coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मझुवागढी जान पदमार्ग

खोटाङ – पर्यटन प्रवर्धनका लागि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने प्रवेशद्वार र पदमार्ग उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी तथा कालिका भगवती मन्दिर जाने पदमार्ग र प्रवेशद्वार उद्घाटन गरिएको हो । नगरपालिकाको २० लाख लगानीमा निर्माण गरिएको फलामे रेलिङसहितको प्रवेशद्वार र पदमार्गको मेयर दिपनारायण रिजालले उद्घाटन गरेका हुन्। 

दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने मझुवागढीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनका लागि पदमार्गसहित प्रवेशद्वार निर्माण गरिएको हो । नगरपालिकाको व्यापारिक केन्द्रका रुपमा रहेको दिक्तेलबजार नजिकै रहेको मझुवागढीमा पर्यटनको राम्रो सम्भावना भएकाले आन्तरिक तथा बाह्य पर्यटक ओहोर–दोहोर गर्ने पदमार्ग निर्माण गरिएको नगरपालिकाले जनाएको छ। 

मझुवागढी चढ्न र झर्नका लागि केही वर्षअघि तत्कालीन जिविसमार्फत सञ्चालित एसबिएलएल परियोजनाले निर्माण सुरु गरेको पदमार्गलाई पूर्णता दिनेक्रममा नगरपालिकाले पनि बजेट खर्च गरेको हो । मझुवागढीमा घुमफिर, दृश्यावलोकन तथा दर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतलाई ध्यानमा राखेर पदमार्ग निर्माण सुरु गरिएको हो। 

यद्यपी, गढी पुग्ने पदमार्ग निर्माणको काम अझै बाँकी छ । समुन्द्री सतहदेखि करिब २ हजार मिटर अग्लो गढी परिसरमा पर्यटकका लागि वर्षाको समयमा बस्ने ट्रष्ट तथा पानीको समेत व्यवस्था मिलाइएको छ । बाह्रै महिना आन्तरिक पर्यटक आउने गढीको पर्यटन प्रवर्धनका लागि गुरुयोजना समेत बनिसकेको छ। 

चारैतिर हरियाली जंगलले घेरिएको गढीमा घुमफिर गर्ने, पिकनिक जाने, अध्ययन भ्रमण गर्ने, साहित्यीक तथा सांगीतिक कार्यक्रम गर्नेसम्मका स्थानीय पुग्ने गरेका छन् । अग्लो डाँडा भएका कारण टाढा–टाढाका दृश्यावलोकनकालागि समेत स्थानीय मझुवागढी उक्लिने गर्छन् । यसबाहेक मझुवा कालिका भगवतीको दर्शन गर्न र भाकल पूरा गर्न आउनेको भीड दैनिक लाग्ने गरेको छ । गढीमा हरेक वैशाख पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने प्रचलन छ । भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ। 

मझुवाको अर्थ ‘माझ’ भन्ने बुझिन्छ । पश्चिम दिशामा रहेको नुनथलास्थित महुरेगढी, पुर्वमा याम्खास्थित चुइचुम्पा गढी र दक्षिणमा रहेको राजापानीस्थित खाम्तेल गढीको माझमा रहेका कारण सो डाँडालाई मझुवा गढी भनिएको जानकार बताउँछन् । मझुवा गढीबाट चारैतिरका गढीहरु देखिन्छ । वि.सं. १८०४ सालसम्म किराती राजा रणवीर हाङले राज्य गरेको प्रमाणका आधारमा मझुवागढीलाई ऐतिहासिक थलो मानिन्छ । गढीको उत्तर दिशामा बारुद, ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टीको भग्नावशेष अहिले पनि देख्न सकिन्छ।

गढीको बिच भागमा मौली (रणवीर राजाका रैतिहरुले दशैं मान्नकालागि ल्याएका राँगा र बोका राख्ने ठाँउ) यथावत छ । मौलीको केही अगाडि पूजाआजा गर्ने ठाउँ रहेको छ । त्यसभन्दा केहीमाथि राजाको दरवार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ अवलोकन गर्न सकिन्छ । गढीवरीपरि बंकरको घेरा समेत प्रष्ट देख्न सकिन्छ छ । गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ, पूर्वतर्फ फुलपातिडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । गढीको केही तल कालिका भगवती मन्दिर रहेको छ। 

प्रकाशित: १७ आश्विन २०७५ ०४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App