coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री बास्कोटाको अभिव्यक्ति आपत्तिजनक : महासंघ

काठमाडौं – नेपाल पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार संसद्को विकास तथा प्रविधि समितिमा दिएको अभिव्यक्तिको विरोध गरेको छ। मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सञ्चारकर्मीविरुद्ध जथाभावी आक्षेप लगाउनु खेदको विषय भएको महासंघले जनाएको छ।

महासंघद्वारा शुक्रबार जारी विज्ञप्तिमा मन्त्री बास्कोटाले अभद्र ढंगले प्रस्तुत भई आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक भएको उल्लेख छ। ‘मन्त्री बाँस्कोटाले पत्रकारलाई दसैं आएको छ, खर्च पुगेन भने लिन आउनू भनी दिएको अभिव्यक्तिले आमपत्रकारको अपमान भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जिम्मेवार मन्त्रीबाट यस किसिमको अभिव्यक्ति आएकोमा महासंघ कडा शब्दमा भत्र्सना गर्छ।’ समिति बैठकमा मन्त्री बास्कोटाले सञ्चारमाध्यमले आफूमाथि भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै थपेका थिए, ‘दसै आएको छ, पुगेन भने लिन आउँदा हुन्छ, दिन्छु।’

मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सञ्चारकर्मीविरुद्ध जथाभावी आक्षेप लगाउनु खेदको विषय भएको नेपाल पत्रकार महासंघले जनाएको छ।

संसद्को विकास समितिले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दीगम्बर झालाई नियुक्तिलगायतका गतिविधिबारे छलफल गर्न बास्कोटालाई बैठकमा बोलाएको थियो । बैठकमा उनी सञ्चार माध्यममाथि त खनिए नै, संसदीय परम्परा र अभ्यासविपरीत समितिको निर्णय प्रक्रियामा समेत हस्तक्षेप गर्न भ्याए। पत्रकारितमा स्नातक गरेको र त्यही क्षेत्रबाट आएको भन्दै आफू कुनै पनि समाचारबाट प्रभावित नहुने उनको अभिव्यक्ति थियो।

यसैगरी महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सूचना, सन्देश र विज्ञापन प्रकाशन प्रसारणका लागि सरकारी सञ्चारमाध्यमलाई प्राथमिकतामा राख्न सबै मन्त्रालय, तिनका निकाय र संवैधानिक निकायलाई दिएको निर्देशनप्रति पनि आपत्ति जनाएको छ। मन्त्रालयले दुई दिनअघि सरकारी सञ्चारमाध्यमलाई प्राथमिकतामा राखेर आफ्ना विज्ञापन दिन सबै मन्त्रालयमा पत्राचार गरेको थियो। ‘सरकारी विज्ञापनमा सबै सञ्चारमाध्यमको समान पहुँचका लागि समानुपातिक विज्ञापन वितरण प्रक्रिया अघि बढिरहेका बेला यस्तो किसिमको पत्राचार हुनु उचित नभएको महासंघको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो व्यवहारले नियन्त्रित सूचना प्रवाह हुने खतरा रहने र त्यसले प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने महासंघको ठहर छ।’

महासंघले सिंगो प्रेसजगत्प्रति आक्षेप लगाउने कार्य र अपमानजनक व्यवहार बन्द गर्न तथा सबै सञ्चारमाध्यमप्रति समान व्यवहार देखाउन आग्रह गरेको छ।

प्रकाशित: २० आश्विन २०७५ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App