८ वैशाख २०८१ शनिबार
समाज

सडक सञ्जालमा जोडियो डोल्पाको दुनै

डोल्पा – डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ९ धाउन्नेकी दिपा बुढा वर्षले ६६ पुगीन। उनका आँखा यतिबेला हर्षले रसाएका छन्। “रमाइलो नाँचेर फूलमाला गाँसेर, तिमी हामी मिलेर भीर बाटो खनेर, तिमी हामी सँगसगै जाम्ला भनेर भनेको सुनेको थिए तर डोल्पामा गाडी पुग्ला भन्ने सोचेकोसम्म थिइन तर आज आफैंले घरको आँगनमा गाडी गुडेको देख्न पाएँ सपना साकार भयो उनले भनिन्।”

तरपरे भीर खण्डको ट्रयाक खोलेर ढुवानीको साधन ट्रयाक्टर संचालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पुजाआजा गरेर सडकमै नाँचगान गरी हर्ष मनाएका छन्। दिपा बुढा मात्र होइनन् सडक यातायातको अभावमा पिल्सियर बसेका डोल्पालीको वर्षौ देखिकोे सडक सपना पुरा भएको छ। निमार्णधिन जाजरकोट–डोल्पा सडक अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ९ मा पर्ने अन्तिम तथा कडा चट्टानको रुपमा रहेको ५ सय मिटरको तरपरे भीर खण्डको ट्रयाक खोल्ने काम सम्पन्न गरेसँगै डोल्पालीको वषौ देखिको सडक सपना पुरा भएको हो।

तरपरे भीरको ट्रयाक खोल्ने कार्य सम्पन्न भएसँगै डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। ट्रयाक खोल्ने कार्य सम्पन्न गरेर डोल्पाको खदाङ्गदेखि चुँगाडसम्म सिधा ढुवानी साधनको रुपमा ट्रयाक्टर संचालनमा ल्याइएको छ। सदरमुकाम दुनै, बिमानस्थल जुफाल र त्रिपुराकोटको सुँपानीसम्म यसअघिनै आन्तरिक यातायातको रुपमा हेलिकप्टरबाट ल्याइएका जीप तथा ट्रयाक्टरहरू सञ्चालन मै आइसकेको छ। त्रिपुरासुन्दरी नगरपालिका ९ मा पर्ने फुलपानी र धाउन्ने बस्तीका बासिन्दाले आफ्नो घरआगनमा पुगेको ट्रयाक्टर र जाजरकोट–डोल्पा मोटरबाटो निमार्णमा संलग्न नेपाली सेनालाई समेत पुजाआजाका साथ फुलमाला पहिराएर भब्य स्वागत गरेका छन्।

जाजरकोट–डोल्पा नाम दिइएको भेरिकरिडोरको पहिलो चरणको निमार्ण कार्य अन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पा दुनैसम्मको ११७ दशमलब ७ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको नेपाली सेनाको जाजरकोट–डोल्पा मोटरबाटो निमार्ण कार्यदलले जनाएको छ। डोल्पा सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न हेर्दैमा कहाली लाग्दा भीमकाय कडा चट्टानसँग पौठेजोरी खेल्दै सडक निमार्ण कार्यलाई नेपाली सेनाले पुरा गरेको हो। २०७५ को बडादशै भित्रमा डोल्पालीलाई विकासको रुपमा गाडीसेवा उपहार दिने गरी सडक निमार्ण कार्यलाई तीब्रता दिएको नेपाली सेनाले दशै अगाडि नै पुरा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ।

२०६५ बाट शुरु भएको छिन्चु जाजरकोट–डोल्पा सडक निमार्ण कार्यको निरन्तरताले २०७५ को बडादशै भित्रमा बिट मार्ने गरी सडक निमार्ण कार्यलाई तीब्र गतिमा अगाडि बढाइएको थियो। सडक सञ्जालसँग डोल्पाको सदरमुकाम दुनैलाई जोड्न सडक निमार्णको जिम्मेवारी पाएको नेपाली सेना बिगत युद्दकालिन समयदेखि १४ वर्षसम्म अहोरात्र खटिदै आएका थिए। दुनै जोड्ने जाजरकोट–डोल्पा सडक शुरुको दुई वर्ष जाजरकोट भू–भाग भएर डोल्पा जोड्ने की रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्गकन विवादले निर्माण कार्य अवरुद्द भएको थियो।

२०७५ को दशैं तिहार भित्रमा डोल्पाको सदरमुकाम दुनैबासीलाई यातायातका साधन सञ्चालनमा ल्याएर गाडी सुबिधा उपहार दिने योजना पुरा भएको नेपाली सेनाको जाजरकोट–डोल्पा सडक निमार्ण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले बताए। हाल खदाङ्गदेखि चुँगाडसम्मको सडकको फिनिसिँङ्ग कार्य भइरहेकोले असोजको अन्तिममा उक्त कार्य सम्पन्न गरेर ०७५ को दशै र तिहार भित्रमा डोल्पाको दुनैमा यातायातका साधनहरू गुड्ने कार्यदलका प्रमुख कर्णेल पहाडीले बताए।

डोल्पालीले यातायात नहुँदा खेप्नु परेको समस्यालाई मध्यनजर राख्दै हाल त्रिबेणी करोपगाड हुँदै खदाङ्गको हरियापानीसम्मको सडक खण्डमा जीप ट्रयाक्टर लगायतका हलुका सवारीका साधन र खदाङ्गदेखि चिप्लेभीर हुँदै चुँगाडसम्मको सडक खण्डमा ट्रयाक्टर संचालनमा ल्याइएको पहाडीले बताए।

सडकको फिनिसिङ कार्य अन्तिम चरणमा रहेको र डोल्पा खदाङ्गमा पर्ने हरियापानीमा भेरीनदीमाथि एक साता भित्रमा तुईन लगाउने कार्य सम्पन्न गरी जीप लगायतका हल्का सवारी तथा ढुवानीका साधन खदाङ्ग तारेपछि ०७५ को दशै र तिहारमा त्रिपुरासुन्दरी नगरपालिका हुँदै सदरमुकाम दुनै सम्म यातायातका साधनहरू संचालनमा ल्याइ राष्ट्रिय सडक सञ्जालमा जोडिने नेपाली सेनाले जनाएको छ।

यता जाजरकोटको पासागाडदेखि डोल्पा दुनैसम्म सडकको पुरा ट्रयाक खोल्ने कार्य सम्पन्न गरेसँगै नेपाल सरकारले सडकमा पर्ने भेरी नदी तथा सहायक नदिमाथिको पुल निमार्ण गर्नु अबको आवश्यकता भएको स्थानीयले बताएका छन्। 

प्रकाशित: १८ आश्विन २०७५ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App