गणतन्त्र र समुन्नत समाजवाद

शुक्रबार, १० असार २०७३, ११ : ०६ रामचन्द्र भट्टराई

जेठ १५ गते गणतन्त्र दिवस मनाइयो। गणतान्त्रिक संविधान जारी भएपछिको गणतन्त्र दिवस बढी उल्लासका साथ मनाइयो। सात सालमा राजा त्रिभुवनले गणतन्त्र  दिने कुरा गरेका थिए तर राजतन्त्रले उल्टै प्रतिगमन गरेर मुलुकमा  तानाशाही तन्त्र चलायो। प्रजा परिषद्ले सुरु गरेको लोकतान्त्रिक आन्दोलन पहिलो चरणको थियो। २००७ सालमा नेपाली कांग्रेस नयाँ शक्तिको रुपमा उदय भएको थियो, जसको नेतृत्वमा जहानियाँ राणा हुकुमीतन्त्रको अन्त्य गरेर प्रजातन्त्र ल्याइएको थियो। सत्र सालको प्रतिगमनपछि २९/३० वर्ष लामो संघर्ष भयो। त्यो संघर्ष हिंसात्मक/अहिंसात्मक दुवै थियो। वामपन्थी कम्युनिस्ट नयाँ शक्तिको रुपमा उदय भयो र कांग्रेस–कम्युनिस्टको संयुक्त संघर्षबाट प्रजातन्त्रको पुनः स्थापना भयो। २०५२ सालदेखि राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि महान् जनयुद्ध भयो। त्यो नयाँ शक्तिको रुपमा उदय भएको थियो। २०६२/०६३ को संयुक्त क्रान्ति त्यसैको जगमा भएको थियो। जसबाट देशमा गणतन्त्र स्थापित भयो। आदिवासी, जनजाति, महिला, मुस्लिम, विभिन्न तहबाट संघीयताका लागि आन्दोलन भयो। परिणामस्वरुप २०७२ सालमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संविधानतः संस्थागत भएको छ।

आज जुन गणतन्त्र दिवस मनाउने अवसर प्राप्त भएको छ, यो प्रजा परिषद्को आन्दोलन, त्यस क्रममा भएको विक्रम सम्बत् १९९७ सालको सहिद पर्वदेखि अहिलेसम्म विभिन्न कालखण्डमा लोकतान्त्रिक शक्तिहरूले गरेका बलिदानपूर्ण संघर्षको योगफल स्वरुप भएको हो। त्यसैले गणतन्त्र ल्याउन तत्कालीन अवस्थामा जस—जसले जे—जस्ता नारा दिए, लखन थापाको ब्रिटिस सेनामा नेपाली भर्ती विरोधी नारादेखि राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको नारासम्म यी सबै समष्टिका व्यष्टि थिए।

तर विडम्बना त के छ भने जो हिजो गणतन्त्र विरोधी थिए, संघीयता विरोधी थिए, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्रका विरोधी थिए, उनै आज गणतन्त्र दिवसमा बढी नाचगान गरिरहेका छन्।

गणतन्त्र साध्य हैन, साधन हो। साध्य त आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धि हो। विचार मानिसका लागि हो, विचारका लागि मानिस हैन। विचार मानिसले बनाउने हो, विचारले मानिस बनाउने हैन। गणतन्त्र जीवनका लागि हो, गणतन्त्रका लागि जीवन हैन। तर हजारौं वीरवीराङ्गनाको रगतले लतपतिएको गणतन्त्र बाँदरको हातमा नरिवल भएको छ। देखाउने दाँत भएको छ।  गणतन्त्र कानमा लाउने कुण्डल हैन। गणतन्त्र नाकमा लाउने फुली, बुलाकी हैन। गणतन्त्र त जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अनुवाद हुनु पर्दछ। गाँस, बास कपास शिक्षा, स्वास्थ्य, मनोरञ्जन र रोजगारी हुनुपर्छ गणतन्त्र। शान्ति, सुरक्षा अमन चैन भएर आउनुपर्छ। तर उल्टै हत्या, बलात्कार, भ्रष्टाचार, दुराचार, पापाचार भएर आएको छ। लुट, खसोट र हाहाकार भएर आएको छ गणतन्त्र। देशका नेता, शासक प्रशासक सबै राज्ययन्त्रका ज्यू हजूरले गणतन्त्रलाई कमाइखाने भाँडो बनाएका छन्। बजेट जुन प्रस्तुत गरिएको छ, त्यसबाट अमूक राजनीतिक दललाई फाइदा हुने गरी ल्याइएको छ। जनतालाई महँगीको भारी बोकाउने गरी कनिका छरेर प्रस्तुत गरिएको छ। यस्तो लाग्छ, सत्तासीनहरूमा आर्थिक क्रान्ति गर्ने कुनै नयाँ भिजन छैन। पुरानैको निरन्तरता छ, कुनै क्रमभङ्गता र छलाङ छैन।

