coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

भूकम्पपछिको पुनर्निर्माण : घर बनाउनेलाई धमाधम सम्पन्न प्रमाणपत्र

पुननिर्माणपछि चिटिक्क र रंगिन देखिएको चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित कल्लेरी गाउँ ।

सिन्धुपाल्चोक– सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले भूकम्पपछिको पुनर्निर्माण सकेका प्रभावितलाई आवास निर्माण सम्पन्न प्रमाणपत्र वितरण थालेको छ।

वडा कार्यालयले मंगलबार एक कार्यक्रम गरी आवाशीय पुनर्निर्माण सकेका १ सय २८ भूकम्प प्रभावितलाई सम्पन्न प्रमाणपत्र वितरण गरेको हो। वडाध्यक्ष नरमान श्रेष्ठले नगरपालिकाबाट नक्सा पास गरी भवन निर्माण संहिता अनुसार पुनर्निर्माण सकेका लाभग्राहीलाई सम्पन्न प्रमाणपत्र वितरण थालेको बताए। जिल्ला सदरमुकाम रहेकाले पुनर्निर्माणलाई वडाले अभियानकै रुपमा सञ्चालन गरिरहेको बताउँदै उनले भने, ‘सम्पन्न प्रमाणपत्र वितरण भित्र समेट्छौं।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण सम्पन्न प्रभावितको घर प्राविधिकबाट अन्तिम परीक्षण गराई वडा कार्यालयबाट सम्पन्न प्रमाणपत्र वितरण गर्ने नीति लिएको छ। वडाध्यक्ष श्रेष्ठले सदरमुकाम रहेको साविकको चौतारा गाविसको पुनर्निर्माण ८० प्रतिशत सकिएको जानकारी दिए।

उनका अनुसार यसवडाका हजार ८८ लाभग्राहीमध्ये ९० प्रतिशतभन्दा बढीले दोस्रो किस्ता लिँदा ८ सय ५५ ले तेस्रो किस्ता लिइ पुनर्निर्माण सकेका छन्। पुनर्निर्माणका लागि नगरपालिकाबाट ४ सय ६२ प्रभावितले घरको नक्सा बनाएका छन्। निर्माण अन्तिम चरणमा पुगेका ती घर सम्पन्न प्रमाणपत्र पाउने चरणमा छन्।

पुनर्निर्माणलाई तीव्रता दिन नगरपालिकाले गत असारसम्म आरसीसीबाहेक अन्य संरचना बनाउँदा नक्सा पास अनिवार्य गरेको थिएन। सोही व्यवस्थाका कारण पुनर्निर्माणले तीव्रता लिएको वडाध्यक्ष श्रेष्ठले कार्यक्रममा बताए। ‘यसबीचमा बनेका सबै संरचनाको साउनदेखि नक्सासहित अभिलेखिकरण गर्ने व्यवस्था गरिएको छ,’ उनले भने।

पुनर्निर्माण सेको प्रभावितलाई प्रमाणपत्र साथ बधाई दिँदै नगर प्रमुख अमानसिंह तामाङले  १४ वटा वडा रहेको यो नगरपालिकाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जनाए। उनका अनुसार तेस्रो किस्ता लिएका ९ हजार ८ सय ३८ प्रभावित परिवारले पुनर्निर्माण सकेका छन्। कार्यक्रममा पुनर्निर्माणमा खटिने प्राधिकरणका प्राविधिकलाई वडा कार्यालयले सम्मानसमेत गरेको थियो।

यसअघि यस नगरकै वडा नं. १४ ले भूकम्प प्रभावितलाई निर्माण सम्पन्न प्रमाणपत्र वितरण थालिसकेको छ। उक्त वडाले यसै साता ४२ घरधनीलाई निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरेको थियो। भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।

प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (व्यक्तिगत आवास व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का अनुसार ८६ हजार लाभग्राहीमध्ये ५० प्रतिशतभन्दा बढी साढे ४४ हजार घरको पुनर्निर्माण सकिएको छ भने बाँकी निर्माणाधीन संरचना अन्तिम चरणमा पुगेका छन्। पुनर्निर्माण अन्तिम चरणमा पुगेकाले जिल्लाका १ सय ३ वटै वडाले आवास पुनर्निमाण सकेका प्रभावितलाई धमाधम सम्पन्न प्रमाणपत्र वितरण गरिरहेको छ।

प्रकाशित: १६ आश्विन २०७५ १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App