्चिम नेपालको नउघ्रिएको पाटो उजागर होस् भन्ने मेरो अपेक्षा थियो । तर, ‘ऐना’ले सोचेभन्दा बढी पाठकको माया पायो । ‘सखी’बाट पनि मेरो अपेक्षा त्यही हो । यसले पनि पाठकको माया पाओस् । पाठकको हृदय छुन सकोस् भन्ने मेरो आशा हो । मलाई लाग्छ, यसमा समेटिएको विषय नेपाली उपन्यासका क्षेत्रमा नयाँ हो । त्यसकारणले पनि यसले पाठकले मनपराउनेछन् भन्नेमा म विश्वस्त छु।

अब उपन्यास लेखनलाई निरन्तरता दिनुहुन्छ कि अरु कुनै विधा लेख्नुहुन्छ?
लेखकले आफ्नो जुन विधामा रुचि छ, त्यही लेख्ने हो । मैले सुरुका दिनमा गजल लेखेँ । त्यतिबेला म सिकारु थिए । कविता पनि लेखेँ । साहित्यमा अनुराग थियो । युवाअवस्था पनि थियो । त्यो युवाअवस्थामा हृदयका ढुकढुकीहरू गजलमार्फत् अभिव्यक्त गरे । अहिले पनि गजल लेखिरहेको छु । मसँग यसको पाण्डुलिपि पनि तयार छ । तर, गजलमा अभिव्यक्त हुन नसकेका कुराहरू आख्यानमार्फत् लेख्न थालेको हुँ । गजल छोटो विधा पनि भयो लयात्मक विधा पनि भयो । यसमा ओगट्न नसकेको विषय आख्यानमा लेख्न थालेको हुँ।

विधा परिवर्तन गर्दै जाने पनि होइन, समाजका नयाँ विषय जुन विधामार्फत् अभिव्यक्त गर्न सकिन्छ, त्यही विधा लेख्ने प्रयास गर्नेछु । सम्भवतः कथा र उपन्यास नै लेख्नेछु।

गजल, कथा र उपन्यासमा कुन विधा लेख्न सजिलो हुँदो रहेछ?
लेखकले रमाएर लेख्ने हो भने जुनसुकै विधा पनि लेख्न सकिन्छ । त्यसकारण रमाएर लेख्नुपर्छ भन्ने हो । समाजका नउघ्रेका पाटाहरू लेख्ने प्रयास गर्ने हो भने जुन विधा लेख्न पनि सजिलो नै हुन्छ । यसका पनि कथा लेख्न मलाई सहज लाग्छ । गजल लेखन पनि सहज नै हो । तर, गजलमार्फत् सबै कुराहरू अभिव्यक्त गर्न सकिँदैन । कथा र उपन्यास लेख्दा आनन्द आइरहेको छ।

तपाईँले गजलबाट साहित्यको यात्रा सुरु गर्नुभयो, त्यसमाथि गजलको उर्वरभूमि मानिने धनगढी कर्मथलोमा बस्नुभएको छ, तर पनि हिजोआज तपाईँका गजल हिजोआज पढ्न नपाइने अवस्था छ नि?
होइन, गजल नलेख्ने भन्ने होइन, साहित्य अभिव्यक्तिको माध्यम हो । हामीले कुन कुरालाई कसरी अभिव्यक्त गर्ने कुरा निर्भर रहन्छ । मनमा आएका भावनाहरूलाई गजल, कवितामार्फत अभिव्यक्त गर्न सकिन्छ । क्षणिकरूपमा प्रेमका संवेग, दुःखलाई गजल तथा कवितामा अभिव्यक्त हुन्छ । तर, समाजको सिंगो जीवन अभिव्यक्त गर्न आख्यानमा मात्रै सम्भव हुन्छ । तर, अहिले मेरो उद्देश्य समाजमा नलेखिएका पाटाहरूलाई लेख्नु हो।

तपाईँ सुदूरपश्चिम साहित्य समाजको अध्यक्ष पनि हुनुहुन्छ, त्यहाँका साहित्य विकासका लागि के गरिरहनुभएको छ?
सुदूरपश्चिम साहित्य समाज साहित्यिक गतिविधिमा केन्द्रित छ । केही समयअघि तीन तलाको भवन । हरेक वर्ष एक लाख ११ हजार उत्कृष्ठ कृतिलाई पुरस्कृत गर्छाैं । त्यसका साथै सात पुरस्कार स्थापना गरेका छौं । कविका जन्म जयन्ती मनाउँछौं । र, नयाँ पुस्तालाई मञ्च दिने र साहित्य लेखनमा अग्रसर गराउने काम गरिरहेका छौं । त्यहाँको प्राज्ञिक संस्थाका रूपमा सुदूरपश्चिमाञ्चल साहित्य समाज क्रियाशील छ।  

तपार्इँका भावी योजना के छन्?
म अब सक्रिय रूपमा लेखनमा पूर्णकालीनरूपमा क्रियाशील हुन्छ भन्ने हो । दुई वर्ष धनगढीमा बस्छु । त्यसकै लागि मैले शिक्षण पेशा समेत छाडेको छु।

प्रकाशित: २० आश्विन २०७५ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App