८ वैशाख २०८१ शनिबार
राजनीति

राज्य व्यवस्था समितिमा अख्तियारको आलोचना

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाही फितलो बन्दै गएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले गुनासो गरेका छन्। राज्यव्यस्था तथा सुशासन समितिको बुधबारको बैठकमा समितिका सदस्यले अख्तियारले हल्ला गर्ने तर भ्रष्टाचारको मुद्दा दर्ता गर्न नसकेको आरोप लगाएका थिए।

समितिका सदस्य कांग्रेसका देवेन्द्रराज कँडेलले अख्तियारलाई हल्ला गरेर भ्रष्टाचारी छुटाउने काम गरेको भन्दै प्रमाण जुटाएर बिशेष अदालतमा मुद्दा दर्ता गरेपछि मात्रै बाहिर ल्याउनु पर्ने बताए। कसैलाई भ्रष्टाचारको आरोप लगाएर प्रचारबाजी गर्ने र पछि भ्रष्टाचारको मुद्दा दर्ता नहुँदा त्यसको क्षतिपूर्ति कसले तिर्छ भन्दै अख्तियारले प्रमाण बलियो भएपछि मात्रै भ्रष्टाचारीको नाम बाहिर ल्याउनुपर्ने उनले बताए।

आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गर्नेलाई कारबाही खोइ?

नेकपाका सांसद झपडबहादुर रावलले अख्तियार दुपयोग अनुसन्धान आयोग कडा ढंगले आउनुपर्ने बताए। उनले अख्तियारले यति संख्यामा कारबाही गरेको भन्दा पनि महत्वपूर्ण विषयमा छानबिन अघि बढाएको छ कि छैन भन्दै त्यसको नतिजा दिनुपर्ने बताए । अख्तियारले भ्रष्टाचारी समात्न नसकेको बताएका थिए। ‘अख्तियारभित्र पनि भ्रष्टचार छ यसलाई पनि नियन्त्रण गर्नुपर्छ,’ उनले भने । अख्तियारले कहिले उजुरी देला भनेर पर्खिने र अख्तियारबाट ‘बार्गेनिङ’ गरेपछि मात्र मुद्दा दर्ता गर्ने जस्ता समस्या हुने गरेको सुनिएको बताउँदै उनले यसलाई नियन्त्रण गर्न नसके भ्रष्टाचारको जरो बलियो बन्दै जाने बताए । अख्तियारलाई प्रभावित पार्नका लागि विचौलियाहरु पनि रहेकाले अब मौलिक हकअन्तर्गतका कानुनमा विचौलियालाई पनि कारबाही गर्ने व्यवस्था भएकाले यसलाई पनि अख्तियारले नियन्त्रणमा राख्नुपर्ने बताए । अमरेश ुमार सिंहले नेपाल प्रहरी सबैभन्दा भ्रष्टचारी भएको बताएका थिए । उनले अहिले सबैभन्दा बढी भ्रष्टाचार नेपाल प्रहरीमा भएको र अख्तियारले आँखा नलगाएको बताएका थिए । उनले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमिततामा संलग्नलाई अख्तियारले किन कारबाही नगरेको भन्दै प्रश्न उठाएका थिए।

नेकपाका सांसद नवराज सिलवालले भने प्रहरीमा भ्रष्टाचार बढी भयो भन्नु गलत भएको बताएका थिए । उनले सबैभन्दा बढी भ्रष्टाचार मालपोत र नापी कार्यालयमा भएको बताए । यसमा अख्तियारले आँखा लगाउनुपर्ने बताए । नेकपाका सांसद जनार्दन शर्माले पनि अख्तियारको काम प्रभावकारी नभएको बताए। आयोगले स्वतन्त्रता पूर्वक काम अघि बढाउन नसकेको उनको भनाई थियो । राजनीतिक प्रभावमा आयोग पर्न थालेको पनि उनले बताए । कांग्रेसका सांसद विनोदकुमार चौधरीले अख्तियारले प्रभावकारी काम गर्न नसकेको बताएका थिए।

स्थानीय तहका उजुरी बढी : प्रमुख आयुक्त घिमिरे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरले स्थानीय तहमा भएको भ्रष्टाचारका उजुरीहरु बढी आउन थालेको बताए । उनले स्थानीय तहलाई अनियमित काम नगर्न सचेत गराउने काम गरेको उनले बताए । जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने प्रमुख आयुक्त घिमिरेको भनाइ थियो। उनले आयल नियमको जग्गा खरिदको विषयमा अख्तियारले गम्भीर रुपमा अनुसन्धान गरेको बताए।

घिमिरेले वाइड वडी विमानको खरिदमा भएको भ्रष्टाचारका विषयमा पनि अनुसन्धान सुरु भएको बताए। अख्तियार प्रमुख आयुक्त घिमिरेले ‘अनुचित’ कार्यलाई अख्तियारको अधिकार क्षेत्रभित्र ल्याउनु पर्ने भन्दै अनुचित कार्य गर्ने माथि अख्तियारले कारबाही चलाउन नपाउने हो भने भ्रष्टाचार अझै बढेर जाने बताए।

प्रकाशित: १८ आश्विन २०७५ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App