१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

कोरियाली महिलाको सहयोगमा विद्यालय भवन

धनुषाको वीरेन्द्रबजारस्थित राष्ट्रिय माविमा विश्व शान्ति महिला संघले निर्माण गरिदिएको भवनको उद्घाटन गर्दै दायाँबाट क्रमशः संघकी अध्यक्ष योङ सुन चोई, मन्त्री नवलकिशोर साह र नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली। तस्बिरः सुरेश/नागरिक

जनकपुरधाम - विश्व शान्ति महिला संघ(कोरिया)ले धनुषाको गणेशमान चारनाथ नगरपालिका, वीरेन्द्रबजारस्थित राष्ट्रिय माविलाई १० कोठे भवन हस्तान्तरण गरेको छ।

एक करोड १२ लाख ६० हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनको साँचो संघकी अध्यक्ष योङ सुन चोईले बुधबार एक समारोहका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर थापा तथा प्रधानाध्यापक हिरालाल साहलाई हस्तान्तरण गरेकी हुन्। शिक्षामा सबैको पहुँच र स्तरीय शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधारमा सहयोगस्वरूप उक्त भवन निर्माण गरिदिएको चोईले बताइन्।

नेपालका विभिन्न क्षेत्रमा भौतिक पूर्वाधार अभाव झेलिरहेका विद्यालयहरूमा भवन निर्माण, फर्निचर तथा शिक्षण सामग्री वितरण गरी संघले गुणस्तरीय शिक्षाका लागि सहयोग गरिरहेको छ । भौतिक पूर्वाधार अभावकै कारण स्तरीय शिक्षाबाट बञ्चित विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर संघले अन्य जिल्लाहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिरहेको संघकी नेपाल अध्यक्ष ब्लेसी ढकालले बताइन्। ‘हरेक भूगोल र क्षेत्रका बालबालिकामा राष्ट्रिय स्तरको प्रतिभा हुन्छ,’ ढकालले भनिन्, ‘गुणस्तरीय शिक्षामा तिनीहरूको पहुँच बढाउन संघले निरन्तर सहयोग र योगदान गर्दै आइरहेको र भविष्यमा पनि जारी रहनेछ।’

नवनिर्मित विद्यालय भवनको रिबन काटेर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरे। त्यस क्रममा उनले कोरियाबाट आएर धनुषाको एउटा ग्रामीण भेगमा विद्यालय भवन बनाइदिएकामा संघप्रति आभार प्रकट गरे। ‘कोरियाबाट नेपालको ग्रामीण भेगमा आएर विद्यालयलाई सुविधा सम्पन्न भवन बनाइदिनुभयो। यो उत्कृष्ट सामाजिक कार्य हो। तपाईंहरूको यो प्रयासलाई प्रदेश सरकार अभिनन्दन गर्छ,’ मन्त्री साहले भने।

कार्यक्रममा नेपाल रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा ज्ञवालीले नेपालको शैक्षिक क्षेत्रमा संघले पु-याएको योगदानको प्रशंसा गरिन्। ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेका छन्, तर शिक्षा क्षेत्रमा पु-याएको योगदानप्रति विश्व शान्ति महिला संघलाई धन्यवाद दिनैपर्छ ।’ बालबालिकालाई शिक्षित नबनाएसम्म समृद्ध राज्यको परिकल्पना गर्नु व्यर्थ हुने उल्लेख गर्दै निर्देशक ज्ञवालीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न राज्य गम्भीर बन्नुपर्ने बताइन्।

दुईतले उक्त भवनमा दशवटा कक्षाकोठा छन् । आठवटा शौचालय तथा सबै कक्षाकोठामा आवश्यक सम्पूर्ण फर्निचर सामग्रीसमेत संघले नै उपलब्ध गराइदिएको विद्यलायका प्रधान्यापक साहले जानकारी दिए।

प्रकाशित: १८ आश्विन २०७५ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App