८ वैशाख २०८१ शनिबार
अन्य

छोटो–मिठो कथा

एकैछिनमा पढ्न सकिने छोटा मिठा कथा पाठकले मन पराउँछन् । लघुकथामा पाठकलाई तुरुन्तै आकर्षण गर्ने चुम्बकीय शक्ति हुन्छ । कथाको जस्तो स्वाद र उपन्यासको जस्तो सन्तुष्टि दिन सक्नु लघुकथाको खुबी मानिन्छ।  
नेपालमा चोटिला लघुकथा लेख्न सक्ने कथाकारको दुःख छैन । लघुकथा समाजका अनुसार नेपाली भाषामा तीन सय जति लघुकथाका पुस्तक प्रकाशन भैसकेका छन् । दिनदिनै लघुकथाकारको संख्या बढ्दो छ।

‘आजको व्यस्त युगमा लामालामा रचना पढ्ने फुर्सद कसैलाई हुँदैन’, कथाकार शुषमा मानन्धर भन्छिन्, ‘लघुकथाबाट थोरै शब्दमा धेरै कुरा भन्न र बुझ्न सकिन्छ।’

लघुकथा लेखन, प्रकाशन र यसको गुणस्तर वृद्धिका लागि लघुकथा समाज सक्रिय छ । समाजले स्थापनाको दशौं वर्ष पनि मनाइसकेको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन वर्तमानमा लघुकथा लेखन सकारात्मक दिशामा अघि बढेको बताउँछन्।

विज्ञान र प्रविधिले गर्दा मानिसको जीवनशैली व्यस्त बन्दै गएको छ । ‘हातमा विश्व अटिरहेका बेला साहित्यका लागि धेरै समय दिन नसक्ने अवस्थाले गर्दा लघुकथा नेपालमा मात्र होइन, विश्वमै लोकप्रिय बनेको हो’, श्रेष्ठले भने।

बुझ्नु पर्ने के छ भने छोटो कथा लेख्नेबित्तिकै लघुकथा भैहाल्छ भन्ने भ्रमबाट सबै जना मुक्त हुनु पर्छ । आवश्यक तत्व समाहित गरेर लेखियो भने मात्रै त्यो वास्तविक लघुकथा बन्छ । लघुकथा लेखन चुनौतीपूर्ण हुन्छ । कथालाई छोट्टयाएर लेख्नु र लघुकथा लेख्नु फरक कुरा हुन् । लेखनमा संरचनात्मक तत्व पुगेन भने त्यो चुट्किला वा टुक्का मात्र बन्न सक्छ।

थोरै शब्दमा पाठकलाई प्रभाव पार्न सक्नु लघुकथाको गुण हो । सुनारले सानो टुक्रा सुनलाई आगोमा धेरैपल्ट पोल्दै गहना बनाएझैँ लघुकथाकारले निकै समय खर्चेर लघुकथा सिर्जना गर्छन्। 

कथा र लघुकथामा धेरै फरक हुन्छ । कथा आकारमा लामो हुन्छ । चरित्रचित्रण, विषयवस्तु र संवादमा व्यापकता हुन्छ । विभिन्न खाले परिवेश हुन्छ । भाषाशैली सरल हुन्छ । लघुकथामा परिवेश र त्यसको व्याख्या न्यून हुन्छ । लघुकथाको आकार छोटो र विषयवस्तु सूक्ष्म र सीमित हुन्छ । त्यस्तै चरित्र चित्रण न्यून र छोटो संवाद हुन्छ । लघुकथामा प्रयोग हुने भाषा प्रतीकात्मक र व्यंग्यात्मक  हुनु पर्ने मान्यता छ।  

