७ वैशाख २०८१ शुक्रबार
अर्थ

हिमालयले १५ असोजदेखि कोलम्बोको सिधा उडान गर्ने

काठमाडौं— नेपाल—चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले असोज १५ देखि काठमाडौं–कोलम्बो रुटमा सिधा उडान सुरु गर्ने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै कम्पनीले सातामा तीन उडान गर्ने जानकारी दिएको हो।

बिजनेस क्लास ८ तथा इकोनोमी क्लास १५० सहित कूल १५८ सीट क्षमता भएको एयरबस ३२०–२१४ को जहाजले यो नयाँ रुटमा उडान गर्नेछ। हिमालयका तीन उडान मंगलबार, बिहीबार र शनिबार श्रीलंकाको राजधानी कोलम्बो  जानेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० बजे उड्ने र कोलम्बो ३ः१५ मा अवतरण हुने निर्धारित तालिका तय गरिएको छ।

कोलम्बोका लागि एकतर्फी भाडादर २९ हजार १ सय ९१ रुपैयाँ तय गरिएको छ। दुईतर्फी भाडा ५० हजार ४१ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

कोलम्बोबाट ४ः१५उड्ने र काठमाडौं ८ः१५ मा आइपुग्ने तालिका तय गरिएको कम्पनीले जनाएको छ। कोलम्बोका लागि एकतर्फी भाडादर २९ हजार १ सय ९१ रुपैयाँ तय गरिएको छ। दुईतर्फी भाडा ५० हजार ४१ रुपैयाँ पर्नेछ।

‘यसअघिका दुई गैरनिर्धारित कोलम्बो उडानबाट हामीले उत्साहजनक प्रतिक्रिया सहित व्यापारिक सम्भावना देख्यौं’, हिमालय एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने, ‘दुई देशबीच वर्षौंदेखि यात्रुको चापलाई अध्ययन गरेर हामीले दोस्रो गन्तव्यमा कोलम्बो छानेका हौं।’

काठमाडौं—कोलम्बोबीचको सिधा उडानले नेपाल र श्रीलंकाबीच पर्यटन प्रवद्र्धन गर्दै दुई देशबीच व्यापारिक अवसर प्रदान गर्न सघाउने उनले बताए। बुद्धजन्मस्थल लुम्बिनी लगायतका बौद्ध तीर्थस्थल भ्रमणमा नेपाल आउने श्रीलंकाली पर्यटक सिधा उडानबाट लाभान्वित हुने श्रेष्ठले बताए। पछिल्लो समय श्रीलंका घुम्न जाने नेपाली पर्यटक पनि बढ्दै गएका छन्।

हिमालयले कोलम्बोको लागि जेनरल सेल्स एजेन्ट (जेएसए) मा क्लासिक ट्राभललाई नियुक्त गरेको जनाएको छ। सो कम्पनीले श्रीलंकामा बजार विकास, सिट आरक्षण, टिकेटिङ गर्नेछ।

छिटै नयाँ जहाज र दिल्ली उडान
हिमालय एयरलाइन्सले तेस्रो गन्तव्य नयाँ दिल्ली हुनसक्ने जानकारी भाइस प्रेसिडेन्ट श्रेष्ठले दिए। उनका अनुसार अक्टोबर अन्त्यसम्म दिल्ली उडान सुरु हुनसक्छ।
'उडान अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। हाम्रो तेस्रो उडान गन्तव्य दिल्ली हुनसक्छु, उनले भने।

अक्टोबरभित्रै दोस्रो जहाजको रुपमा नयाँ एयर बस ३२० सेरिजको विमान ल्याउने उनले बताए। सो नयाँ जहाजले काठमाडौंबाट चीनका सहरहरु चेंगदु, ल्हासा र बेइजिङ रुटमा उडान गर्ने तयारी हिमालयको छ।

३१ चैत २०७२ मा काठमाडौं—कोलम्बो उडान भरेर हिमालय एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुरु गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण गत चैतमा हिमालयकै जहाज एयरबस ३२०–२१४ बाट गरेका थिए। जेठ १८ २०७३ देखि हिमालयले काठमाडौं–दोहा रुटमा दैनिक उडान सञ्चालन गर्दै आएको छ।

हिमालय एयरलाइन्समा ४८.९९ प्रतिशत लगानी तिब्बत एयरलाइन्सको छ भने ५१.०१ प्रतिशत लगानी नेपाली लगानीकर्ताको रहेको छ। आगामी पाँच वर्षभित्र १५ वटा जहाज ल्याएर काठमाडौंबाट एशियाका विभन्न तन्तव्यमामा उडान सञ्चालन गर्ने कम्पनीले जनाएको छ।

भिडियो

प्रकाशित: ४ आश्विन २०७३ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App