४ वैशाख २०८१ मंगलबार
समाज

सहायता कक्षदेखि सादा पोसाकमा प्रहरी

गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीले दसैं, तिहार र छठ लगायत नजिकिएका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ। चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना तयार गरेर लागु गरेको हो।

चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर गुल्मी प्रहरीले सुरक्षा योजना लागु गरेको हो। प्रहरीको यस योजना अन्तर्गत दुर्घटना रोकथाम, यात्रुका गुनासाको सुनुवाइ र यात्रु तथा सवारी साधनलाई  सुरक्षा दिने योजना रहेका छन्। दसैंमा सडकमा यात्रुको अत्याधिक चाप हुने भएकाले चालकले लामो समयसम्म सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्नेजस्ता कारणले दुर्घटनाको सम्भावना बढी हुने गरेको छ। यात्रुको चापको बाहना बनाएर सवारीहरुले बढी भाडा असुल्ने समस्या आउन नदिन प्रहरीले नागरिक सहायता कक्षको स्थापना गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार वस्नेतले जानकारी दिए।

पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन जिल्लाको रिडी बसपार्क, बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क गरि तीन स्थानमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षकोे स्थापना गरेका हुन्। दसैं तिहारका बेला सदरमुकाम हुँदै धेरै यात्रु चाडपर्व मनाउन आ–आफ्ना घर जाने र यो समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिककै सजिलोको लागि सहयाता कक्ष स्थापना गरिएको प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए।

यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मुल्य तिनुपर्ने समेतका घटनालाई मध्यनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको उनले बताए। गुल्मी प्रहरीले सहायता कक्षसँगै जिल्लाको सदरमुकाम तम्घास आउने रिडी–तम्घास सडकखण्ड र सवारीको सबैभन्दा बढी चाप हुने रिडी–रुद्रवेणी, वामीटक्सार सडकखण्डका साथै अन्य ग्रामीण सडकमा पनि मातहतका प्रहरी एकाइबाट सादा पोसाकमा सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको छ।

बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौविसै घण्टा प्रहरीहरुले सेवा प्रदान गर्ने र यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा माईकिङ गर्ने, आपराधिक गतिविधि नियन्त्रणका लागि योजना बनाउने, आपराधिक योजना भएका र भैरहेको ठाँउहरुको पहिचान गरि ती ठाँउहरुको निगरानी गर्ने, साथै सडकहरुमा पैदल गस्ती, मोबाइल गस्ती गरिने गुल्मीका प्रहरी नायव निरिक्षक शिव बहादुर खत्रीले बताए। नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन्। यो अवधिमा दुर्घटना हुने भएका सवारी चेक जाँच, ओभर लोड र मापासेलाई कडाइका साथ लैजाने जिल्ला ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक डोर बहादुर थापाले बताए।

सडक सुरक्षाका अतिरिक्त जिल्लाका शक्तिपीठमा लाग्ने मेला, तथा पूजापाठलाई व्यवस्थित र सुरक्षित राख्ने कार्ययोजना समेत बनाएको छ।

प्रकाशित: १६ आश्विन २०७५ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App