८ वैशाख २०८१ शनिबार
खेल

पुलिसलाई पाँच स्वर्ण

सुनिललाल जाेशी स्मृति भारोत्तोलनमा भार वहन गर्दै लक्ष्मी वन । तस्बिर साैजन्यः राखेप

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो नेपाल स्ट्रंगेस्ट २०१८ मा महिलातर्फको खेल समाप्त हुँदा बुधबार ५ स्वर्ण जित्न सफल भएको छ। 

ओलम्पियन एवं तत्कालीन नेपाल भारोत्तोलन संघका उपाध्यक्ष सुनीललाल जोशीको स्मृतिमा आयोजना गरिएको भारोत्तोलन प्रतियोगितामा स्ट्रंगेस्ट महिला नेपाल प्रहरीकी तारादेवी पुन स्वर्ण हात पार्न सफल भएकी छिन् ।  पुनले ७५ केजीमाथीको तौलसमूहमा सिनियरतर्फ १ सय ६६ केजी भारका साथ स्वर्ण जितेकी हुन्।

स्न्याचमा ७१ केजी उचालेकी उनले क्लिन एन्ड जर्कमा ९५ केजी भार बोकिन् । दोस्रो स्थानमा रहेकी सेनाकी अस्मिता राईले स्न्याचमा ५० र क्लिनमा ६२ गरी कुल १ सय १२ केजी भार उठाइन् । तेस्रो बन्दै कांस्य पदक हात पारेकी प्रहरीकी सुधा थापाले स्न्याचमा ४७ केजी र क्लिनमा ५२ केजी गरी कुलमा ९९ केजी उचाल्न सफल भएकी थिइन्। 

सोही विधाको जुनियरतर्फ नेपाल व्यायाम मन्दिरकी विद्या राईले स्न्याचमा ४०, क्लिनमा ६२ का साथ कुलमा १ सय २ केजी भार वहन गर्दै स्वण पदक हात पारिन् । यस्तै ४८ केजी तौलसमूहमा नेपाल प्रहरीकी संगीता राईले त्रिभुवन आर्मीकी रीता गुरुङलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । राईले स्न्याचमा ५३ केजी र क्लिन एन्ड जर्कमा ६७ केजीका साथ कुलमा १ सय २० केजी भार वहन गरेकी थिइन् भने दोस्रो भएकी आर्मीकी रिताले स्न्याचमा ४५ र क्लिन एन्ड जर्कमा ५३ केजी गरी कुल ९८ केजी भार उठाइन्। 

यसै समूहको जुनियरतर्फ झापाकी करिना चौधरीले कुल १ सय केजी भार उठाउँदै स्वर्ण जितिन् । चौधरीले स्न्याचमा ४५ केजी तथा क्लिन एन्ड जर्कमा ५५ केजी भार वहन गरेकी थिइन् । दोस्रो बनेकी डिभाइन फिजिकल फिटनेसकी पल्लवीकुमारी चौधरीले स्न्याचमा ३५ केजी र क्लिनमा ४२ केजी गरी कुलमा ७७ केजी उचालिन्।

काठमाडाैं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको महिलाको ५३ केजी तौलमा नेपाल प्रहरीकी देवीकुमारी चौधरीले स्वर्ण पदक हात पार्दा आर्मीकी मनीषा रानाभाटले रजत पदक हात पारिन् । यसै समूहको जुनियरतर्फ बाँकेकी सन्जु चौधरीले स्नाचमा ६८ केजी र क्लिनमा ८५ केजीका साथ १ सय ५३ केजी भार उठाउँदै स्वर्ण पदक हात पारिन्। 

५८ केजी तौलमा सिनियरतर्फ आर्मीकी कमला श्रेष्ठ र जुनियरतर्फ बाँकेकी कविता चौधरीले स्वर्ण पाए । एकल प्रतिस्पर्धा गरेकी कमलाले स्न्याचमा ६५ केजी र क्लिनमा ७५ केजीका साथ कुलमा १ सय ४० केजी भार वहन गरेकी थिइन् भने कविताले स्न्याचमा ४२ र क्लिनमा ५६ केजी गरी कुलमा ९८ केजी भार बहन गरेकी थिइन्। 

यस्तै ६३ केजीको सिनियरतर्फ आर्मीकी शारदा चौधरीले स्वर्ण हात पारिन् । महिला ६९ केजीमा नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्वर्ण हात पारिन् । यसै विधाको जुनियरतर्फ चितवनकी पूजा कुमालले स्वर्ण पाइन् । ७५ केजी तौलमा पुलिसकी लक्ष्मी बनले स्वर्ण र सेनाकी मनकुमारी कुमालले रजत पाए। 

ललितपुर कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुष ५६ केजी तौलमा नेपाली सेनाका तुलाराम महतोले सेनाकै सन्तोष थपलियालाई पछि पार्दै स्वर्ण हात पारे । तेस्रो स्थानमा एपिएफका चक्रमान प्रधान रहे । जुनियरतर्फ एपिएफका लालबाबु पासवानले स्वर्ण हात पारे। 

प्रकाशित: १८ आश्विन २०७५ ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App