८ वैशाख २०८१ शनिबार
राजनीति

गण्डकी प्रदेशको लोगोमाथि कपिराईटको उजुरी

लोगो तथा पोशाक सिफारिस समितिले पेश गर्न सिफारिस गरेको लोगो, यो लोगो गोरखाका विनित रानामगरले बनाएका हुन्

पोखरा- प्रदेशको लोगो तथा पोशाक सिफारिस समितिले कार्यव्यवस्था परामर्श समितिका बुझाएको गण्डकी प्रदेशको लोगोमाथि कपिराईटको उजुरी परेको छ। भदौ ३० गते प्रदेशसभा सदस्य मायानाथ अधिकारीको संयोजकत्वमा मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा, हरिशरण आचार्य सहभागी बैठकले गोरखाका विनित रानामगरको लोगो कार्यव्यवस्था परामर्श समितिमा पेश गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

उक्त बैठकमा सभामुख नेत्रनाथ अधिकारी, आन्तरिका मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, उपपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्यहरु कृष्ण बहादुर थापा र कुमार खड्का समेत सहभागी थिए।

गण्डकी प्रदेशले समग्र पहिचान झल्किने प्रदेश चिह्न (लोगो) भने असोज १५ गते मात्र सार्वजनिक भएको थियो। लोगो सार्वजनिक भएको २ दिनपछि अर्का प्रतिष्पर्धी पोखरा १७ का महेन्द्र उपाध्यायले प्रदेशसभा सचिवालयमा आफ्नो लोगो हुबहु भएको उजुरी दर्ता गराएका हुन्।

उजुरीकर्ता महेन्द्र उपाध्यायले प्रदेशसभामा पठाएको लोगो 

उपाध्यायले २ वटा लोगोको नमुना प्रदेशसभाको ईमेलमा पठाएका थिए। तर, उनको लोगो छनोट भएन। छनोट नभएतापनि आफुले पठाएका २ वटा लोगो मिलाएर थोरैमात्र परिमार्जन गरिएको उनले दाबी गरेका छन्।

प्रदेशसभा सचिवालयमा दर्ता गरिएको उजुरीमा उपाध्यायले भनेका छन्, ‘प्रदेशसभाले असोज १५ गते सार्वजनिक गरेको गण्डकी प्रदेशको लोगो, म पोखरा १७ निवासी महेन्द्र उपाध्यायले यस प्रदेशका लागि डिजाईन गरेर पेश गरेको लोगोसँग अधिकांश भाग हुबहु मिल्न गएकोमा अचम्मित भएको छ। मैले मेलमार्फत पेश गरेका दुई लोगोहरुलाई मिलाएर बनाएको लोगोमा केहि थोरै कुराहरु मात्रै परिमार्जन गरि बनाईएको अर्को एक लोगो स्विकृत हुँदा दुःख लागेको छ। हाल स्विकृत लोगो संसद सचिवालयका कर्मचारीले निर्माण गर्नुभएको भन्ने बुझिन्छ। सबै लोगोको नमुना हेरेपछि हुबहु नक्कल गरि बनाएकोले आवश्यक छानविन होस भन्ने मेरो मत रहेको छ।’

यस्तै, उनले आफ्नो सम्मान र लगावलाई अन्य कसैले प्रयोग गरेर परिश्रमको अवमूल्यन हुन पुगेको हुँदा आवश्यक छानविन गर्न माग गरेका छन्।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कार्यव्यवस्था परामर्श समिति भित्रकै सदस्यहरुबाट बनेको लोगो तथा पोशाक सिफारिस समितिबाट निर्णय भएको बताए। उजुरीको विषयमा भने के गर्ने भन्नेबारे उनले भने, ‘मौखिक जानकारी मात्र पाएको छु, केही निर्णय लिईसकिएको छैन्।’

उक्त समितिले लोगोसहित प्रदेशसभा सदस्यहरुको लागि खैरो रंगको पोशाक सिफारिस गरेको छ। गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरुले लोगोसहित खैरो कोट लगाउनुपर्नेछ।

सचिवालयले २०७५ सालको साउन २१ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा मार्फत लोगो माग गरेको थियो। त्यसका लागि पवन पौडेल, विनित रानामगर, अनुसन्धान पोखरेल, महेन्द्र उपाध्याय र प्रेम श्रेष्ठले १२ वटा लोगोको नमुना प्रदेशसभामा पठाएका थिए। ती मध्ये प्रतिष्पर्धाको आधारमा विनित मगरको लोगो छानिएको हो।

प्रदेशसभा नियमावलीको नियम २०६ अनुसार प्रदेशसभा सदस्यहरुको पोशाक तथा प्रतीक चिन्ह (लोगो) कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुनेछ भन्ने व्यवस्था रहेको छ।

               

प्रकाशित: १७ आश्विन २०७५ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App