५ वैशाख २०८१ बुधबार
अर्थ

एक डलर किन्न एक सय १८ रुपैयाँ

काठमाडौं - एक महिनायता अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ दैनिकजसो बढेका कारण एक अमेरिकी डलर खरिद गर्न एक सय १८ रुपैयाँ ०३ पैसा तिर्नुपर्ने भएको छ।

राष्ट्र बैंकले शुक्रबारका लागि एक डलरको बिक्री दर ११८.०३ रुपैयाँ तोकेको छ। अमेरिकी डलरसँग नेपाली रुपैयाँ मात्र नभएर संसारका लगभग सबै मुलुकका मुद्रा अवमूल्यन भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले चुनावका क्रममा अगाडि सारेको ‘मेक अमेरिका ग्रेट अगेन’ को नाराअनुसार कतिपय क्षेत्रमा सुधारका काम भएकाले विश्वभर अमेरिकी डलरको मूल्य बढेको हो।

अमेरिकाले आयातित सामानमा भन्सार थप गर्दा उसलाई दोहोरो फाइदा भएको छ । पहिलो, भन्सार थप भएपछि राजस्व बढेको छ। दोस्रो, बन्द रहेका स्वदेशी उद्योग फेरि सञ्चालनमा आउन थालेका छन् र रोजगारीका अवसर बढेका छन्। एक दशकयता अमेरिकामा बेरोजगारीको दर सबैभन्दा कम भएको छ। आर्थिक गतिविधि पनि बढेका कारण अर्थतन्त्र मजबुत बनेको छ। विभिन्न मुलुकमा गएका अमेरिकी लगानीकर्ता स्वदेश फर्कन थालेका छन्। विदेशी लगानीकर्ताले पनि अमेरिकामा लगानी गर्न थालेका छन्। यिनै कारणले अमेरिकी अर्थतन्त्र बलियो हुँदा डलरको भाउ संसारभर बढेको हो।

डलरको तुलनामा भारतीय मुद्रा पनि खस्केको छ। नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ। डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यहीअनुसार नेपाली मुद्राको अवमूल्यन गर्ने परम्परा छ। अर्थशास्त्रीहरूले आगामी दिनमा अझै अमेरिकी डलरको भाउ बढने बताउँदै आएका छन्। एक डलर बराबर एक सय २० रुपैयाँसम्म पुग्न सक्ने उनीहरूको आकलन छ।

प्रकाशित: १९ आश्विन २०७५ ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App