गन्तव्य स्याङजा: भालुपहाडको पर्यटकीय योजना

बुधबार, १७ असोज २०७५, १८ : ३८ मोहन गुरुङ

पोखराबाट सिद्धार्थ राजमार्गको २८ किलोमिटर पार गरेपछि पुगिन्छ, घुम्ती र चट्टाने पहरोसहितको छाँगो। चट्टान फुटाएर बनेको राजमार्गको बीचबाट गुडिरहँदा तल र माथि हेर्ने हो भने कहालीलाग्दो छाँगो र भिर देखिन्छ। अनि पारिपट्टि सानो टापु आकारको भौगोलिक अवस्थाको स्थान।

आउजाउ गर्नेलाई त्यो ठाउँ जति डरलाग्दो छ, नाम सुन्दा पनि उतिकै डरलाग्दो–भालुपहाड। हो, त्यही भालुपहाडलाई पर्यटकीय गन्तव्य बनाउने तयारीमा अहिले स्याङ्जाका स्थानीय तह लागीपरेका छन् । पोखराबाट पाल्पा हुँदै लुम्बिनी र लुम्बिनीबाट पाल्पा हुँदै पोखरा आउजाउ गर्नेले अहिले केहीबेर सुस्ताउने ठाउँ मात्र बनेको छ भालुपहाड । तर, अब भने पर्यटकलाई घन्टौं समय बिताउने गरी पूर्वाधार बनाएर बसाइँ अवधि बढाउने लक्ष्यका साथ पूर्वाधार बनाउने तयारी भएको छ । पर्यटकका लागि गन्तव्य बाहेक अहिले पनि फाट्टफुट्ट हुने फिल्म छायांकनका लागि पनि यो गन्तव्य बन्न सक्ने सरोकारवालाको भनाइ छ ।

२०१७ सालमा सिद्धार्थ राजमार्ग निर्माणसँगै त्यसवरिपरिका धेरै जंगल र पहराको संरचना हराए । निर्माणसँगै भालु लगायत जंगली जनावर विस्थापित भए । भारतीयले राजमार्ग निर्माण गर्ने क्रममा भालुपहरामा भालुपहाड नामले संकेत दिए । पछि भालुपहरा भालुपहाडका रूपमा परिचित हुन थाल्यो।

सडकछेउको प्रतिक्षालय र चुचुरोमा पुगेर केहीबेर चिसो हावासँग स्पर्श गर्ने र सिजनको बेला पिकनिक खाने बाहेक अहिलेसम्म भालुपहाडले आउजाउ गर्ने पर्यटकलाई तान्न सकेको छैन । अब पूर्वाधार बनाएर पाहुनालाई केहीबेर अड्याउनेदेखि आसपासका गाउँमा होमस्टे खोलेर गाउँसम्म पु¥याउने प्रयास पनि योजनामा छ । राजमार्ग हुँदै आउजाउ गर्ने पर्यटकलाई रोक्ने नै यो योजनाको मुख्य लक्ष्य रहेको छ । हिउँदमा उत्तरतिर हेर्दा टलक्क टल्केका हिमाल देखिने ठाउँसमेत भएकाले यसलाई बहुरूपी तरिकाले पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयतहका पदाधिकारीको भनाइ छ । हेपिएको भालुपहाड अब साँच्चै आकर्षक पर्यटकीय गन्तव्य बन्ने उनीहरूको योजना छ ।
यसकै लागि फेदिखोला गाउँपालिकाले भालुपहाडलाई पर्यटकीय केन्द्र बनाउने गुरुयोजना निर्माण गरेको छ । करिब १० रोपनी जग्गामा ४५ करोड रुपैयाँको लागतमा निर्माण हुने भालुपहाड पर्यटकीय गुरुयोजना सार्वजनिक गरेको छ । भालुपहाड पुतलीबजार नगरपालिका–४ र फेदिखोला गाउँपालिका–२ को सिमानामा पर्दछ । सिद्धार्थ राजमार्ग भालुपहाड हुँदै गएको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउने महत्वाकांक्षी योजना बनाएको छ ।

