६ वैशाख २०८१ बिहीबार
समाज

पार गर्न ९ घन्टा

विरामी बोकेको एम्बुलेन्स नौबिसे–नागढुंगा सडक खण्डमा। यही एम्बुलेन्समा बिरामीको मृत्यु भएको थियो। तस्बिर : सरिता/नागरिक

धादिङ - दसैं मान्न भनेर राजधानीबाट घर हिँडेकी स्याङ्जाका नन्दी थापालाई कलंकीदेखि धादिङको नौबिसे–धार्केसम्म आइपुग्न करिब ९ घन्टा लाग्यो। अरू बेला एक घन्टामा पार गर्न सकिने करिब २६ किलोमिटरको यो सडक खण्ड छिचोल्न अहिले ८ देखि १२ घन्टासम्म लाग्न थालेको छ । बिहान साढे पाँच बजे गाडी चढेकी थापा दिउँसो ३ बजे बल्ल धार्के आइपुगिन्। ‘चाडपर्व नजिकियो। आफन्त र साथीभाइसँग खुसी बाँड्न घर हिँडेका थियौं,’ धार्केमा बुधबार भेटिएकी उनले नागरिकसँग भनिन्, ‘ट्राफिक जामले बेलैमा गन्तव्यमा पुग्न मुस्किल देखियो।’

एक सातादेखि यात्रुले यो सडक खण्डमा ट्राफिक जामको सास्ती खेप्नुपरेको छ। खाल्डाखुल्डी परेर बिग्रिएको सडकमा अहिले सवारीसाधन बन्द गरेर मर्मतको काम थालिएको छ। मर्मतका लागि भन्दै यो सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म गाडी बन्द गरिएको छ। राति गाडी चलाउन रोक लगाएर सडक मर्मत थालेपछि जाम बढ्दा यात्रुले झन् सास्ती खेप्नुपरेको हो।

राति रोकिएका गाडी बिहान एकैपटक छुट्दा जाम हुने गरेको छ। साघुँरो, उकालोओरालो, घुमाउरो मोड रहेको नौबिसे नागढुंगा सडकखण्डमा दैनिक ट्राफिक जामले यात्रु आजित छन्। राजधानी भित्रिने र राजधानीबाट पूर्वपश्चिमका जिल्ला जाने यात्रु जामको मारमा परेका छन्। ‘सामान्य बेला सिम्लेबाट कलंकी पुग्न डेढदेखि दुई घन्टासम्म लाग्छ, अहिले ९÷१० घण्टासम्म लाग्छ छ,’ थापाले भनिन्, ‘चाडपर्वका बेलामा सडक मर्मत गर्ने र उकालो बाटोमा बढी भार लिएर राजधानी प्रवेश गर्ने सवारीसाधन बाटोमै बिग्रिनाले पनि जाम हुन्छ।’

कंलकीदेखि नागढुंगा निस्कनै चारदेखि छ घन्टासम्म लाग् छ। कलंकीदेखिको ट्राफिक जाम धार्के हुँदै सिम्लेसम्म आइपुगेपछि बल्ल कम हुन्छ । चाडपर्वमा खाद्यान्नलगायत सामग्री लिएर राजधानी हिँडेका मालवाहक ट्रक उकालो बाटोमा बिग्रिँदा पनि जाम झनै बढेको छ।

कामविशेषले काठमाडौं हिँडेकी ज्योति श्रेष्ठ धादिङबेसीबाट १० घन्टामा कलंकी पुगिन् । ‘धादिङबेसीबाट सिम्लेसम्म दुई घन्टामा पुगियो, सिम्लेबाट ८ घन्टामा बल्ल कलंकी पुगियो,’ श्रेष्ठले भनिन्, ‘कामविशेषले यात्रा गरिन्छ, जाम पर्दा न भनेको समयमा पुगिन्छ न काम नै बन्छ ।’ धादिङबेसीबाट काठमाडौंसम्म पुग्न सरदर तीन घन्टा लाग्छ । जामले गर्दा अहिले तीन घन्टाको बाटो बाह्र÷तेह्र घन्टासम्म लाग्न थालेको छ।

देशका ६७ जिल्लालाई राजधानीसँग जोड्ने त्रिभुवन राजपथको नौबिसे–नागढुंगा खण्डको यात्रा अहिले कहालीलाग्दो बन्न थालेको छ । चाडपर्वको समयमा सवारीसाधनको चाप बढ्दा जाम दोब्बर भएको छ।

कलंकीदेखि नागढुंगासम्म करिब ९ किलोमिटर र नागढुंगादेखि सिम्लेसम्म २० किलोमिटर यात्रा गर्न अहिले दिनभर यात्रा गर्नुपरेको यात्रु बताउँछन् । नागढुंगादेखि कलंकीसम्म सडक फराकिलो पार्ने भन्दै खनेर अलपत्र छाडिएको छ। यसले पनि जाम हुने गरेको छ । ठाउँठाउँमा सवारीसाधन बिगिँ्रदा र जीर्ण सडकका कारण ट्राफिक जाम हुने गरेको नागढुंगामा खटिएका प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए । ‘जीर्ण भएको सडक बनाउन राति सवारीसाधन आवागमन बन्द गरिएको छ,’ उनले भने, ‘राति आवागमन बन्द गरिदाँ दिनभरजसो नै लामो ट्राफिक जाम हुने गरेको छ।’

एक त धुवाँधुलो अर्कोतिर जामले यात्रुलाई मात्र होइन, सडक छेउछाउ बसेका स्थानीयलाई पनि दुःख दिएको छ । यात्रुहरू बेलामा गन्तव्यमा पुग्न सक्दैनन्, यात्राका बेला उनीहरूले खानेकुरा किनेर खानसमेत पाएका छैनन् । साँघुरो बाटो भएकाले एम्बुलेन्ससमेत जाममा पर्दा बिरामीलाई समयमै अस्पताल पु-याउन सकिएको छैन । दुवैतर्फको जामले एम्बुलेन्स छिर्ने ठाउँ नपाउँदा पीडामाथि पीडा थपिने एम्बुलेन्स चालक बताउँछन्।

प्रकाशित: १८ आश्विन २०७५ ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App