नेपालमा लघुकथाको कृति प्रकाशन हुन थालेको सात दशक पुग्न लाग्यो । हाम्रोमा महिला कथाकारको संख्या पनि उल्लेख्य छ । अनिता तुलाधार, भागीरथी श्रेष्ठ, इन्दिरा प्रसाई, ज्योति प्रभा विष्ट, शर्मिला खड्का दाहाल, सरस्वती रिजाल, नारा जोशी, सुशीला देउजा, साधना प्रतीक्षा, सिन्धु गौतम, विमला अधिकारी, राधा कार्की, रन्जुश्री पराजुली, गंगा लिगल आदि महिलाले कृति प्रकाशन गरिसकेका छन्।

त्यस्तै उमा सिजापति, गंगा पौडेल, गंगा सुवेदी, जलेश्वरी श्रेष्ठ, मन्जु काँचुली, मन्दिरा मधुश्री, प्रभा बराल, लक्ष्मी उप्रेती, ललिता दोषी लगायतले फुटकर लघुकथा लेखेको पाइन्छ।

महिलाको तुलनामा पुरुष लघुकथाकारको संख्या ठूलो छ । त्यो लहरमा परशु प्रधान, हिरण्य भोजपुरे, विनयकुमार कसजु, सरुभक्त, ध्रुव मधिकर्मी, तुलसीहरि कोइराला, गोपाल अश्क, पुष्करराज भट्ट, सुमन सौरभ, विमल  भौकाजी, नारायण तिवारी, रविन्द्र समिर, कपिल लामिछाने, रामविक्रम थापा, कृष्ण शाह यात्री, कृष्ण बजगाई, खेमराज पोखरेल, किशोर पहाडी, रामकुमार पण्डित क्षेत्री, टंकबहादुर आले मगर, राजु क्षेत्री अपुरो,  श्रीबाबु कार्की उदास,  श्रीराम राई र मोहनबहादुर कायस्थ लगायत छन्।  

इतिहासका पाना पल्टाउने हो भने आधुनिक नेपाली लघुकथाको प्रथम कृति पूर्णप्रसाद ब्राह्मणको ‘झिल्का’ ( २००७) हो । त्यसपछि २००८ सालमा ब्राम्हणकै ‘म लोग्ने हुँ’ तथा जयनारायण गिरीको ‘कसिंगर’ नामक संग्रह प्रकाशित भएको पाइन्छ।  

हाम्रो देशमा विधागत रूपमा लघुकथा स्थापित भइसकेको छ । लघुकथाले अनेकन् विषयवस्तु अवलम्बन गरेको पाइन्छ । लघुकथाले विशेषतः समसामयिक विसंगतीप्रति विद्रोह बोले पनि अन्य विषयहरु आध्यात्मिक, ऐतिहासिक, पौराणिक, राजनीतिक,  मनोवैज्ञानिक, धार्मिक, दार्शनिक, विज्ञान जस्ता विविध विषयमा लघुकथा लेखिएको छ।

पढ्नेबित्तिकै मन छोइहाल्ने भएकाले लघुकथाले दुरगामी प्रभाव पार्छ । लघुकथालाई  मिडियाले पनि स्पेस दिन थालेका छन् । पाठकहरू राम्रा लेखकका पुस्तक खोजी खोजी पढ्छन्।  

नेपाली साहित्यमा अभिलेखित हुनु, प्रज्ञाप्रतिष्ठानले गोष्ठी गर्नु, पुस्तक र विशेषाङ्क प्रकाशित गर्नु, त्रिभुवन विश्वविद्यालयबाट पिएचडी प्रदान गर्नु, पाठ्यक्रममा पर्नु, दश वर्षदेखि लघुकथा समाजको सरकारी मान्यता र यसले गर्दै आएका कार्यक्रम र पुरस्कारहरुले नेपाली समाजमा लघुकथाको स्थान निर्धारण गरेको देखिन्छ।

समाजका अध्यक्ष श्रेष्ठका अनुसार नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले ०५३ सालमा धुलावारीमा गरेको गोष्ठीपछि नै लघुकथामा चासो र चिन्ता बढ्न थालेको हो । धुलाबारीको कार्यक्रम लगत्तैदेखि समाजले लघुकथा उन्नयनका लागि उल्लेख्य काम गर्दै आएको छ।