स्याङ्जा, पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला हो । पहाडैपहाडको जिल्ला अर्को परिचय हो । भालुपहरा अर्थात भालुपहाड जिल्लामैै प्रमुख पर्यटकीय केन्द्रको सम्भावना बोकेको ठाउँ हो । स्वच्छ, सफा, शान्त र मनोरम दृश्यावलोकनका लागि आन्तरिक र वाह्य पर्यटकको गन्तव्य हो । सेतीखोला, धौलगिरी, माछापुच्छ«े, अन्नपूर्ण लगायत दर्जनौं हिमाल देखिन्छ यहाँबाट । यो चलचित्र छायांकन, पिकनिक स्पोटका रूपमा पनि परिचित छ । विश्वमै प्रसिद्घ धार्मिकस्थल लुम्बिनी, मुक्तिनाथ र पर्यटकीय राजधानी पोखरा जाने सिद्धार्थ राजमार्गसँगै भालुपहाड जोडिएको छ । पोखरादेखि करिब २८ र वालिङ देखि ४५ किलोमिटर दूरीमा भालुपहाड रहेको छ । पाल्पा तानसेनदेखि एक सय र लुम्बिनीदेखि एक सय ४० किलोमिटरमा पर्दछ।

भालुपहाडको इतिहास
भालुपहाडको वास्तविक नाम भालु पहरा हो । तत्कालीन देउराली पञ्चायत (हाल–फेदिखोला) र गणेशपुर पञ्चायत (हाल–पुतलीबजार) को सीमामा पर्दछ । पाती हाल्नेबाट हेर्दा भालु सुतेको जस्तै देखिन्छ यो ठाउँ । भालु सुतेको पहरा भालुपहरा भएको किंवदन्ति पाइन्छ । सिद्धार्थ राजमार्ग बन्नु अगावै ठूलो पहरा थियो । पहरासँगै वनजंगल पनि । जंगलमा काठेभालुहरू बस्थे । उनीहरू पहराको कुना–कन्दरा, गुफामा बस्थे ।

तर, २०१७ सालमा सिद्धार्थ राजमार्ग निर्माणसँगै त्यसवरिपरिका धेरै जंगल र पहराको संरचना हराए । निर्माणसँगै भालु लगायत जंगली जनावर विस्थापित भए । भारतीयले राजमार्ग निर्माण गर्ने क्रममा भालुपहरामा भालुपहाड नामले संकेत दिए । पछि भालुपहरा भालुपहाडका रूपमा परिचित हुन थाल्यो । भालुपहाडमा चहलपहल २०६२÷०६३ को जनआन्दोलनपछि अझ हुन थाले । तत्कालीन माओवादीले भालुपहाड गुरुयोजना निर्माण गरेका थिए । जनयुद्धमा सेनाले माओवादी लडकुलाई त्यहाँ लगेर मारेका थिए । तर, माओवादीले सामान्य सहिद पार्क निर्माण गरेर छाडे ।

भालुपहाड गुरुयोजना
पाती हाल्ने थुम्को (ढुंगे देउरालीसँगै थुम्को) लाई सेती खोलाले घेरेको छ । सिद्धार्थ राजमार्गबाट थुम्कोसम्मको दूरी १ सय ७५ मिटर पर्दछ । थुम्कोसम्म पुग्नलाई झोलुंगे पुल निर्माण गरिने भएको छ । सिढी चढेर मुख्य प्रवेशद्वारबाट भित्र पस्न सकिनेछ । भित्र आकर्षक पार्कसहितको फाउन्टेन, बगैंचा र चमेनागृह रहनेछन् । पार्कभित्र शिव र बुद्धका २३ फिट अग्ला मूर्ति हुनेछन् । दुई मूर्तिलाई जोड्न १० मिटर अग्लो र १४ मिटर लामो काठको पुल निर्माण गरिनेछ । सेती नदीको किनारदेखि थुम्कोसम्म २ सय ५० वटा सिँढी निर्माण हुनेछ । सेती नदीलाई थुनेर ताल बन्नेछ । तालमा जल खेलकुदको व्यवस्था हुनेछ। भालुपहाडनजिकैका गाउँमा होमस्टे सञ्चालनको अवधारणा बनाएको गाउँपालिका प्रमुख घनश्याम सुवेदीले जानकारी दिए । योजना सम्पन्नपछि करिब १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने उनले बताए ।

