८ वैशाख २०८१ शनिबार
शिक्षा

कानुनमा विद्यार्थीको चाप: एलएलबी पढ्न १२ हजार भर्ना

काठमाडौं– कानुनको स्नातक तह (एलएलबी) पढ्न नेपाल ल क्याम्पसमा झन्डै १२ हजार विद्यार्थी भर्ना भएका छन्। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रहेको ल क्याम्पसमा एकै वर्षमा यति धेरै विद्यार्थी भर्ना भएको यो पहिलो अवसर हो। क्याम्पस प्रशासनका अनुसार एलएलबी प्रथम वर्षमा यो संख्या अझै बढ्ने क्रममा छ।

ल क्याम्पसका सह–प्राध्यापक तारा प्रकाश पौडेलका अनुसार मंगलवारसम्म झन्डै १२ हजार विद्यार्थी भर्ना भएका छन् भने भर्ना हुनका लागि क्याम्पसले तोकेको सोमवारसम्मको समयसिमामा भर्ना शुल्क दाखिला गरेका विद्यार्थीको भर्ना लिने क्रम जारी छ।

एलएलबी कार्यक्रमका लागि धेरै विद्यार्थीको चाप बढेपछि क्याम्पस आश्चर्यचकित भएको छ। गत वर्ष एलएलबीको यहि शैक्षिक कार्यक्रमका लागि जम्मा ४ हजार २ सय ५० विद्यार्थी भर्ना भएका थिए। (तस्बिरमा भर्ना हुन लामबद्द विद्यार्थी)

भौतिक पूर्वाधारको कमि रहेकाले क्याम्पसले जम्मा ८ सय विद्यार्थी मात्रै भर्ना लिने निर्णय गरेर प्रवेश परीक्षा लिएको थियो। प्रवेश परीक्षाका लागि ५ हजार विद्यार्थीको आवेदन परेको थियो। तर केही राजनीतिक दलका विद्यार्थी संगठनले सबै विद्यार्थीले भर्ना पाउनुपर्ने दलिल गर्दै प्रवेश परीक्षाको कपि च्यातेका थिए र त्यो प्रक्रियालाई विथोलेका थिए। विद्यार्थी संगठनको विरोध र अदालतको आदेशपछि सबै इच्छुकलाई भर्ना दिने निर्णय गरेर गएको आइतवारसम्म भर्ना अवधि तोकिएको थियो।

क्याम्पसको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियुका सभापति हरि पंगेनीले एलएलबी प्रथम वर्षका लागि ११ हजार ५ सय विद्यार्थी भर्ना भएको आफ्नो जानकारीमा रहेको बताए। १२ हजार विद्यार्थीबाट क्याम्पसले दश करोड ८० लाख रुपैंया भर्ना शुल्क संकलन गरेको छ। हरेक विद्यार्थीले प्रवेश परीक्षा शुल्क, पुुस्तकालय र अन्य शुल्क गरि भर्ना हुन ९ हजार १ सय ५० रुपैयाँ तिर्नुपर्छ।

विद्यार्थीको चाप बढेपछि कक्षा कोठा व्यवस्थापन गर्न गाह्रो भएको छ। विद्यार्थीले कक्षा कोठामा प्रवेश गर्नै धौ धौ परेको गुनासो गरेका छन्। विद्यार्थी बालानन्द कँडेलले जम्मा ४ सेक्सनमा सबै विद्यार्थीलाई कोचिएकोले शिक्षकले पढाएको नसुनिने र विद्यार्थी सिटमा बस्नै नसक्ने अवस्था रहेको बताए। चार सेक्सनमा जम्माजम्मी ६ सय विद्यार्थी मात्रै अटाउँछन्। एलएलबीका कक्षा विहानी सत्रमा सञ्चालन गरिएका छन्। एलएलबीमा भर्खरै भर्ना गरेका अशोक तिमिल्सेनाले सरकारी उच्च ओहोदामा पुग्नका लागि यो उपाधी महत्वपूर्ण रहेकाले आफूपनि भर्ना भएको बताए। धेरै सरकारी कर्मचारीले आफ्नो पदोन्नतीका लागि एलएलबी उपाधी लिने गरेका छन्।

आगामी वर्ष देखि चार वर्षे कोर्ष लागू हुन लागेको भन्ने हल्लाले एलएलबी को तीन वर्षे कोर्षमा विद्यार्थीको अचानक चाप बढेको क्याम्पस प्रशासनको ठम्म्याइ छ। कक्षा कोठामा प्राध्यापकहरुले लाउड स्पिकर प्रयोग गरेर पढाइरहेका छन्।सह प्राध्यापक पौडेलले भने, ‘हामीसँग विद्यार्थीलाई व्यवस्थित तवर पढाउने कुनै विकल्प छैन। अब त भृकुटीमण्डपको खुला चौरमा बसालेर माइकिङ गर्दै पढाउनुपर्ने अवस्था छ।

क्याम्पस प्रशासनले ठूलो संख्यामा विद्यार्थी भर्ना गरेर व्यवस्थित शिक्षण गतिविधि सञ्चालन गर्न असफल भएको सरोकारवालाको गुनासो छ। रिपब्लिका दैनिकका लागि अशोक दाहाल र अनन्तराज लुईंटेल। याे समाचार अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहाेस्।विद्यार्थीको चाप धेरै भएपछि पार्किङस्थल पनि साँगुरो भएको छ।
 

प्रकाशित: १७ आश्विन २०७५ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App