७ वैशाख २०८१ शुक्रबार
राजनीति

पप्पु कन्स्ट्रक्सन विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनविरुद्ध विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ। अख्तियारले पप्पुका अध्यक्ष सुमित रौनियार र तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार विरुद्ध मुद्दा दायर गरेको हो।

पप्पु कन्स्ट्रक्सनले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोगलगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर गरिएको हो।

हरिनायारण र सुमित बुवा–छोरा हुन्। अख्तियारले हरिनायारण विरुद्ध १९ करोड ३२ लाख २५ हजार रुपैयाँ र छोरा सूमित विरुद्ध पनि सोहि रकमबरावरको  विगो मागदावीसहित मुद्धा दायर गरेको अख्तियार दुरूपयाेग अनुसन्धा अायाेगले जनाएकाे छ।

पप्पुले जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो।

डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सनबीच पुल निर्माणका लागि ६८ असार २२गते सम्झौता भएपछि बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणको थालनी भएकाे थियो।

अख्तियारका अनुसार प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा पियर हाईटको सम्बन्धमा गम्भीर लापरवाही भएको पाइएको छ। यस्तो त्रुटिसमेत नसच्याई त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको,फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको भन्दै सडक विभागका अधिकारीलाई पनि कारावाहीको दायरमा तानेको हो।

अख्तियारले डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालीन डिभिजन प्रमुख भानु जोशीसहित ३ जना विरुद्ध पनि मुद्दा दायर गरेको छ। 

जोशीसँग १ करोड ९७ लाख, १३ हजार ४ सय ३७, श्रेष्ठसँग ९ करोड २४ लाख २४ हजार ९९, यादवसँग ३ करोड १४ लाख १८ हजार ९ सय ७ र एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर यादवसँग १ लाख ४१ हजार २ सय ५० रुपैयाँ विगो माग गरिएको छ।

निर्माण सामाग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिस गरेको अभियोग अख्तियारले लगाएको छ। डिजाईनबमोजिम निर्माण नगरेको कारणले नै  लोड लिन नसकी पुल भास्सिएको तथ्य प्रविधिक परीक्षण तथा विश्लेषणबाटसमेत पुष्टी हुन आएको अख्तियारले जनाएको छ।गत वर्ष प्रतिनिधिसभाको निर्वाचनमा पर्साबाट निर्वाचित हुनुअघिसम्म हरिनारायण पप्पु कन्सट्रक्सनको अध्यक्ष थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोप पत्र यसप्रकार छ।

प्रेस विज्ञप्ति: मिति २०७५।६।१९ गते ।
--------------------------------------------
आरोप-पत्र दायर गरिएको
-----------------------------
पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र ( ठेक्का नं.MW/DRO-3/BRP-73-067/068) उद्घाटन नहुँदै भत्किएको बन्ने समेतको व्यहोराको उजुरी निवेदनका सम्बन्धमा आयोगबाट अनुसन्धान हुँदा डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सन,पोखरिया-७ बीच पुल निर्माणका लागि मिति २०६८।०३।२२ गते सम्झौता भएपछि बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा Pier Height को सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको,फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको, Specifications को Clause ११२ बमोजिम नभएको, Specifications को Clause १०४ बमोजिम निर्माण व्यवसायीबाट Quality Assurance Plan(QAP) पेश गर्न लगाई स्वीकृत गरी निर्माण सामाग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिस गरेको, Pile हरुको Depth डिजाईन बमोजिम नभएको वा डिजाईन बमोजिम निर्माण नगरेको तथा निर्माण भएको Pile हरुमा समेत Cavities भएको कारणले नै pile ले लोड लिन नसकी पुल भास्सिएको तथ्य प्रविधिक परीक्षण तथा विश्लेषणबाट समेत पुष्टी हुन आयो ।

अत: निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा Pier Height को सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको देखिँदा उक्त कार्यमा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीहरुको मिलेमतो भएको पुष्टी हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहाय बमोजिमका १२ जना ब्यक्तिहरू उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिइ आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

मदन कोइराला
उपसचिव एवं सहायक प्रवक्ता

 

प्रकाशित: १९ आश्विन २०७५ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App