पिपिपी मोडलमा निर्माण हुने
गुरुयोजना महत्वाका‌ंक्षी छ। गाउँपालिकासँग पर्याप्त बजेट नभएकाले पिपिपी मोडलमा निर्माण हुने गाउँपालिका प्रमुख घनश्याम सुवेदीले बताए । जनतालाई सहभागिता गराउन सके अपनत्व बोध हुने उनको दाबी छ । उनले भने, ‘जनतासँग पर्याप्त लगानी नभए पनि सहभागी गराउनुपर्छ । लगानी भएपछि माया लाग्छ ।’ गाउँपालिका अन्तर्गतका सम्पूर्ण जनतासँगको सहकार्य, जिल्लाका निजी लगानीकर्ता र सबै स्थानीय तहसँग समन्वयमा योजना अघि बढाइने र सबैसँग सहयोग माग्ने उनको लक्ष्य छ । जनताको लगानी जनताकै लागि हुने गरी योजना बनाउने उनले बताए । यो विशेषगरी फेदिखोला गाउँपालिकाका जनताको गौरवको आयोजना हुने दाबी गरे ।

साढे तीन वर्षमा योजना सम्पन्न गर्ने
गुरुयोजनाको डिजाइन तथा लागत स्टमेट डमी डेभलपर्स काठमाडौंले गरेको हो । गाउँपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारद्वारा महत्वका साथ हेरिएको छ। स्याङ्जा जिल्लाको गौरवको आयोजना अन्तर्गत भालुपहाड गुरुयोजनालाई लिइएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा सम्बोधन गर्ने कार्यक्रम रहेको गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले बताए । पोखराबाट पर्यटकलाई विकेन्द्रीकरण गर्नका लागि छिमेकी जिल्लामा पर्यटन गन्तव्य बनाउने प्रदेश सरकारको लक्ष्य रहेको मन्त्री गुरुङले जानकारी दिए । निर्माण कार्य सुरु गरेको साढे तीन वर्षभित्र सबै कार्य सम्पन्न हुने इन्जिनियर सन्दिप डोटेलको दाबी छ ।

पुतलीबजार नगरपालिका र फेदिखोलाबीच सिमाना विवाद
फेदिखोला गाउँपालिकाले भालुपहाड गुरुयोजना सार्वजनिक गरेसँगै पुतलीबजार नगरपालिकाले भालुपहाडको केही भाग आफ्नो रहेको दाबी गरेको छ । पुतलीबजार नगरपालिकाद्वारा केही दिनअगाडि नापी कार्यालय स्याङ्जाको सहयोगमा सिमाना कायम गरेको छ । पुतलीबजार नगरपालिकाको सिमाना फेदिखोला गाउँपालिका–४ मा पर्ने पोखरेलहरूको बस्ती माथिसम्म कायम गरिएको छ । नगरपालिका र गाउँपालिकाका प्रमुखबीच समन्वयको अभावमा विवाद सतहमा आएको बताउँछन्, जिल्ला पर्यटन विकास समितिका पूर्व अध्यक्ष अनन्तकुमार श्रेष्ठ । उनले भने, ‘बाहिर आएको विवाद खासै केही होइन । समन्वय अभावको परिणाम हो ।’ फेदिखोलाले तयार पारेको गुरुयोजना अनुसार मुख्य संरचना सबै फेदिखोलामा पर्ने उनले बताए । बिना अध्ययन गुरुयोजनामाथि शंका, उपशंका ल्याउन नहुने उनको तर्क छ । फेदिखोलाले गुरुयोजना निर्माण गरे लगत्तै पुतलीबजार पनि गुरुयोजना बनाउने तयारीमा लागेको छ ।

