४ वैशाख २०८१ मंगलबार
समाज

‘सुरक्षा घर’ आफै असुरक्षामा

ओखलढुंगा – अन्यायमा परेका महिला तथा बालिकालाई राख्न ओखलढुंगामा ‘सेफ हाउस’ (सुरक्षित घर) स्थापना गरिएको छ । न्याय खोज्दै सदरमुकाम आउने बेसहारा महिला तथा बालबालिकालाई यसमा राख्ने गरिन्छ । उनीहरूलाई खाना र आवासको व्यवस्था गरिएको छ । यसरी असुरक्षित महिलालाई सुरक्षित राख्ने सेफ हाउस (सुरक्षा घर) आफै भने अनसेफ अर्थात् असुरक्षित देखिएको छ।

खोल्सा र जंगलनजिक एकान्तमा उक्त सेफ हाउस छ । कम्पाउन्ड छैन भने तारबार पनि छैन । यस्तो ठाउँमा घरेलु हिंसामा परेका, शारीरिक तथा यौन हिंसामा परेका महिला राख्ने गरिएको छ । भान्सा कोठा नभएकाले सुत्ने कोठामै खाना पकाउने गरिएको छ । सिद्धिचरण नगरपालिका र जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा सेफ हाउस असुरक्षित पाइएको हो । सेफ हाउस सञ्चालन गरेको परिवर्तनशील महिला सामुदायिक संस्थाकी अध्यक्ष पेमडोमा शेर्पासँग सेफ हाउसको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी मेनुका न्यौपाने र नगर प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी लिएका थिए।

अन्यायमा परेका महिलाहरूलाई राख्ने सेफ हाउस नै असुरक्षित रहेको अध्यक्ष शेर्पाले अनुगमन टोलीलाई जानकारी गराएकी थिइन् । खोल्सा र घना जंगलनजिक रहेको कार्यालयमा कम्पाउन्ड र तार घेराबारको व्यवस्था नहँुदा असुरक्षित देखिएको शेर्पाले बताए । जिल्लाका असुरक्षित तथा अन्यायमा परेका महिलाहरूका लागि सेफ हाउस आवश्यक रहेकाले सबै पक्ष मिलेर सहयोग गर्नुपर्ने नगर प्रमुख श्रेष्ठले बताए । सिद्धिचरण नगरपालिकाले सेफ हाउसको भौतिक विकासका लागि चालू आर्थिक वर्षमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । सेफ हाउसबाट अहिलेसम्म १ सय २२ महिला तथा बालिकाले सेवा लिएको सेफ हाउसकी इन्चार्ज धनकुमारी थापाले बताइन्।

घरेलु हिंसा, बलात्कार, कुटपिट, मनोवैज्ञानिक एवं भावनात्मक दुर्व्यवहार, जबर्जस्ती विवाह, यौन हिंसा लगायत पीडामा परेका महिला तथा बालिकाहरू सेफ हाउसमा आउने गरेको थापाको भनाइ छ । थापाका अनुसार अन्यायमा परी मुद्दा लड्दै गरेका तथा घरबाट निकालिएका महिला तथा बालिकालाई सेफ हाउसमा राखिन्छ । उनीहरूलाई निःशुल्क आवास, खाना, कानुनी सहायता, प्रहरी कार्यालय तथा वकिलहरूसँग समन्वय, उपचार, सीपमूलक तालिम लगायतका सेवा उपलब्ध गराइन्छ । युएनएफपिएको आर्थिक सहयोगमा परिवर्तनशील महिला सामुदायिक संस्थाको अगुवाइमा सेफ हाउस सञ्चालन भइरहेको छ।

प्रकाशित: १७ आश्विन २०७५ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App