वर्तमान लोकतान्त्रिक गणतन्त्र औपचारिक हो, वास्तविक हैन। लामो बलिदानपूर्ण संघर्षपछि नयाँ संविधान सँगै लोकतान्त्रिक गणतन्त्रलाई स्थापित र संस्थागत त गरिएको छ, तर यो गणतन्त्र अहिले पनि नाम मात्रको हो। यसको रूप प्रतिनिधिमूलक औपचारिक र सीमित प्रकृतिको छ। लोकतान्त्रिक गणतन्त्रका नाममा दलतन्त्र, दलतन्त्रका नाममा गुटतन्त्र, गुटतन्त्रका नाममा नेतातन्त्र र नेतातन्त्रका नाममा व्यक्तितन्त्रलाई लोकतान्त्रिक गणतन्त्रको अभ्यास बनाइएको छ। जनतालाई सार्वभौमसत्ता सम्पन्न भनिए पनि वास्तविक रूपमा उनी निर्णायक बन्न सकेका छैनन्। डनगिरी, माफियातन्त्र, गिरोहतन्त्र व्याप्त छ। राजनीतिक सिन्डिकेटलाई संस्थागत गरिएको छ। पाँच वर्षमा एक पटक भोट हालेपछि निर्वाचित प्रतिनिधिले जे गरे पनि जनताले त्यसको प्रतिवाद गर्न नपाउने, आन्दोलन नै गर्नु पर्ने यो कस्तो खालको लोकतन्त्र हो? गणतन्त्र हो?

यतिका लामो बलिदानी संघर्ष र हजारौं सहिद, हजारौं बेपत्ता र घाइते अपाङ्ग भएर प्राप्त भएको गणतन्त्रमा शासकीय स्वरुपमा परिवर्तन भएन। मधेसी, थारु, जनजाति, महिला, मुस्लिमलगायत सीमान्तकृत समुदायका कतिपय विषयमा सम्बोधन भएन। पहिचानको मुद्दा र संघीयताको खाकामा सहमति भएन। समावेशिताका मापदण्डहरू सरलीकृत, स्पष्ट र समानुपातिक हुन सकेन। विकास र सुशासनमैत्री, प्रशासनिक पुनः संरचनाको परिकल्पना गरिएन। नैतिक मूल्य र सदाचारतिर ध्यानै भएन। बदलिँदै गएको क्षेत्रीय राजनीतिक अन्तरविरोधले देश अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्र बन्ने खतरा पैदा हुँदै गएको छ। तर पुराना राजनीतिक शक्तिहरू पुरानै सोच, आचरण र शैलीमा छन्। त्यसैले यी चुनौतीको हल हुने सम्भावना देखिँदैन। विगतलाई स्वागत गर्दै र आगतलाई अङ्कमाल गर्दै विकसित, सुशासित र समृद्ध नेपाल निर्माण गर्न राष्ट्रिय स्वाधीनता र आन्तरिक राष्ट्रिय एकता कायम गर्दै समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक गणतन्त्रको अभ्यास र सुशासन सदाचार सुसंस्कृतिमार्फत् आर्थिक समृद्धि हासिल गर्न अब अर्को नयाँ शक्तिको आवश्यकता छ।

