coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लैंगिक हिंसाको मारमा महिला : दुई महिनामा ८९ घटना

निर्मला पन्तका हत्यारालार्इ कारबाही माग राख्दै बिहीबार राजधानीमा निकालिएकाे जुलुस। तस्बिर : नागरिक

बुटवल - दाइजो नल्याएको निहुँमा भदौ ३० मा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ कि एक महिलालाई सासू, सासुरा र पतिले तातो पन्यूले डामे। तिघ्रामा तातो पन्यूले डामिएकी अमरावती तेली केही दिन चोट सहेरै बसिन्। घाउ पाक्न थालेपछि बल्ल उनले उपचारका लागि माइतीको सहयोग मागिन् । घटना भएको एक सातापछि मात्र उनले प्रहरीमा उजुरी दिइन्। अहिले अमरावतीका ससुरा र पति प्रहरी हिरासतमा छन् । सासू भने फरार छिन्। अमरावती उपचार पछि घर फर्किएकी छिन्। दाइजोमा साइकल नल्याएको भन्दै आफूलाई सासू, ससुरा र पतिले बारम्बार कुटपिट गरेको उनले बताएकी छिन्।

सो घटनाको १२ दिनपछि अर्थात् असोज १० मा सोही नगरपालिकाको वडा नम्बर ४ महुबारीमा एक महिलाको शंकास्पद मृत्यु भयो। शरीरमा आगोले पोलेको अवस्थामा २३ वर्षीया तारा बरई घरभित्रै मृत भेटिइन्। गाउँलेले शंकास्पद मृत्यु भन्दै त्यसको खबर उनका माइती पक्षलाई गराए। घटना प्रहरीकहाँ पुग्यो। परिवारका सदस्यले मिलेमतोमा ताराको हत्या गरेको आरोप उनका आमाबाबुले लगाएका छन्। सासू, ससुरा, जेठाजु र जेठानी मिलेर ताराको हत्या गरेको आमा राजमती बरईको आरोप छ।

‘शरीरमा आगो लगाएको मानिस तापले छट्पटिन्छ, दौडिन्छ, कराउँछ तर भान्जी (तारा) को शव भएको कोठामा उसै दिन हामी पुग्दा न धुवाँको गन्ध थियो न अन्य सामान जलेका थिए’, ताराका मामा बाबुराम बरईले भने, ‘तारा मृत भेटिएको कोठा निकै साँँघुरो थियो र त्यहाँ यत्रतत्र सामान छरिएका थिए । खाटमा लगाइएको झुलको बीच भाग जलेर प्वाल परे पनि पूरै डढेको थिएन। खाट, ओछ्यान र शव नजिकै झयालमा झुन्ड्याइएको फरिया पनि जलेको थिएन ।’ तर सासूससुराले भने बुहारी ताराले घरमा कोही नभएका बेला आफैं शरीमा आगो लगाएर आत्महत्या गरेको जाहेर प्रहरीमा दिएका छन् । यो घटनासँगै अढाई वर्षका बालक र तीनमहिने बालिकाको आमाको काख खोसिएको छ।

यस घटनामा प्रहरीले सुरुदेखि निष्पक्ष छानबिन नगरेको माइती पक्षको गुनासो छ। वडाका जनप्रतिनिधिकै संलग्नतामा घटनालाइ आत्महत्या देखाउन खोजिएको केही गाउँले र ताराका माइती पक्षको आरोप छ। इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले भने घटना शंकास्पद देखिएकाले छानबिन भइरहेको बताए ।

लुम्बिनीकै छिमेकी गाउँपालिका कोटहीमाईमा असोज १० गते नै १६ वर्षकी किशोरी छिमेकीबाटै बलात्कृत भइन्। साँझपख घरबाहिरको शौचालय जान लागेकी ती किशोरीले आफूलाई छिमेकी सागर सहानीले मुख थुनेर लतार्दै खेतमा पु-याएर बलात्कार गरेको बयान प्रहरीलाई दिएकी छिन। आरोपित सहानी फरार छन्।

रुपन्देहीमा पछिल्लो समय भएका लैंगिक हिंसा र बलात्कारका प्रतिनिधिमूलक घटना हुन् यी। जिल्लाका दक्षिणी मर्चवार, लुम्बिनी, धकधहीजस्ता क्षेत्रमा लैगिक हिंसा, हत्या, बलात्कार, कुटपिट जस्ता घटनाका शृंखला बढ्दै गएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार साउन र भदौमा मात्रै जिल्लामा महिला हिंसासम्बन्धी ८९ वटा घटना बाहिर आएका छन्। कार्यालयको तथ्यांक अनुसार यस अवधिमा एक महिलाको हत्या, ८ जना बलात्कृत, ४ जनामाथि बलात्कार प्रयास र ७६ महिलामाथि घरेलु हिंसा भएको छ। त्यस्तै १२६ महिलालाई नेपाल–भारत सीमानाकाबाट उद्धार गरिएको छ।

जिल्लामा हिंसामा पर्नेमध्ये झन्डै ७० प्रतिशतजति पिछडिएका गाउँबस्तीका गरिब महिला तथा बालिका रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका महिला सेल इन्चार्ज मीना आर्चायले बताइन्। उनका अनुसार अधिकांश हिंसाका घटनामा परिवारका सदस्य तथा आफन्त जोडिएका छन्। तराईमा छोरी–बुहारीलाई दोस्रो दर्जाको नागरिकका रुपमा लिने परम्परागत चलनले हिंसालाई प्रश्रय दिएको बताउँछन् इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरीनिरीक्षक पोखरेल। ‘हिंसा न्यूनीकरणका लागि गरिने कार्यक्रममा तराई समुदायका पाको उमेरका महिलाबाहेक न पुरुष आउँछन न छोरी–बुहारी’, पोखरेलले भने। सहरबजारमा महिला अधिकारका जतिसुकै ठूला कुरा गरे पनि गाँउतहसम्म चेतना पुग्न नसकेकै कारण लैंगिक हिंसाका घटना नरोकिएको पोखरेको बुझाइ छ।

समाजमा महिला–पुरुषबीच सहअस्तित्व भावना विकास हुन नसक्दा छोरी–बुहारीलाई दोस्रो दर्जाकै रुपमा लिने प्रचलनले लैंगिक हिंसालाई बढावा दिएको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का प्रमुख पवनकुमार भट्टले बताए। ‘लैंगिक तथा सबै प्रकारका हिंसा न्यूनीकरण गर्दै लैजान महिला पुरुष दुबैलाई समेटने खालका चेतनामूलक कार्यक्रम गाँउतहबाट गर्नु जरुरी छ’, उनले भने। प्रदेश सांसद रमा अर्यालका अनुसार हिंसा दण्डनीय कार्य हो भन्ने सन्देश गाउँबस्तीमा पुग्न नसक्नु लैंगिक हिंसाको मुख्य कारण हो। ‘हिंसा दण्डनीय छ भन्ने सन्देश गाउँबस्तीमा पु-याउनुपर्छ र हिंसामा गर्नेलाई कडा कारबाही गरिनुपर्छ। पीडकले कसुरअनुसार साजाय नपाए हिंसा गर्नेहरुको मनोबल बढ्छ र यस्ता घटना घट्नुको साटो बढ्छन्।’

प्रकाशित: १९ आश्विन २०७५ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App