‘समन्वयको अभाव भयो’
पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले गुरुयोजना निर्माण गर्दा समन्वयको अभाव भएको बताएकी छिन् । ‘गुरुयोजना निर्माण गर्दा छिमेकी स्थानीय तहसँग समन्वय गर्नुपथ्र्यो,’ क्षेत्रीले भनिन्, ‘त्यसो नहुँदा केही समस्या भएको हो ।’ बाहिर आएको हल्ला सत्य नभएको उनले दाबी गरिन् । भालुपहाडको विकास हुनु समग्र स्याङ्जाको विकास हुने भएकाले जसले गरे पनि हुने उनको तर्क छ । ‘तर, आँधीखोला, पुतलीबजार र फेदीखोला गाउँपालिका मिलेर गुरुयोजना निर्माण गरेको भए राम्रो हुनेथ्यो,’ उनले थपिन् । छिट्टै तीनवटै स्थानीयतह बसेर समस्याको समाधान निकाल्ने उनले बताइन् ।

‘आँधीखोलासँग कुनै विवाद छैन’
आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले दोसाँध गुरुयोजना बनेपनि आफूहरूसँग कुनै विवाद नरहेको स्पष्ट पारे । ‘विकास जसले गर्दा पनि हुन्छ,’ उनले भने, ‘विकास हुनुपर्यो म र मेरो गाउँपालिकाबाट कुनै अवरोध छैन, हुनेछैन ।’ भालुपहाड पर्यटकीय गन्तव्य बन्दा समग्र स्याङ्जाको पहिचान हुने भएकाले आफ्नो तर्फबाट लगानी लगायत अन्य कुरामा पनि सहयोग रहने उनले बताए । जिल्लाको समग्र विकासका लागि ११ वटै स्थानीय तहसँग समन्वय र सहकार्यले मात्र समग्र स्याङ्जाको विकास हुनेमा उनी विश्वस्त छन् । उनले भने, ‘फेदिखोला गाउँपालिकाले बनाएको गुरुयोजना समग्र स्याङ्जाको गौरवको आयोजना हो । नेतृत्व मात्र फेदिखोलाको ।’ स्याङ्जाको गौरवको आयोजना भएकाले सम्पूर्ण स्याङ्जालीले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘गुरुयोजना हाम्रो भूगोलमा मात्र बन्छ’
फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले संरचना फेदिखोला गाउँपालिकाको भूगोलमा मात्र बन्ने जानकारी दिए । गुरुयोजना आफ्नो सिमानाभित्र मात्र गरेको उनले बताए । उनले भने, ‘गुरुयोजना निर्माण गर्दा पुतलीबजार नगरपालिकाको कुनै भूभागलाई छोएको छैन ।’  पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकाबीच सिमाना विवाद हल्ला मात्र भएको उनको भनाइ छ । नेतृत्वमा कुनै समस्या नभएको उनको दाबी छ । ‘आधिकारिक विवाद केही छैन,’ उनले भने, ‘गुरुयोजनाका बारेमा पटक–पटक सरोकारवालासँग छलफलमा बसेका छौं ।’ गुरुयोजनाले समग्र जिल्लाकै अर्थतन्त्रको विकास हुने भएकाले विवाद गर्नुपर्ने कारण आफूसँग नभएको र नदेखेको उनले बताए । पुतलीबजार र आँधीखोलासँग आफू सदैव सहकार्य, समन्वय र कार्यगत एकता गर्न तयार रहेको उनको भनाइ छ ।
स्थानीय चित्रबहादुर कार्कीले गुरुयोजना फेदिखोला गाउँपालिकाको सिमानामा बन्ने बताए । तत्कालीन देउराली पञ्चायत र गणेशपुर पञ्चायतको सिमानालाई हेर्दा भालुपहाड गुरुयोजना देउराली पञ्चायत अर्थात फेदिखोला गाउँपालिकामा बन्नेमा उनी ढुक्क छन् । जिल्लामा ठूला–ठूला योजना ल्याउन सके रोजगारीको अवस्था सिर्जना हुने उनको भनाइ छ । भालुपहाडलाई पर्यटकीय गन्तव्य बनाउन सकेमा जिल्लाको नाम देश तथा विदेशमा फैलिने उनले बताए ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad