coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

झुटको पब्लिसिटी स्टन्ट

मुम्बई – बलिउडका ठूला स्टार फिल्मको प्रचारका लागि झुट  बोल्न थालेका छन् । उनीहरुको झुटले फिल्मको प्रमोसनमा केही फाइदा पुगे पनि दर्शकका लागि भने स्टारप्रतिको भरोसा विस्तारै कम हुँदै गएको छ । अहिले भारतीय दर्शक कलाकारका हरेक बोलीलाई ‘पब्लिसिटी स्टन्ट’ मान्न थालेका छन्।

बलिउडको गम्भीर अभिनेताका रुपमा चिनिने अजय देवगनले केही समय अघि श्रीमति काजोलको वाट्सएप नम्बर ट्विटरमा पोष्ट गरे । अजयले ट्विटरमा ‘काजोल अहिले देश बाहिर छिन् । तपाई उनको वाट्सएप नम्बर ९८२०१२३३०० मा सम्पर्क गर्न सक्नुहुनेछ’ भन्दै ट्विटे । अजयको यो ट्विट सामाजिक सञ्जालमा भाइरल नै बन्यो । केही दर्शकले काजोलको नम्बरमा म्यासेज गरिरहँदा केहीले भने अजयको ट्विटर एकाउन्ट ह्याक भएको हुनसक्ने अड्कलबाजी गरे । तर केही घण्टा पछि जब अजयले ट्विटरको कुरा ‘मजाक’ रहेको बताए  तब मात्र दर्शकले अजयले काजोलको रिलिज हुन लागेको फिल्म ‘हेलिकप्टर इला’को प्रमोसनका लागि झुटा नम्बरको  ‘स्टन्ट’ गरेको बुझे। 

केही समय अघि कमेडियन भारती सिंहले पनि यस्तैे झुटो बोलिन् ।  रियालिटी सो ‘बिग बोस’ सार्वजनिक हुने समयमा भारती सिंह र उनका लेखक पति हर्ष लिम्बाचियालाई पहिलो प्रतियोगी जोडीका रुपमा चिनाइएको थियो । भारती र हर्षले मिडियामा बढाइचढाइ गर्दै अन्तरवार्ता पनि दिए । तर ‘बिग बोस’ सुरु हुँदा भारती र हर्ष दुवै थिएनन् । दुवैले यहाँ पनि दर्शकलाई ‘अप्रिल फुल’ बनाएका थिए।

अजय र भारती जस्ता चलेका कलाकारले झुटको सहारा लिएपछि आगामी दिनमा उनीहरूको कुरामा कसरी विश्वास गर्ने भन्ने प्रश्न उठ्न थालेको छ ।   कलाकारका लागि सामाजिक सञ्जाल प्रचारका लागि गतिलो माध्यम बनेको छ । तर दर्शकको भावना वा उनीहरूको भरोसा माथि खेलवाड गर्नु कलाकारका लागि नै घाटाको व्यापार हुँदै गएको छ। 

फिल्म ‘पिंक’का समयमा जब अभिनेता अमिताभ बच्चनले आफ्नी नातिनी आराध्या बच्चन र नवासी नव्या नवेली नन्दाको नाममा एक भावुक पत्र लेखे । त्यो बेला उनका शुभचिन्तकले त्यो पत्रलाई फिल्मको पब्लिसिटी स्टन्टका रुपमा लिएर आलोचना गरे । हालै मात्र अभिनेत्री शिल्पा सेठ्ठीले एक अष्ट्रेलियन एयरलाइन्समा आफू विभेदको सिकार बनेको आक्रोस सार्वजनिक रुपमा व्यक्त गरेपछि शिल्पाले नै पब्लिसिटीका लागि रेसिष्ट कार्ड प्रयोग गरेको आरोप खेप्नु पर्याे । यसअघि पनि शिल्पाले ब्रिटिश रियालिटी सोमा आफूलाई रंगभेद गरिएको बताएकी थिइन्। 

अजय, भारती, अमिताभ, शिल्पा ‘पब्लिसिटी स्टन्ट’ गराउने कलाकारको प्रतिनिधि पात्र मात्र हुन् । यी बाहेक बलिउडमा अन्य केही कलाकारको ‘पब्लिसिटी स्टन्ट’का तरिका पनि अनौठा छन् । राखी सावन्त, पुनम पाण्डे  जस्ता नायिकाहरू पब्लिसिटीका लागि जे पनि गर्ने कलाकारका रुपमा चिनिन्छन् । ‘बिग बोस’को  सिजनमा पनि अनुप जलोटा र जसलिन मथारूले पनि सोकै लागि मात्र अफेयरको हल्ला फैलाएको चर्चा बलिउडमा छ । नायिका उर्वशी रौटेला पछिल्लो दिनमा चंकी पाण्डेका भतिजा अहान पाण्डेका साथ कफी डेटमा देखिइन् । धेरैले उनीहरूको अफेयरको चर्चा गरे पनि वास्तविकता भने उर्वशीले आफ्नो जनसम्पर्क बढाउन अहानसँग दोस्ती बढाएको सार्वजनिक भएको थियो। 

प्रचारात्मक व्यापारका जानकारहरु भने नाम चलेका कलाकारले प्रचारको काम सोचेर र सम्झेर गर्नुपर्ने बताउँछन् । ‘अजय देवगन या भारती सिंहको कुरालाई विश्वास गर्ने समुदायको बाहुल्यता रहेकाले उनीहरूको झुटले ठूलो स्थान पायो । तर यसको वेफाइदा के छ भने भविष्यमा यी दुई कलाकारको कुरालाई दर्शकले कम गम्भीरताका साथ लिन सक्छन् । उनीहरूले सत्य बोल्दा पनि दर्शकलाई पब्लिसिटी स्टन्ट लाग्न सक्छ।’ 

 

प्रकाशित: १७ आश्विन २०७५ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App