४ वैशाख २०८१ मंगलबार
समाज

१७ वर्षीया युवती २५ दिनदेखि बेपत्ता, प्रहरीले चासो नदेखाएको आरोप

काठमाडौं– उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ७ चकलघाटकी १७ वर्षीया युवती तुलसा पोखरेल गत भदौ २२ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।

मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी कक्षा १२ मा अध्ययनरत तुलसा कलेजको रजिष्ट्रेशन फर्म भर्न घरबाट हिँडेको तर, सोही दिनदेखि उनी सम्पर्कमा नआएको दाजु परशुराम पोखरेलले जानकारी दिए। उनले भने, ‘मेरी बहिनी भदौ २२ गतेदेखि हाम्रो सम्पर्कमा छैनन्। यो विषय प्रहरी प्रशासनलाई पनि जानकारी गराइसकेका छौं। तर, प्रहरीले बहिनीको खोजतलासमा ढिलासुस्ती गरेको छ।’

त्यस्तै, प्रहरीसँगै महिला अधिकार, माइती नेपाल र विभिन्न अधिकारकर्मीसँग आफूहरुले बहिनीको खोजीको लागि हार गुहार गरेको पनि दाजु परशुरामले सुनाए। आफूहरुले बहिनी हराएको तीन दिनपछिमात्रै प्रहरीमा खबर गरेको उनले बताए।

उनले आफूहरुले बहिनीको मोबाइलको कल डिटेल हेर्दा र उनले प्रयोग गर्ने फेसबुक हेर्दा घरबाट निस्किएको दिन अर्थात् भदौ २२ गते बिहान जहानसिंह भुजेलसँग निरन्तर फोन सम्पर्क गरेको देखिएको र अहिले भुजेलको नम्बरमा सम्पर्क गर्दा उक्त नम्बर पनि बन्द रहेको सुनाए।

त्यस्तै नयाँ शक्ति पार्टी नेपालकी प्रदेश नम्बर २ की महिला संयोजक तारादेवी भण्डारीले आफूहरुलाई सुरुमा छोरीले भागी विवाह गरेकी होलिन भन्ने शंका लागेकोले प्रहरी प्रशासनमा ढिलो उजुरी भएको स्पष्ट पारिन्। उनले भने, ‘सुरुमा हामीलाई छोरीले विवाह गरिन् होला भनेर शंका लागेकै कारण खोजीमा ध्यान दिएनौं। तर, पछि हामीले प्रहरी प्रशासनमा उजुरी दिँदा पनि खोजी कार्यमा ढिलासुस्ती देखायो। प्रहरीले चासो देखाएकोजस्तो हामीलाई अनुभुति भएको छैन्।’

हराएकी तुलसाकी सानिआमा समेत रहेकी नेतृ भण्डारीले छोरी हराएको करिब एक महिना बितिसक्दा पनि अहिलेसम्म कुनै उनको बारेमा कुनै जानकारी नहुनु र प्रहरीले पनि केही पत्ता लगाउन नसक्नुले परिवारमा थप पीडा उत्पन्न गराएको बताइन्। उनले भनिन्, ‘निर्मला पन्तकोजस्तै हाम्री छोरीको त्यस्तै घट्ना नहोस्। छिटोभन्दा छिटो उनको खोजी होस्।’

प्रहरीसँग आफूहरुले छोरी हराएको घट्ना जानकारी गराउँदा प्रहरी प्रशासनले उल्टै यस्ता घटनाहरु धेरै रहेको सुनाएको उनले गुनासो गरिन।

प्रकाशित: १६ आश्विन २०७५ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App