coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्मार्ट लाइसेन्समा लिन १ वर्ष

काठमाडौं – कोटेश्वरका दिलिप न्यौपानेले झन्डै वर्ष दिनअघि नवीकरण गरेको लाइसेन्स लिन तीन पटक यातायात कार्यालय धाए । उनी जति पटक पुगे पनि अर्को पटक आउनु भन्ने जवाफ पाए । बालाजुकी उज्ज्वला घिमिरेले पनि झन्डै वर्ष दिन अघि स्कुटीको ट्रायल पास गरिन् । तर उनले लाइसेन्स भने अझै पाउन सकेकी छैनन् । मागको तुलनामा स्मार्ट लाइसेन्सको आपूर्ति हुन नसक्दा उनीहरुजस्ता हजारौंले लाइसेन्स पाउन सकेका छैनन्।

सवारी साधन अनुमति पत्रको नयाँ प्रमाणपत्र (स्मार्ट लाइसेन्स) वितरण व्यवस्थित हुन नसक्दा सेवाग्राहीले समस्या झेलिरहनु परेको छ । त्यस्तै, रसिदको भरमा चेकजाँच गर्नुपर्दा ट्राफिक प्रहरीलाई पनि असहज भएको छ।

काठमाडौं उपत्यकामा मात्रै दैनिक तीनदेखि चार सयको संख्यामा सेवाग्रहीहरु लाइसेन्स नवीकरणका लागि यातायात कार्यालय पुग्छन् । मोटरसाइकल तथा स्कुटरको नयाँ लाइसेन्स लिन दैनिक पाँच सय आवेदन पर्ने र ठूला सवारी साधनका लागि सातामा ३ सय हाराहारीमा आवेदन पर्ने गरेको यातायात व्यवस्था कार्यालयका लाइसेन्स विभाग प्रमुख श्याम सिंहले बताए । आवेदन दिए मध्ये पाँचदेखि १० प्रतिशत लिखितमा पास हुने र लिखितमा पास भएका मध्ये ३० प्रतिशत ट्रायलमा पास हुन्छन्।

लाइसेन्स नवीकरण एकै दिनमा हुने गरेको छ भने तर नवीकरण भएको स्मार्ट लाइसेन्स लिनका लागि झन्डै वर्ष दिनसम्म पर्खनु पर्ने अवस्था छ । सरकारले यातायात मन्त्रालयलाई पर्याप्त छपाइ मेसिन उपलब्ध नगराउँदा लाइसेन्स आउन ढिला भएको हो,’ प्रमुख सिंहले बताए । छपाइ मेसिन अभावले लाइसेन्स वितरण सूचारु हुन नसकेको मन्त्रालयको भनाइ छ । ‘दैनिक ५ देखि ७ हजारसम्म लाइसेन्सको माग छ तर मेसिन अभावले १५ सय देखि २ हजार लाइसेन्स मात्रै उपलब्ध गराउन सकिएको छ,’ यातायात मन्त्रालयका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले नागरिकलाई भने।

दैनिक ५ देखि ७ हजारसम्म लाइसेन्सको माग छ तर मेसिन अभावले १५ सय देखि २ हजार लाइसेन्स मात्रै उपलब्ध गराउन सकिएको छ।

लाइसेन्स देशको अन्य यातायात कार्यलयबाट उपलब्ध हुने भए तापनि सबैभन्दा बढी चाप यातायात कार्यालय एकान्तकुनामा हुने गरेको छ । सेवाग्राहीहरूलाई मध्यनजर गर्दै अहिले यातायात मन्त्रालयले ३ महिनाको अन्तरालमा लाइसेन्सको आवेदन खोल्ने गरेको छ । दुई पांग्रे तथा साना सवारी साधनका लागि अनलाइनबाट आवेदन दिने व्यवस्था भए पनि ठूला सवारी साधनलाई भने यातायात कार्यलयमै उपस्थित हुनुपर्ने नियम छ।

स्मार्ट लाइसेन्स वितरण भए पनि लाइसेन्स चेक गर्ने उपकरण नहुँदा ट्राफिकलाई चेकजाँच गर्न समस्या भएको ट्राफिक प्रहरीको भनाइ छ । कागजी लाइसेन्सको तुलनामा स्मार्ट लाइसेन्स लामोसमय टिक्ने, पानीले नभिज्ने, नबाङगिने हुँदा प्रयोगमा सहज हुने गरेको छ । चालकले गल्दी गर्दा कागजी लाइसेन्स प्वाल पार्ने व्यवस्था थियो भने हाल त्यो सम्भव नभएको र पर्याप्त मेसिनको अभावमा तत्काल कारबाही गर्न गाह्रो भएको छ,’ महानगरीय ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता जितेस दाहालले भने।

सवारी चालकले गल्ति गरेको खण्डमा लाइसेन्स लैजाने र कार्यलयबाट सर्भरमा राखी कारबाही अघि बढाउने गरिएको उनले बताए । सरकारले पर्याप्त रुपमा मेसिन उपलब्ध गराउने हो भने सवारी चालकको लाइसेन्स चेक गर्न सजिलो हुने र सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने उनको धारण छ।

स्मार्ट लाइसेन्स नेपालमै बने तापनि पर्याप्त मेसिन नहुँदा माग अनुसारको उत्पादन हुन सकेको छैन । ‘अहिलेसम्म यातायात कार्यलयमा ४ वटा मात्रै छपाइ मेसिन रहेका छ जुन एउटा मेसिनबाट १ लाख वटाभन्दा बढी छाप्न नमिल्ने हुन्छ,’ यातायात कार्यालयका इन्जिनियर शाखाका सन्तोष पोखरेलले बताए।

हालसम्म ३ लाख ९९ हजारले स्मार्ट लाइसेन्स लिइसकेका र करिब ५ लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी रहेका मन्त्रालयले जनाएको छ । सरकारले कागजी लाइसेन्सलाई स्मार्ट लाइसेन्समा परिवर्तन गरेसँगै आवश्यक मेसिन उपलब्ध गराउन नसक्दा लाइसेन्स चेकमा कठिनाई भोग्नु परेको ट्राफिक प्रहरीको गुनासो छ।

प्रकाशित: १७ आश्विन २०७५ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App