समाजले लघुकथालाई सैैद्धान्तिक रूपले व्याख्या गर्ने, सिद्धान्तको पुस्तक, लघुकथा सङ्ग्रहको प्रकाशन, लघुकथामै केन्द्रित भएर पत्रिका निकाल्ने, पुरस्कार/सम्मानको व्यवस्था गर्ने, लघुकथासम्बन्धी गोष्ठी, अन्तरक्रिया, प्रशिक्षण र प्रतियोगिता जस्ता कार्यक्रम गर्दै आएको छ।

नेपालीमा  लघुकथाबारे परिचर्चाको ढोका खोल्ने काम २०५३  को लघुकथा गोष्ठीमा राजेन्द्र सुवेदीले  प्रस्तुत गरेको कार्यपत्रले गरेको मानिन्छ । त्यसपछि मोहनराज शर्मा, दयाराम  श्रेष्ठजस्ता  विद्धानहरुले  सैद्धान्तिक र विकासक्रम जस्ता विषयमा कलम चलाएका छन् । गोपाल अश्क र कुमार कोइरालाले पनि कलम चलाए भने लघुकथा समाजले लक्ष्मणप्रसाद गौतमको ‘लघुकथाको रचनाविधान’ जस्तो सैद्धान्तिक पुस्तक प्रकाशन गरेको छ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर, एमफिल र पिएचडी समेत भएका छन् । लघुकथामा पिएचडी गर्ने पुष्करराज भट्ट हुन् । त्रिविको पाठ्यक्रममा समेत लघुकथाले स्थान पाएको छ । आज लघुकथाको फुटकर समीक्षा र समालोचना प्रशस्त भइरहेका छन् । अब लघुकथाको विशिष्टीकृत अध्ययन हुनु आवश्यक छ।

लघुकथा लोकप्रिय विधा बनिसकेको गौतम बताउँछन् । खास गरेर ६० को दशकसँगै लघुकथाको तीव्र विकास र विस्तार भएको हो । २००७ सालदेखि लघुकथा लेखन प्रारम्भ भएपछि  ४० को दशकसम्म  यसको विकास गति अत्यन्तै मन्द थियो भने ५० को दशकदेखि बढेको देखिन्छ । ०५३ को लघुकथा गोष्ठी र ०५६ मा ‘मधुपर्क’ को विशेषांक प्रकाशन यसको मध्यवर्ती समयका उपलब्धी हुन्।

लघुकथासम्बन्धी गोजी पत्रिका र हवाईपत्रिकाहरूको योगदान पनि बिर्सनु हुँदैन । लघुकथा समाज स्थापना भएपछिको अबधिलाई लघुकथाको स्वर्णकाल भन्न सकिन्छ । ‘लघुकथा कुनो’ जस्तो साइबर संजालले पनि यसको प्रवद्र्घनमा टेवा पु-याएका छन्।

लघुकथा लेख्न जति गाह्रो छ त्यसले उत्तिकै आनन्द दिन्छ । व्यस्त युगमा लघुकथा लोकप्रिय हुनुलाई स्वाभाविकै मान्नु पर्छ । भुल्नु नहुने कुरा के हो भने, तीन सय शब्द भित्रमा लघुकथा लेख्न सकिन्छ । तर, केही सम्पादकले ४ सय शब्दमा लेखिएका जस्तो सुकै कथालाई पनि लघुकथा भन्दै छापेर लघुकथा विधाको नै अपमान गरेका छन् ।
आकस्मिक उठान र चोटिलो समापन भएको स्वयंमा पूर्ण साहित्यिक विधा नै लघुकथा हो । यही ढंगका सिर्जना आउनु पर्छ । हामीलाई संख्यात्मक होइन, गुणात्मक लेखन जरुरी छ । अब कथाकारले गुणात्मकतामा फड्को मार्नु पर्छ।

प्रकाशित: २० आश्विन २०७५ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App