१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नवनिर्मित छात्रावास विद्यालयलार्इ हस्तान्तरण

सिन्धुपाल्चोक - हेलम्बुमा रहेको गोल्मादेवी माविको नवनिर्मित छात्रावास भवन स्थानीय सरकारलाई हस्तान्तरण गरीएको छ। ८४ लाख रुपैयाँ लागतमा निर्मित उक्त भवन दाताको तर्फबाट हेल्प (हेलम्बु एजुकेसन एण्ड लाइभ्लीहुड पार्टनरसीप) का कार्यकारी निर्देशक जिमी लामाले हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पालाई हस्तान्तरण गरेका हुन्। बेलायतको मोन्डो फाउन्डेसनसँगको सहकार्यमा हेल्पद्धारा निर्मित दुई तले उक्त भवनमा भोजनगृह, भान्छा, चार शौचालय र आठवटा छात्रावास कक्ष रहेका छन्। २०७२ वैशाख १२ को बिनासकारी भूकम्पले उक्त विद्यालयको छात्रावास भवन भत्काएको थियो। आधारभूत तह पछि माध्यमिक तह पढ्न घण्टौं हिँड्नु पर्ने बाध्यताको अन्त्य गर्न भूकम्पको तीन महिना अघि मात्र विद्यालयले छात्रावास सञ्चालनमा ल्याएको थियो।

विद्यालयका प्रधानाध्यापक रोहिणी अधिकारीले छात्रावास भवन पाएकोमा खुसी व्यक्त गर्दै दातालाई धन्यवाद दिइन्। यस्तै हेल्पका कार्यकारी निर्देशक लामाले बालबालिकाको समस्या देखेरै छात्रावास निर्माणमा सहयोग गरेको बताए। एक गाउँबाट अर्को गाउँमा पुग्न एक दिनसम्म पैदल हिँड्नु पर्ने यहाँका बालबालिकालाई विद्यालय शिक्षा पूरा गर्न निकै सकस छ। गाउँ नजिक रहेका आधारभूत विद्यालयबाट जसोतसो पढाई पूरा गरे पनि माध्यमिक तहको अध्ययन गर्न निकै सकस छ। गोल्मादेवीको नवनिर्मित छात्रावासमा बसेर अहिले ६० छात्रा अध्ययन गरिरहेका छन्।

प्रकाशित: १८ आश्विन २०७५ १२:५४ बिहीबार

हेलम्बु छात्रावास