७ वैशाख २०८१ शुक्रबार
समाज

आर्थिक लाभ लिन निजी स्कुलमा बम आतंक

काठमाडौं–निजी स्कुलबाट आर्थिक लाभ लिने उद्देश्यले राजधानीका विभिन्न निजी स्लुकमा बम आतंक फैलाइएको प्रहरीले जनाएको छ।  मंगलबार राजधानीका विभिन्न निजी स्कुलमा  अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल नामक दुई संगठनले बम आतंक मच्याएको थियो। उनीहरुले ललितपुरको रेडियन्ट स्कुल, काठमाडौंको डल्लुस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र जोरपाटीस्थित मनोकामना स्कुलमा बम आतंक मच्चाएका थिए।

स्कुलमा बम राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको महानगरीय परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए।  ‘विशुद्ध आपराधिक  गतिविधिबाट प्रेरित भएर स्कुलमा बम राखिएको छ,’ एसपी कार्कीले नागरिकन्युजसँग भने,‘यो कुनै राजनीतिक उद्देश्यसँग सम्बन्धित छैन।’ उनले योङ कम्युनिष्ट फोर्स नेपालका अध्यक्ष मीन सापकोटा रहेको तथ्य फेला पारेको जनाउँदै चाँडै पक्राउ गर्ने जनाए। पक्राउ परेका तीन जनालाई हातहितयार तथा विस्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा चलाइने जनाए।

राजधानीका निजी स्कुलमा बम आतंक फैलिएसँगै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रहरीले स्कुल तथा व्यापारिक केन्द्रलाई मध्यनजर गर्दै प्रहरीको गस्ती बढाएको जनाएको छ। प्रहरीले तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको छ।

 

प्रकाशित: ४ आश्विन २०७३ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App