coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडकको कालोपत्रे साता दिनमै उक्कियो

पर्वत-सडक कालोपत्रे गरेको एक सातामै उक्किएको छ। दोबिल्लादेखि–फलेवास जाने सडक गत असारदेखि कालोपत्रे सुरु गरिएपनि एक साताअघि गरिएको कालोपत्रे उक्किएको हो। कच्ची सडक निर्माण सुरु भएको दुई दशकपछि सुरु भएको कालोपत्रे उक्किएपछि पछि स्थानीयले बिरोध गरेका छन्।

ठेकेदारको लापरबाही र सडक विभागको बेवास्ताले सडकको कालोपत्रे उक्किएको भन्दै स्थानीयले बिरोध गरेका हुन्। पछिल्लो साता कालोपत्रे गरिएको झण्डै एक सय मिटर सडक पुन कालोपत्रे गर्नुपर्ने अवस्थामा पुगेको छ । स्थानीयले मापदण्ड अनुसारको सामाग्री नराख्दा र सडक विभागका कर्मचारी ठेकेदारसँग मिलेमतो गर्दा कालोपत्रे एक साता पनि नटिकेको बताएका छन्।

‘कालोपत्रे गर्दा मापदण्ड अनुसारको सामाग्री नराखेकै कारण एक सातामै उक्किएको हो’ स्थानीय यमनारायण श्रेष्ठले भने–‘सडक विभागका छ/छ जना कर्मचारी बसेरै गरेको कालोपत्रे उक्किनु दुर्भाग्य हो।’ उनले ठेकेदार र सडक विभागका कर्मचारीलाई सुधार गर्न भन्दाभन्दै नमान्दा सडक पहिलेकै अवस्थामा पुगेको बताए।

बर्षाका क्रममा खोल्साको बाढीलाई एउटा ह्याम पाइपले धान्दैन कल्भर्ट हाल्ने सुझाब दिदा नमान्दा सडकमा थप क्षति भएको उनले गुनासो गरे। खोल्साको बाढीले ठाउँ ठाउँको सडक समेत बगाएको छ। ‘कल्भर्ट राख्न मानेको भए अहिले करोडौ रुपैयाँ नोक्सानी ब्यहोर्न पर्दैन्थ्यो’ उनले भने । उनले तीन इन्च कालोपत्रे गर्नुपर्ने भएपनि एकदेखि डेढ इन्चसम्म मात्रै कालोपत्रे गरिदा कमजोर भइ उक्किएको दाबी गरे।

यो कालोपत्रेका लागि लामा कन्ट्रक्सन प्रालिले एक हजार छ सय मिटर कालोपत्रे गर्नेगरी ठेक्का लिएको हो। तीन करोडमा ठेक्का आब्हान गरेपनि ठेकेदारले ३८ प्रतिशत छाडेर लिएको थियो। ठेकेदार कम्पनीले गुणस्तरमा बेइमान नभएको दाबी गरेको छ । ठेकेदार डिबि तामाङले सडक विभागका कर्मचारीकै निगरानीमा भएको कामलाई दोष दिन नमिल्ने बताए । उनले दशै अगाडी काम सम्पन्न गर्ने र भत्किएको सडकलाई समेत तत्काल मर्मत गर्ने जानकारी दिए।

‘सडक भत्केको मैले पनि जानकारी पाएँ, के भएको रहेछ मर्मत गर्नुपर्ने भए गर्छौ’ उनले भने । उनले कालोपत्रेको गुणस्तरमा कमी नभएपनि खोल्साको बाढीले असर पुर्‍याएको बताए।

यता सडक डिभिजन कार्यालय बागलुङका प्रमुख राजेश पौडेलले ठेकेदारलाई कामका लागि जिम्मा दिएकाले कालोपत्रे उक्केको बिषयमा आफुलाई कुनै मतलब नभएको बताए। ‘सडक डिभिजनले गरेको काममा पत्रकारहरुले अनावश्यक चिन्ता लिनु आवश्यक छैन’ उनले भने।

उनले कालोपत्रे गुणस्तर अनुसार नै भएको दाबी पनि गरे । उनले एक बर्षभित्र कालोपत्रे बिग्रेमा ठेकेदार नै जिम्मेबार हुने बताए। उनले कार्यालयले ठेकेदारसँग मिलेमतो समेत नगरेको दाबी गरे। दोबिल्ला–फलेबास सडक तीन बर्षभित्रमा कालोपत्रे गर्ने लक्ष्य रहेकोछ।

 

 

 

प्रकाशित: ४ आश्विन २०७३ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App