coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बंगरी खोला पुल निर्माणमा विलम्ब

बाढी आएका बेला भैंसीसहित बाराको बंगरी खोला तर्दै स्थानीय व्यापारी। तस्बिर : नागरिक

बारा - ठेकेदार कम्पनीको लापरबाहीका कारण कलैया–नितनपुर सडक खण्डअन्तर्गत बन्जरियामा पर्ने बंगरी खोलामा पुल निर्माण सकिएको छैन । दुई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने यो पुल निर्माणकार्य ३० प्रतिशतभन्दा कम भएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ। पुल निर्माणमा ढिलाइ हुँदा बंगरी खोला तर्न स्थानीयले जोखिम मोल्दै आएका छन्।

बंगरी खोलाको पुल निर्माण २०७३ असारभित्र सक्ने गरी एलाइट÷मोना जेभीले २०७१ असारमा सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालय हेटौंडाका प्रवक्ता जयराम अधिकारीले पाँच करोड ४३ लाख रकममा निर्माण कम्पनी एलाइट/मोना जेभीले उक्त पुल निर्माणको ठेक्का सकार गरेको बताए । ‘सम्झौताअनुसार २०७३ असार मसान्तभित्रमा बंगरी खोलाको पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो,’ अधिकारीले भने, ‘तर, अहिलेसम्म पुलको निर्माणकार्य ३० प्रतिशतभन्दा कम भएको छ।’

समयमै पुल निर्माण पूरा गर्न पटकपटक निर्माण कम्पनीका प्रतिनिधि रामाकान्त चौरसिया र मुकेश चौरसियालाई ताकेता गरिएको उनले बताए। पुल निर्माणमा ढिलाइ भएकाले निर्माण कम्पनी कम्पनी एलाइट÷मोनालाई कालोसूचीमा राख्ने तयारी भइरहेको अवस्थामा ती कम्पनीले २०७६ असारभित्रमा पुल निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाएको अधिकारीले बताए।

सडक डिभिजन कार्यालयका कर्मचारीले अतिरिक्त आर्थिक लाभ लिएर काममा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही नगर्ने र प्रत्येक वर्ष मूल्य समायोजन गर्ने गरेकाले धेरै योजना अलपत्र पर्दै आएको एक निर्माण व्यवसायीले बताए । कलैयालाई वीरगन्ज–पथलैया ६ लेनको व्यपारिक मार्गमा जोड्नका लागि निर्माणाधीन पुलको ठूलो महत्व छ । बंगरी खोलाको पुल निर्माणमा ढिलाइ हुँदा सदरमुकाम कलैया आवतजावत गर्न जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र प्रसौनी गाउँपालिकाका बासिन्दा झन्झट बेहोर्दै आएका छन् । पुल निर्माण नहुँदा कलैयाबाट १० किलोमिटर दूरीमा पर्ने जितपुरसिमरा पुग्न ३० किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सिमराको जगदम्बा स्टिलका प्रशासकीय अधिकृत कुमोद ढकालले बताए।

कलैयाबाट दैनिक सिमरा जान कलैया–बन्जरिया–नितनपुर सडक छोटो र सहज भए पनि बंगरी खोलामा पुल निर्माण नसकिँदा यो बाटोमा आवागमन गर्नेलाई खोला तर्न गाह्रो हुने गरेको दुखेसो ढकालले सुनाए । पुल निर्माणमा ढिलाइ हुँदा बर्खा सुरु भएपछि गाउँका बिरामीलाई अस्पताल लैजान समेत मुस्किल हुने गरेको बन्जरियाका महावीर रामले बताए।

सडक डिभिजन कार्यालय हेटौंडाले समयमै पुल निर्माण पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्नुको सट्टा संरक्षण गर्ने गरेको रामले आरोप लगाए । एलाइट÷मोना जेभीका प्रतिनिधि मुकेशले बंगरी खोलाको पुल निर्माण चाँडै सक्ने बताए । उनले पुल निर्माण भइरहेको स्थानमा माथिबाट विधुतीय तार गएकाले पुल निर्माणमा ढिलाइ हुन गएको बताए । कात्तिक महिनादेखि खोलामा पानीको सतह कम भएपछि पुल निर्माणमा तीव्रता आउने उनले बताए।

सडक डिभिजन कार्यालय हेटौंडाबाट ठेकेदार रामाकान्तले विभिन्न कम्पनीका नाममा बारा, पर्सामा धेरैवटा पुल निर्माण गर्न ठेक्का सकार गरे पनि तीमध्ये एउटाको पनि काम समयमा सम्पन्न गर्न नसकेको प्रवक्ता अधिकारीले बताए।

प्रकाशित: १८ आश्विन २०७५ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App