८ वैशाख २०८१ शनिबार
राजनीति

पत्रिका जलाएकोमा सांसद आक्रोशित

धनगढी - नागरिक दैनिकलगायतका पत्रिका कब्जामा लिएर जलाएको विषयमा सुदूरपश्चिम प्रदेशसभा बैठकमा बिहीबार सांसदले विरोध गरेका छन्। विरोध गर्नेमा विपक्षका साथै सत्तापक्षका सांसद पनि छन्। यसअघि बुधबारको बैठकमा पनि सांसदले विरोध गरेका थिए। बुधबार बिहान ६ बजेतिर वनमाफिया र भूमाफियाले पठाएका पाँचजनाले कैलालीको अत्तरिया चोकमा वितरणका लागि लगिँदै गरेका बेला नागरिक दैनिक, कान्तिपुर, अन्नपूर्ण पोस्ट र काठमाडौं पोस्ट पत्रिका कब्जामा लिई पेट्रोल छर्केर जलाएका थिए। पत्रिका जलाएपछि सुदूरपश्चिम प्रदेशका सर्वसाधारण, विद्यार्थी, शिक्षक, प्राध्यापक, व्यवसायी, राजनीतिक दलका नेता कार्यकर्तालगायतले व्यापक विरोध गरिरहेका छन्।

प्रदेशसभाको बिहीबारको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रमा आक्रमण गरेर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खाजेको बताए। ‘नागरिकलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका खेलिरहेका नागरिक दैनिकलगायतका पत्रिका जलाउने काम भएको छ, यो भन्दा निकृष्ट काम के हुन सक्छ’, उनले भने, ‘पत्रिका जलाएर संविधानले प्रदत्त गरेको जनताको सुसूचित हुने अधिकार कुण्ठित गर्न खोजिएको छ। पत्रकारलाई लेख्न अंकुश लगाउने, फरक मत राख्न नपाउने, लोकतन्त्रमा यो कस्तो पद्धति बसाल्न खोजेको?’

यसैगरी नेकपाका मुख्य सचेतक तारा लामा तामाङले पनि घटनाको विरोध गरे। ‘फरक मत हुन सक्छन्, फरक विचार राखेका कारण पत्रिका जलाउने कुरा गलत हो’, उनले भने, ‘पत्रिका जलाएको घटनाले दुःख लागेको छ।’ नेकपाकी पूर्णा जोशीले भनिन्, ‘विचार जलाएर जलाउन सकिँदैन। पत्रिका जलाउने कुरा गलत हो’, उनले भनिन्। प्रदेश सरकारका सामाजिक मन्त्री दीर्घ सोडारीले पत्रिका जलाएको घटना गलत भएको बताए । ‘पत्रिका जलाउने घटनाप्रति प्रदेश सरकार दुःख व्यक्त गर्छ’, उनले भने।

पत्रिका जलाउनेलाई संरक्षण
पत्रिका जलाउने पाँचजनाको पहिचान भइसके पनि उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। राजनीतिक नेताको दबाबका कारण प्रहरीले पक्राउ नगरेको बुझिएको छ। कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले पत्रिका जलाउनेको पहिचान भइसकेको बताए तर तिनको नाम बताउन भने मानेनन्। उनले पत्रिका जलाउनेलाई पक्राउ गरिछाड्ने दाबी गरेका छन् । तर पत्रिका जलाउनेमध्येका दुईजना बिहीबार बिहान आफैं जिल्ला प्रहरी कार्यालय परिसर पुगेर फर्किए, प्रहरीले समातेन । उनीहरु केही मिनेटपछि निर्बाध बाहिरिएका थिए। पत्रिका जलाएकोमा क्षमायाचना गर्ने भनेर केही नेताको अगुवाइमा उनीहरु प्रहरी कार्यालय पुगे पनि प्रहरी उपरिक्षक घिमिरे नभएपछि फर्केका हुन्। स्रोतका अनुसार सत्तामा रहेका कुनै नेताको संरक्षणका कारण उनीहरुलाई प्रहरीले पक्राउ गरेको छैन।

वनमाफिया र भूमाफियाको योजनामा पत्रिका जलाइयो
तेघरी जंगलमा राजधानी बनाउँदा जैविक मार्ग अवरुद्ध हुने, चुरे विनाश हुने र पानीको भण्डारण रहेको भावरक्षेत्र जोखिममा पर्ने समाचार प्रकाशित भएपछि वनमाफिया र भूमाफियाको योजनामा पत्रिका जलाइएको खुलेको छ। सोमबार साँझ अत्तरियाको कुनै स्थानमा बसेर उनीहरुले पत्रिका जलाउने योजना बनाई पाँचजनालाई जिम्मा दिएको स्रोतले बतायो । जलाइएका पत्रिका सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा वितरणका लागि लगिँदै थियो। कैलाली बार एसोसिएनसनका पूर्वअध्यक्ष गंगाराम पाध्यायले पत्रिका लुटेर जलाउनु अपराध भएको र यस्तो कार्य गर्नेलाई कानुनी कारबाही हुनुपर्ने बताए।

राजधानीका नाममा वन फडानी गरेर र जमिनको दलाली गरेर अर्बौं रकम कमाउने माफियाको चलखेलले नै जंगलमा राजधानी सारिएको र सत्य कुरा पत्रिकाले लेखेपछि अत्तालिएर जलाउने काम गरिएको नागरिक समाजका हरि रेग्मीले बताए। ‘भूमाफिया र वनमाफियाले नै पत्रिका जलाउन लगाएका हुन्। यिनीहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ’, उनले भने।

यसैबीच प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले मन्त्रालयमै नागरिक दैनिकका संवाददातालाई बोलाएर पत्रिका जलाएको घटनाको भत्र्सना गरेका छन्। ‘पत्रिका जलाउने घटनाको घोर भत्र्सना गर्छु’, उनले भने। नागरिक दैनिक पत्रिकाले समाजका मुद्दा उठाएर ठूलो योगदान गरेको उल्लेख गर्र्दै उनले भने, ‘प्रदेश सरकार मिडिया र पत्रकारको सुरक्षाको ग्यारेन्टीका लागी प्रतिबद्ध छ’, उनले भने, ‘प्रदेश सरकारका तर्फबाट मिडिया र पत्रकारको सुरक्षाका लागि सुरक्षा निकायलाई निर्देशन दिइनेछ।’

प्रकाशित: १९ आश्विन २०७५ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App