७ वैशाख २०८१ शुक्रबार
समाज

यसरी हुन्छ सीमा क्षेत्रमा रक्सी तस्करी (भिडियो)

सिरहा–कुनै बेला अँध्यारोको आड लिएर तस्करले भारतबाट कुखुरा भित्र्याउने नाका पछिल्लो समय मदिरा तस्करीको मुख्य केन्द्र बनेको छ । भारतको बिहार सरकारले मदिरा निषेध गरेपछि पिउनेका लागि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँसहरमा पुर्याउँदै आएका छन् ।

नेपालका सुरक्षाकर्मीसँगको सेटिङमा नेपाली बजारबाट मदिरा  सीमावर्ती बजारमा भण्डारण गर्ने र अनुकुल समयमा सीमा पारि भारतीय सहर पुर्याउने धन्दा अहिले मौलाएको छ ।

दिउँसै सिरहाको माडर बजारमा उद्योगबाट सिल भएर आएको कार्टुनबाट मदिराका बोतल अर्को कार्टुनमा प्याक गरी बोरामा राखेर साईकल मार्फत सीमावर्ती लगडीगोठ पुर्याइन्छ । यहाँ मदिरा भण्डारण गरि पारी ड्युटीमा रहेका एसएसबीहरु लञ्च टाईममा ब्यारेक फर्केपछि धमाधम मदिराको कार्टुनले भरिएका बोरा पारि पुर्याइन्छ ।

आँखै अगाडि मदिराको तस्करी धन्दा हेर्दाहेर्दै आजित भैसकेका सिरहा नगरपालिका –२१ लगडीगोठका वडा अध्यक्ष सरेन्द्र मण्डलले तस्करी नियन्त्रणका लागि जिल्लाका सुरक्षा प्रमुख गुहारे । मदिरा तस्करीको धन्दा फस्टाएसँगै यो गाउँका लगडीगोठ गाउँका नागरिक आफुलाई असुरक्षित अनुभूती गर्न थालेको भन्दै मण्डलले जिल्लाका सुरक्षा प्रमुखलाई भेटेर यो धन्दा नियन्त्रण गरिदिन आग्रह पनि गरे । तर, उनले सुरक्षा प्रमुखबाट सन्तोषजनक जवाफ पाएनन् । उनले भने,‘जिल्लाको सुरक्षा प्रमुखलाई घटनाक्रम जानकारी गराउँदा पनि वास्ता गरेनन्, टालटुले जवाफ दिएर फर्काए ।’ नम्बर प्लेटनै नभएको मोटरसाईकल चढेर पारीबाट आउनेहरुका कारण यहाँका जनता असुरक्षित महसुस गर्दै छन् । प्रहरी प्रमुखले बेवास्ता गरेपछि हामी अझ असुरक्षित महसुस गरिरहेका छौं, उनले भने ।

ईलाका प्रहरी कार्यालय माडर भन्दा पाँचसय मिटर पूर्व लगडीगोठ जाने सडकको उत्तरपट्टी खुल्ला ठाउँमै मदिराका बोतल नयाँ कार्टुनमा प्याक गरेर बोरामा भरिरहेको दृश्य यहाँकालागि समान्य हो। दर्जनौ साईकलहरु अनि भारतीय नम्बरका मोटरसाईकलबाट घेरिएको यो ठाउँमा बोरामा भरिने मदिराको कार्टुन साईकलमा राखेर सिधै सीमावर्ती लगडीगोठ पुग्छ ।

मदिरा तस्करी बढेपछि अहिले सिरहाको सीमावर्ती क्षेत्रमा मदिराका पसलहरु थपिँदै गएका । अवस्था यस्तो सम्म छ कि कतिपय मदिरा पसलेहरुले नै तस्करहरु राख्ने गरेका छन्।

केहिदिन अगाडि सिरहा सप्तरीका सुरक्षा प्रमुखहरु र सीमाक्षेत्रका प्रहरी अधिकारीहरुबीच भएको छलफलमा सीमाक्षेत्रबाट एक किलोमिटर भीत्रसम्म मदिरा कारोबारलाई नियन्त्रण गर्ने सहमती भएको थियो । तर तस्करी नियन्त्रणमा कुनै प्रभावकारी कदम अहिलेसम्म चालिएको छैन।

 

प्रकाशित: १८ आश्विन २०७५ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App