४ वैशाख २०८१ मंगलबार
राजनीति

शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

सान होजे- युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्‍याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ।

एक समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताए। उनले भने, “यो उपाधि शान्तिका दूत बुद्ध जन्मेको मुलुकका जनतालाई दिइएको हो, विश्वभर समझदारी, सहिष्णुता तथा शान्तिका लागि यस विश्वविद्यालयले गरेको कामको प्रशंसनीय छ।”

प्रधानमन्त्री ओलीले विश्वका नेताहरू जुनसुकै मुलुकबाट आए पनि संयुक्त राष्ट्र सङ्घमा शान्तिपूर्ण पृथ्वी, साझेदारीयुक्त प्रगति तथा मानवताको प्रगतिका लागि एकबद्ध भएको बताए। राष्ट्र सङ्घको महासभाको ७३ औँ महाधिवेशनमा आतङ्कवादको बढ्दो घटना, बढ्दो तापक्रम र समुद्रको बढ्दो सतह, निरन्तर गृहयुद्ध तथा क्षेत्रीयताका घटना र निरन्तर खाद्य असुरक्षाका विषय उठाइएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले सो विश्वविद्यालयसँग मानवले भोगेका द्विविधा समाधान गर्ने उपाय हुने भएकाले त्यसको समाधान खोज्नुपर्नेमा जोड दिँदै शान्ति र सहिष्णुताको संस्कृति सिर्जना गर्ने, त्यसको खोजलाई अभिप्रेरित गर्ने र त्यसबाट विश्वले हाल भोगेका द्विविधाको समाधान दिने बताए।
शान्ति विश्वविद्यालय बडापत्र (युपिस चार्टर) शान्ति विश्वविद्यालय स्थापना गर्न तयार भएको अन्तर्राष्ट्रिय सन्धि हो। नेपाल यस विश्वविद्यालयको बडापत्रमा हस्ताक्षर गर्ने ४१ औँ मुलुक बनेको छ। उक्त विश्वविद्यालय राष्ट्र सङ्घको महासभाको सन् १९८० को डिसेम्बर ५ को निर्णय ३५/५५ बाट स्थापना भएको हो। सो विश्वविद्यालयलाई ‘शान्तिसम्बन्धी सबै विषयको अन्तरविषयगत अध्ययनमार्फत मानव तथा समाजको विकासका लागि शिक्षण, अनुसन्धान, स्नातकोत्तर तालीममा संलग्न हुने र आधारभूत ज्ञान प्रवाह गर्ने’ कार्यादेश तोकिएको छ। सो विश्वविद्यालयमा अध्ययनका लागि निवेदन दिने हस्ताक्षरकर्ता मुलुकका विद्यार्थीले शिक्षण खर्चमा स्वतः ३० प्रतिशत छुट पाउने व्यवस्था छ। 

प्रधानमन्त्री ओली आज सेन्ट्रल भ्यालीस्थित विश्वविद्यालयको राद्रिगो काराजो क्याम्पसमा आइपुग्दा उनलाई रेक्टर फ्रान्सिस्को रोजास आराभेनाले स्वागत गरेका थिए।
विश्वविद्यालयका शैक्षिक निर्देशक तथा अन्तर्राष्ट्रिय कानून विभागका प्रमुख डा मिहिर कनाडेले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नाको कारणबारे जानकारी दिएका थिए। रासस

 

प्रकाशित: १६ आश्विन २०७५ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App