coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

संकटमा सीमा स्तम्भ

भारतसँग जोडिएको बाँकेको सीमा क्षेत्रमा जोखिममा परेका सहायक सीमा स्तम्भ । तस्बिर : गणेश/नागरिक

बाँके – नेपाल–भारत सीमा स्तम्भ जोखिममा परेका छन् । सरकारले समयमै मर्मतसम्भार गर्न नसक्दा बाँके क्षेत्रमा रहेका सीमा स्तम्भ जोखिममा परेका हुन् । बाँकेको ६५ किलोमिटर सीमा भारतसँग जोडिएको छ । बाँके–दाङको सिमानादेखि बाँके–बर्दियाको सिमानासम्म ६५ किलोमिटर भारतसँग जोडिएको छ।

६५ किलोमिटर लामो सीमामा ३२ वटा मुख्य र दुई सय ७५ सहायक गरी ३ सय सात सीमा स्तम्भ छन् । जसमध्ये चार मुख्य र पाँच सहायक सीमा स्तम्भ हराएका छन् । ती सीमा स्तम्भ पुरिएको हुनसक्ने अनुमान गरिएको छ । अस्तित्वमा रहेकामध्ये पनि केही स्तम्भ जीर्ण बनेका छन् । मुख्य चार र २१ सहायक स्तम्भ तत्काल पुनर्निमाण गर्नुपर्ने अवस्थामा रहेको सीमा सशस्त्र प्रहरीका एसपी भेजबहादुर शाहले बताए । पछिल्लोपटक २०७४ पुस ८ गते भारतको विभागीय टोलीले सीमा स्तम्भ सर्भे गरेको थियो।

मर्मतसम्भार अभावमा सीमा स्तम्भ जोखिममा परेको स्थानीय बासिन्दा बताउँछन् । जीर्ण सीमा स्तम्भ तत्काल पुनर्निर्माण गर्न नसकिए हराउने खतरा बढेको छ । ६४३(१४), ६४४(१६), ६४५(१७ र १) र ६५४(४०) नम्बरका मुख्य सीमास्तम्भ फेला नपरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै ६४ ३ र १(१५), ६४३ र २(१५ र १), ६४४ र १(१६ र १), ६४४ र २(१७) र ६४५ र १(१८) नम्बरका सहायक सीमा स्तम्भ पनि फेला परेका छैनन् । केहीलाई खोलाले बगाएको र केही फेला नपरेको एसपी शाहले बताए।

फेला नपरेका सीमा स्तम्भ खोज्न समस्या भएको सशस्त्र प्रहरीले जनाएको छ । ‘मुख्य चार र सहायक पाँचवटा स्तम्भ फेला परेका छैनन्,’ एसपी शाहले भने, ‘ती सीमा स्तम्भ भएका स्थानमा उत्खनन गर्न भारतीय र नेपाली पक्षबीच सहमति चाहिन्छ ।’ मर्मतसम्भार हुन नसक्दा पुरिएको हुन सक्ने अनुमान गरिएको छ।

बाँकेको भारतसँग जोडिएको ६५ किलोमिटर सीमामा रहेका चार मुख्य र पाँच सहायक स्तम्भ हराएका छन् । जहाँ ३२ मुख्य र २ सय ७५ सहायक सीमा स्तम्भ रहेको अभिलेख छ । अस्तित्वमा रहेकामध्ये २५ वटा सीमा स्तम्भ तत्काल पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन्।

नेपाल–भारत संयुक्त टोलीले गरेको सर्भेअनुसार सीमा स्तम्भ मर्मतसम्भार हुने बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । सीमा क्षेत्रमा रहेका जोर स्तम्भ भारत र बिजोर स्तम्भ नेपालले मर्मत तथा पुनर्निर्माण गर्ने उनले बताए । आफू नयाँ भएकाले यहाँको वस्तुस्थितिबारे त्यति जानकार नभएको प्रमुख जिल्ला अधिकारी भुजेलको भनाइ छ । यस विषयमा सशस्त्र प्रहरीसँग सोधपुछ गर्ने उनले बताए।

सरकारले स्थलगत अनुगमन नगर्दा पनि यहाँका सीमा स्तम्भ जोखिममा परेको प्राध्यापक जनार्दन आचार्य बताउँछन् । ‘सीमा स्तम्भका विषयमा सरकार कोठाभित्र छलफल गर्छ,’ उनले भने, ‘सीमा जोखिममा हुन्छ, कोठामा थाहा हुँदैन ।’ जसले गर्दा सीमा स्तम्भ हराउने र पुरिने उनको भनाइ छ । नेपाल सरकारको सीमा क्षेत्र हेर्ने जिम्मेवारी प्रस्ट नहुँदा पनि यस्तो समस्या भएको आचार्य बताउँछन् । तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरका पालामा सीमा स्तम्भ निर्माण गरिएको जानकारी दिँदै उनले त्यसयता मर्मतसम्भार हुन नसकेको बताए।

सरकारले बेलाबेलामा सीमा क्षेत्र स्थलगत अनुगमन गर्नुपर्ने उनले बताए । सीमा क्षेत्रमा रहेका स्तम्भ ढल्न थालेका छन् । केही स्तम्भ जमिनमुनि भासिन थालेको स्थानीय बासिन्दा बताउँछन् । सीमा स्तम्भ जोखिममा पर्दा, हराउँदा दुई देशबीच विवाद हुने प्राध्यापक आचार्यले बताए । सीमा स्तम्भ हराएका ठाउँमा भारतीय हस्तक्षेप रहेको सीमाविद् बताउँछन् । बाँकेको पश्चिममा सैनिक क्षेत्र (भूपू सैनिक बसोबास गर्ने क्षेत्र) र पूर्वमा राप्तीको नरहिनापुर क्षेत्रका सीमा स्तम्भ जोखिममा छन्।

प्रकाशित: १७ आश्विन २०७५ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App