७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाली नेतामा चीन मोह किन

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार चीन भ्रमणबाट फर्किएका छन्। नेता नेपाल चीनको हुवेइ प्रान्तमा थ्री गर्जेज विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका थिए। नेता नेपालले चीनको भ्रमण गर्नु पहिले नेकपाकै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा भदौ ३० गते चीनतर्फ लागेका थिए। दाहालले चीन भ्रमण गरिरहेकै बेला उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका प्रवक्ता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री लालबाबु पण्डित, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही तथा नेकपाका केन्द्रीयस्तरका नेता तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, शेखर कोइरालासहितका नेताहरू चीन भ्रमणमा थिए।

भदौ २२ गते सभामुख कृष्णबहादुर महरासहितको १० सदस्यीय प्रतिनिधिमण्डल चीन स्वशासित तिब्बतको भ्रमण गरेर भदौ २७ गते काठमाडौं फर्किएका थिए। गत असार ५ गते प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डलका सदस्य तथा केन्द्रीय स्तरका नेताहरूसहित चीन भ्रमण गरेका थिए। उनको भ्रमणमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मन्त्रीहरू वर्षमान पुन, रघुवीर महासेठलगायत सांसद तथा उच्च सरकारी अधिकारीहरू भ्रमणमा सहभागी थिए।

पछिल्लो समय नेपालमा कम्युनिस्ट सरकार गठन हुनु र नेपालका कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचमा बढी सम्पर्क हुुन थालेपछि नेपालमा चिनियाँ प्रभाव थप वृद्धि भएको उनको तर्क छ।

ई ठूला पार्टी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकाबीचमा एकता भइरहँदा जेठ पहिलो साता नेकपाका नेता एवं सचिवालय सदस्य झलनाथ खनाल चीन भ्रमणमै थिए। आफू चीनमा रहेका बेला आफ्नो घटुवा हुनेगरी जिम्मेवारी तोकिएको भन्दै खनाल अहिले पनि असन्तुष्ट हुने गरेका छन्।

हालै मात्र पनि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पाँच दिने चीन भ्रमण गरेर स्वदेश फर्किएका छन्। अहिले पनि विभिन्न पार्टीका नेता कार्यकर्ता देखि सरकारी उच्च अधिकारीहरूको चीन जाने आउने क्रम चलिरहेको छ।

कुटनीतिक क्षेत्रका जानकारहरू पछिल्लो समय नेपालको उच्च तहको राजनीतिक चीन तर्फ बढ्नुका पछाडि नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्नु मुख्य कारण बताउँछन्। केही वर्ष पहिलेसम्म नेपालको राजनीतिमा ‘किङ मेकर’को भूमिकामा भारत रहेपछि अहिले त्यो भूमिका चीनले लिन थालेको जानकारहरू बताउँछन्।

नेपालका राजनीतिक दलका नेताहरूको भ्रमण चीन केन्द्रीत हुनुको कारण शक्ति चीनफ्ठ हुनु एउटा कारण रहेको कुटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। ‘अहिले नेपालको राजनीतिक पावर चीनतर्फ सिफ्ट भएको छ, त्यसको प्रभाव राजनीतिक दलका नेताहरूमा देखिन थालेको छ,’ नाम नबताउने सर्तमा एक पूर्वमन्त्रीसमेत रहेका कुटनीतिक क्षेत्रका जानकारले भने। पहिले सत्तामा पुग्ने भ-याङ दक्षिणमा रहेकोमा अहिले त्यो भ-याङ उत्तरतर्फ सिफ्ट भएको उनको भनाइ छ। पछिल्लो समय नेपालमा कम्युनिस्ट सरकार गठन हुनु र नेपालका कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचमा बढी सम्पर्क हुुन थालेपछि नेपालमा चिनियाँ प्रभाव थप वृद्धि भएको उनको तर्क छ।

पराराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकाल भने पछिल्लो समय नेपाल र चीनबीचको सम्बन्ध थप सुमधुर हुँदै गएको र दुई मुलुकका बीचमा विभिन्न सहमति र सम्झौताहरू समेत भइरहेकाले दुई मुलुककाबीचमा भ्रमण आदान प्रदान हुनु स्वभाविक बताउँछन्। ढकाल नेपालबाट मात्र नभएर चीनबाट पनि उच्चस्तरीय भ्रमणहरू भइरहेको बताउँछन्। ‘चीनबाट पनि मन्त्रिस्तरीय र विज्ञहरूको भ्रमण भइरहेको छ,’ ढकालले भने। सम्बन्धमा सुधार र दुई मुलुककाबीचमा भएका सहमति र सम्झौताको कार्यान्वयनका लागि पनि भ्रमणहरू आदान प्रदान भइरहेको ढकाल बताउँछन्।

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष दाहालले भारतमा उच्चस्तरीय सम्मान र भेट गरे लगत्तै भदौ अन्तिम साता चीन भ्रमण गरेका थिए। दाहालको भ्रमणलाई चीनले खासै महत्व नदिएको चर्चा पनि चल्यो। परराष्ट्र मामिलाका जानकारहरू भने चीनले दाहालको भ्रमणलाई महत्व नदिनुका पछाडि चीन नेपालमा भारतीय कार्ड रुचाउँदैन भन्ने संकेतका रूपमा बुझ्नु पर्ने बताउँछन्। पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग सम्बन्ध राम्रो बनाएका भनिएका केपी ओलीको सरकारलाई दाहालले भारतीय स्वार्थ अनुकूल नौ महिनामा ढालेको आरोप लाग्ने गरेको छ। दाहालको पछिल्लो भ्रमणलाई पनि भारतले उच्च महत्व दिएकाले चीनले कम महत्व दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

नेपालबाट चीनमा हुने उच्चस्तरीय भ्रमण पहिले सरकार–सरकारकाबीचमा मात्र हुने गरेकामा पछिल्लो पटक पार्टी–पार्टीहरूको बीचमा पनि भ्रमण हुन थालेको छ। पछिल्लो पटक हुने अधिकांश उच्चस्तरीय भ्रमण चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुने गरेका छन्।

प्रधानमन्त्री ओलीले पछिल्लो चीन भ्रमणमा आफै चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्तालाई सम्बोधन गरेका थिए। यस्तो प्रचलन पहिले नरहेको कुटनीतिक क्षेत्रका जानकार बताउँछन्। यसले सरकारकाबीचमा मात्र नभएर पछिल्लो समय चीन र नेपालका कम्युनिस्ट पार्टीहरू बीचमा पनि सम्बन्ध विस्तार भएको पुष्टि हुने कुटनीतिक क्षेत्रका जानकारहरू बताउँछन् । पछिल्लो समय नेपालबाट चीनमा हुने ९० प्रतिशत भ्रमण कम्युनिस्ट नेता कार्यकर्ताहरूको हुने र १० प्रतिशत मात्र नेपाली कांग्रेस र अन्य दलका नेता कार्यकर्ता हुने गरेका छन्।

पुर्व परराष्ट्रमन्त्री एवं परराष्ट्र मामिलाका जानकार रमेशनाथ पाण्डे विकास उन्मुख देशका राजनीतिक नेता र कार्यकर्तालाई विदेश भ्रमणको मोह हुने बताउँछन्। ‘विदेश भ्रमणको मोहमा पर्दा मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध, संलग्नता र त्यसको परिणाममा पनि हेक्का राख्नुपर्छ,’ पाण्डेले भने।

नेपालमा परराष्ट्र नीति सरकारको नभएर नेता विशेष र समूह विशेषको हुने गरेकाले पछिल्लो समय नेपाल एक्लिँदै गएको पाण्डे बताउँछन्। ‘नेताहरूको आफू अनुकूलको परराष्ट्रनीतिका कारण पछिल्लो समय हामी एक्लिँदै गएका छौँ,’ पाण्डेले भने। ०७२ को महा–भूकम्पलगत्तै दसैं र तिहारको मुखमा भारतले नाकाबन्दी लगाउँदा एउटा पनि मित्रराष्ट्रले सहानुभूति नदिएको र यति हुँदासमेत नेपालको राजनीतिक नेतृत्वमा चेत नआएको बताउँछन्।

प्रकाशित: १९ आश्विन २०७५ ०१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App