coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘दुर्व्यवहारमा चुप नबसौँ, अपराधीलाई मौका नदिऔँ’

महिला हिंसा र बलात्कार न्यूनिकरण गर्ने उपाय बारे बताउँदै डिएसपी राजकुमार केसी।     तस्बिर : दमन/नागरिक

खोटाङ – ‘जब तपाईमाथि जस्तोसुकै दुर्व्यवहार हुन्छ, तपाईले आवाज उठाइ हाल्नुपर्छ। प्रतिकार गर्नुपर्छ,’ जिल्ला प्रहरी कार्यालय खोटाङकी प्रहरी सहायक निरीक्षक सिता पछाईले भनिन्, ‘गुपचुप बस्नु भयो भने यीनले केही गर्दैन रहेछ भनेर अपराधिक मानसिकता भएका व्यक्तीको मनोबल झन् बढ्छ र बलात्कार र हत्यासम्म गर्न सक्छ।’

बढ्दो महिला बलात्कार र हिंसा न्यूनिकरणका लागि शुक्रबार खोटाङको दिक्तेलस्थित सरस्वती माविमा आयोजित सचेतनामुलक कार्यक्रममा प्रहरी सहायक निरीक्षक पछाईले हिंसा, यौन दुव्र्यवहार र बलात्कारबाट जोगिने उपायबारे बताइरहँदा उपस्थित कक्षा ११ र १२ का छात्र–छात्रा ध्यानपूर्वक सुनिरहेका थिए। महिला हिंसा, बलात्कार, एसिड आक्रमण र हत्याका घट्ना दिनानुदिन बढिरहेकाबेला जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायीक विकास सेवा केन्द्रले ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तर्गत टिनएज छात्र–छात्रालाई लक्षित गरेर सचेतनामुलक कार्यक्रम गरेको हो।

सरस्वती माविको प्रांगणमा सेटो सर्ट, कालो पाइन्ट, कालै जुत्ता र टाई लगाएर गोलो आकारमा बसेका छात्र–छात्राकाबीचमा प्रहरी सहायक निरीक्षक पछाइले हरेक ठाउँमा महिलामाथि हिंसा भइरहेको भएपनि सार्वजनिक हुन नसकेको बताइन्। ‘तपाईमाथि घरैमा पनि दुर्व्यवहार भइरहेको हुनसक्छ, विद्यालयमा भइरहेको हुनसक्छ, मात्र सतहमा नआएको हुनसक्छ,’ पछाईले भनिन्, ‘आफुमाथि दुर्व्यवहार भयो भनेर भन्न सक्नुपर्छ। तब मात्र अपराधीको मनोवल गिराउन सकिन्छ। हिंसाको सिकार हुनबाट बच्न सकिन्छ।’ उनले अपराधिक मानसिकता भएका पुरुषलाई ‘आफ्नो पनि घरमा दिदी बहिनी छ, सबै महिला आफ्नै घरका चेली सरह हुन्’ भन्ने चेतको आवश्यकता औंल्याइन्। 

खोटाङमा समेत महिला हिंसा, दुर्व्यवहार र बलात्कारको घट्ना बढ्दो पाइएपछि कक्षा ११ र १२ का विद्यार्थीलाई सहभागी गराएर सचेतनामुलक कार्यक्रम राखिएको हो। कार्यक्रममा यौन दुव्र्यवहार, महिला हिंसा, लागु औषध, शान्ति सुरक्षा, साइबर क्राइम, कानूनी प्रावधान, सजाय व्यवस्था, ट्राफिक नियम लगायतका बारेमा चर्चा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले ‘अपराधीलाई अपराध गर्ने मौका नदिन’ छात्र–छात्रालाई सचेत गराए। ‘हरेक अपराधीले अपराध गर्ने अवसर र समय खोजिरहेको हुन्छ। एकान्त ठाउँमा एक्लै बोलाउन सक्छ, बास बसौं भन्न सक्छ। त्यो अवसर अपराधीलाई दिनु हुँदैन,’ डिएसपी केसीले भने, ‘कसैले यौनको आसयले बोलाउने, छुने, मेसेज पठाउने गरेमा सहेर बस्नु उचित हुँदैन। सहेर बस्यौँ भने अपराधी उत्साहित भएर दुर्घटना निम्तिन सक्ने हुन्छ।’ डिएसपी केसीले कतिपय बलात्कार र हत्याका घट्ना फेसबुकबाट सुरु भएको सम्बन्धका कारण निम्तिएको पाइएकाले जथाभाबी फेसबुक नचलाउन आग्रह गरे।

बालिकादेखि वृद्धासम्म चिनजानकै मान्छेबाट बढि मात्रामा हिंसामा पर्ने गरेको र सार्वजनिक हुँदा आफ्नो परिचयन खुल्ने भएकाले हत्यासम्म गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। महिला हिंसा विरुद्धको सचेतनामुलक अभियान अन्य विद्यालयमा पनि पुर्याइने सामुदायीक विकास सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले बताए। 

प्रकाशित: १९ आश्विन २०७५ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App