coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महिला भलिबलको उपाधि चितवन टाइसर्गलाई

काठमाडौं – विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले बुधबार आधी–आवादी एनभिए महिला भलिबल लिगको उपाधि जितेको छ। 

घरेलु प्रतियोगितामा बलियो रहँदै आएको एपिएफलाई तीन अमेरिकन खेलाडी र अमेरिकन नै प्रशिक्षक रहेको चितवन टाइग्रेसले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सम्पन्न  फाइनलमा ३–० को सोझो सेटले पराजित गर्दै उपाधि चुमेको हो । लिग कम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा एपिएफ र चितवन दुवै अपराजित हुँदै फाइनलको यात्रा तय गरेका थिए। 

पहिलो सेटमा चितवनले २५–२० को जित हात पार्दा एपिएफ केही दबाबमा रहेको थियो । एपिएफ पहिलो सेटमा सबैभन्दा नजिक ९–१० को अवस्था पुगेको थियो । तर त्यसपछि चितवनले १८–१२ को अग्रता बनाउँदै पहिलो सेटमा जित हात पारेको थियो । दोस्रो सेटमा एपिएफले १२–८ को अग्रता बनाए पनि त्यसपछि लगातार ५ अंक गुमाउँदा चितवनलाई १७–२५ को नतिजा सुम्पिएको थियो । त्यस्तै तेस्रो सेटमा पहिलेजस्तो लय समात्न नसक्दा एपिएफ ११–२५ ले स्तब्ध बन्दै उपविजेता बनेको हो। 

नेपाल भलिबल संघ र आधी अवादि फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको विजेता चितवनले नगद ६ लाख रुपैयाँ हात पार्दा उपविजेता एपिएफले ३ लाख रुपैयाँमा चित्त बुझायो । 
खेलपछि एपिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले रिसिभ राम्रो नहुँदा पराजित हुनुपरेको बताए। 

‘अग्ला विदेशी खेलाडीसँगको प्रतिस्पर्धामा नेपाली खेलाडीले खुलेर खेल्न सकेनन् । डराएर खेलेका कारण हार बेहोर्नुपर्याे,’ प्रशिक्षक विष्टले भने, ‘विदेशी खेलाडी देखेर नै हाम्रो खेलाडीको मनोबल कमजोर बन्यो । हामीले हाम्रो स्वाभाविक खेल देखाउन सकेनौं, मुख्य त आजको खेलमा हाम्रो रिसिभ राम्रो हुन सकेन ।’
उता च्याम्पियन चितवनका विदेशी प्रशिक्षक कोरे सोलमनले भने प्रतियोगितामध्येको सबैभन्दा उत्कृष्ट खेलेर उपाधि जित्न सफल भएको बताए। 

‘उपाधि भिडन्तमा जुनकुनै टोलीलाई पनि कठिन हुन्छ । हामीले अघिल्ला खेलमा भन्दा आजको खेलमा राम्रो प्रदर्शन गर्न सफल भयौं,’ प्रशिक्षक सोलमनले भने, ‘नेपालमा आएर खेल्नु र जित्नु हाम्रा लागि एमदमै नौलो अनुभव रह्यो । नेपाली खेलाडीहरूमा पनि खेल्न सक्ने क्षमता प्रचुर रहेको छ । त्यसका लागि विदेशी प्रतियोगितामा सहभागिता र केही स्पाइकका पक्षलाई सुधार गर्न आवश्यक छ ।’ यस्तै पाँच वर्षपछि पहिलो पटक घरेलु भलिबलमा उपाधि जितेपछि चितवनकी कप्तान मन्जु गुरुङले विदेशी खेलाडीसँग खेल्दा धेरै कुरा सिक्न पाएको अनुभव सुनाइन्। 

‘विदेशी खेलाडीसँग मिलेर खेल्दा हामीले प्रतियोगिताको उपाधि जित्न सफल भयौं । उनीहरूले एकदमै राम्रोसँग सहज र सरल तरिकाले खेल्न सिकाए र खेले,’ कप्तान गुरुङले भनिन्, ‘यसअघि भारतीय खेलाडीसँग खेल्दा उनीहरूले हामीलाई दबदबा राख्दै खेलेको भान हुन्थ्यो तर अमेरिकी खेलाडीसँग खेल्दा यस्तो अनुभव भएन । उनीहरूले खेल्ने शैली र खेलमा कुनै दबाबमा नरहेर खेल्न हामीलाई सिकाएका छन्।’

उनले २०७० सालमा एनभिएले बागलुङमा आयोजना गरेको राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पश्चिमाञ्चलबाट जितेपछि यो नै पहिलो  भएको बताइन् । यता पराजित भए पनि एपिएफकी कप्तान विनीता बुढाथोकीले विदेशी खेलाडीविरुद्ध खेल्दा धेरै कुरा सिकेको प्रतिक्रिया दिइन्।

‘हामी हा¥यौं तर यसमा हामीलाई कुनै पछुतो छैन । यो परिणाम हामीले विदेशी खेलाडीसँग नखेल्दाको हो । उपाधि जित्नु भन्दा पनि हामीले विदेशी खेलाडी भएको टिमसँग खेल्दा धेरै कुरा सिक्न पायौं’ कप्तान बुढाथोकीले भनिन्, ‘हामी अझै पनि घरेलु भलिबलको पहिलो टोली हौं । अहिलेसम्म राष्ट्रिय टिमले समेत विदेशी टिमसँग यसरी खेल्न पाएको छैन । हामीले विदेशी खेलाडीसँग खेल्दा कसरी खेल्ने भनेर विभिन्न उपायहरू सिक्यौं । यसले हामीलाई धेरै सहयोग गर्छ।’

प्रतियोगिताअन्र्तगत बुधबार तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्डले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्याे । खेलमा डायमन्डले पुलिसलाई पहिलो सेटमा २५–१८ ले पराजित गरेको थियो । दोस्रो सेटमा २५–२१ तथा तेस्रो सेटमा २५–१९ को जित हात पारेको थियो । प्रतियोगितामा तेस्रो बनेको न्यु डायमन्डले नगद एक लाख रुपैयाँ हात पार्याे। 

यस्तै चितवन टाइग्रेसकी सेटर अरुणा शाही प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । शाहीले नगद ५० हजार रुपैयाँसहित स्कुटर हात पारिन् । यसअघि प्रायः पश्चिमाञ्चलबाट स्पाइकरको भूमिकामा कोर्टमा उत्रिने शाहीले सेटरको भूमिकालाई प्रमाणित समेत गरेकी छिन्। 

‘यसअघि भारतीय खेलाडीसँग खेल्दा उनीहरूले हामीलाई दबदबा राख्दै खेलेको भान हुन्थ्यो तर अमेरिकी खेलाडीसँग खेल्दा यस्तो अनुभव भएन । उनीहरूले खेल्ने शैली र खेलमा कुनै दबाबमा नरहेर खेल्न हामीलाई सिकाएका छन्।’

प्रकाशित: १७ आश्विन २०७५ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App