विक्रम सम्वत् १९९७ सालदेखि २०७२ सालसम्मको लामो संघर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक, समाजवाद उन्मुख संविधान संविधानतः संस्थागत भएको छ। यो पूँजीवादको उच्चतम रूप हो। ०९७ सालदेखि २०७२ सालसम्म देशमा नागरिक अधिकारका लागि राजनीतिक आन्दोलन भयो। अब आन्दोलनमुखी राजनीति हैन, विकासमुखी राजनीति गर्नु पर्छ। पूँजीवादी जनवादी क्रान्ति मूलतः सम्पन्न भएको वर्तमान परिप्रेक्ष्यमा अब समाजवादी क्रान्तिको पूर्व तयारी गर्नु आवश्यक छ। यौटा युगको अन्त्य भएर अर्को नयाँ युगको शुभारम्भ भएको छ। विगतलाई बधाइ दिँदै आगतलाई अङ्कमाल गर्ने समय आएको छ। यस घडीमा पुरानो सोच, पुरानो विचार, पुरानो सिद्धान्त, पुरानो सांगठनिक ढाँचा, पुरानो शैली र संस्कृतिबाट नयाँ युगको नेतृत्व हुन सक्दैन। त्यसका लागि नयाँ शक्तिको आवश्यकता छ। गणतन्त्रलाई औपचारिक हैन, वास्तविक  सहभागितामूलक लोकतन्त्रमा विकास गर्नु पर्दछ। यसो नगरी समुन्नत समाजवादको निर्माण गर्न सकिन्न।

वाम लोकतान्त्रिक गणतन्त्रको लक्ष्य समुन्नत समाजवाद हो। जारी संविधानमा समाजवादउन्मुख भनी उल्लेख गरिएको छ। यो कस्तो खालको समाजवाद हो? समाजवादका थरी—थरी परिभाषा र प्रयोग छन्। प्रजातान्त्रिक समाजवाद, लोकतान्त्रिक समाजवाद, साम्यवादी समाजवाद आदि। समाजवादको नाममा पूँजीवादी अधिनायकत्व र साम्यवादी समाजवादका नाममा सर्वहारा अधिनायकवाद भन्दै एकमनावाद, मनोगतवाद र नोकरशाही केन्द्रीयतावाद लाद्ने खालको समाजवाद। यी कुनै पनि प्रकारका प्रयोग विश्वमा असफल भैसकेका छन्। लोकतान्त्रिक गणतन्त्रमा टेकेर वाम लोकतन्त्र हुँदै समुन्नत समाजवादमा पुग्ने लक्ष्य हुनुपर्दछ। सामन्ती युगको अन्त्य भएर पूँजीवादी लोकतान्त्रिक युगमा प्रवेश गरेको नेपालमा सुरुमा समाजवाद उन्मुख पूँजीवादको विकास गर्नु मुख्य अभिभारा हुन्छ। पछिल्लो चरणमा समुन्नत समाजवादमा रूपान्तरण गर्नु मुख्य अभिभारा हुनेछ।

व्यक्तिको निजत्वलाई प्रधानता दिने नवउदारवादी पुँजीवाद र सामूहिकतालाई मात्र प्रधानता दिने व्यक्तिको निजत्वको स्वभाव, मनोविज्ञान र स्वतन्त्रतालाई कुनै स्थान नदिने समाजवाद दुवै अपूर्ण र असफल साबित भएका छन्। त्यसैले पुँजीवाद भित्रका सकारात्मक पक्षलाई ग्रहण गर्दै समाजवादभित्रका नकारात्मक पक्षलाई हटाउँदै नयाँ खालको विचार संश्लेषण गर्नु नै नयाँ शक्ति नेपालको मुख्य वैचारिक धरातल हुनुपर्छ र मात्रै समुन्नत समाजवादमा पुग्न सकिने छ।

लोकतान्त्रिक गणतन्त्रको लक्ष्य समाजवाद नै हो। तर त्यो समुन्नत  समाजवाद हुनु पर्छ। त्यस्तो समुन्नत सहभागितामूलक समाजवाद ल्याउने सोच, चिन्ता र चासो पुराना राजनीतिक शक्तिमा देखिँदैन। त्यसका लागि कि पुराना शक्ति नयाँमा रुपान्तरित हुनुपर्‍यो अन्यथा नयाँले पुरानालाई निषेध गर्नेछ। जसरी दास युगलाई सामन्तवादी युगले, त्यसलाई पुँजीवादी युगले र त्यसलाई समाजवादी युगले निषेध गर्‍यो, त्यसरी नै पुरानो शक्तिलाई नयाँ शक्तिले निषेध गर्दै अगाडि बढ्ने छ र नयाँ युगको नेतृत्व गर्नेछ।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad