७ वैशाख २०८१ शुक्रबार
अर्थ

उखुले चुर्लुम्म ऋणमा डुबायो

सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज। तस्बिर : टंक/नागरिक

सर्लाही - जिल्लाको दक्षिणी भारतीय सीमावर्ती बारा उद्योरण गाउँका अजित सिंह उखु बेचेबापतको पैसा चिनी उद्योगबाट नपाउँदा केही दिनयता निकै छटपटिएका छन्। नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्षसमेत रहेका उनले केही दिनअघि जिल्लास्थित सञ्चारकर्मी साथीहरुमाझ उखुको भुक्तानीका लागि उद्योग व्यवस्थापनलाई दबाब दिन भन्दै याचनासमेत गरे।

‘लौ न साथीहरु मेरो त सबै व्यवहार नै चौपट हुन थालिसक्यो,’ पत्रकार मित्रहरुसँग उनले आग्रह गरे, ‘चिनी उद्योगको व्यवस्थापन पक्षलाई तपाईंहरु सबैजना मिलेर भुक्तानीको व्यवस्था मिलाउन दबाब दिनुप-यो।’ दक्षिण पश्चिम क्षेत्रस्थित धनकौलमा रहेको अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिजले अघिल्लो वर्षको एक लाख र यस वर्ष बेचेको उखुको १० लाख रुपैयाँ गरी ११ लाख रुपैयाँ भुक्तानी नगर्दा आफूलाई निकै समस्या परेको सिंहको गुनासो छ।

‘तपाईंहरु जस्ता पत्रकार साथीहरु अनि राजनीतिक पहुँच भएको मैले त भुक्तानी पाउन सकेको छैन भने अन्य निमुखा किसानको हालत कस्तो होला,’ सिंहले भने, ‘केही महिनाअघि एसइई पास गरेको छोरालाई भारतको बैंग्लोरस्थित कलेजमा ऋण काडेर भर्ना गराएँ, साहुलाई उखुको पैसा आउछ र दिन्छु भनेको थिएँ, दसैं पनि नजिकिँदो छ, तर उद्योगले पैसा दिने कुरै गर्दैन, दैनिक व्यवहार चौपट हुने भयो।’

नगदे बाली भनेर उखु खेती गर्दा उधारो हुँदै ऋणमा डुब्नु परेको सिंहले गुनासो गरे। सिंह मात्र हैन, अन्नपूर्णमा उखु दिएका सयौं किसान भुक्तानी नपाएर छटपटाइ रहेका छन्।

केही दिनअघि सञ्चारकर्मीको समूह अन्नपूर्ण चिनी उद्योग परिसरमा पुग्दा बलरा नगरपालिकाअन्तर्गत सुदामाका भाग्यनारायण सिंह उद्योगको मूल गेटमा घोरिएर बसिरहेका थिए । ‘खै कहिल्यै पैसा दिँदैन, गुनासो गर्न पनि मुख्य कर्मचारी कोही पनि उद्योगमा बस्दैनन्,’ उनले भने, ‘हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले चार सय क्विन्टल उखुको पैसा पहिला नै दिइसक्यो, तर यो उद्योगसँग लिनुपर्ने दुई लाख रुपैयाँ अहिलेसम्म पाइएको छैन ।’ उत्पादन लागत, काट्ने मजदुर, ओसार्ने टायर गाढा लगायतलाई ऋण खोजेर भुक्तानी गरे पनि उद्योगले भुक्तानी नदिँदा आफूहरु ब्याज तिर्दातिर्दा हैरान भएको सिंहको गुनासो थियो।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले नगदे बाली भनेर उखु खेती गरेका किसानहरु चुर्लुम्मै ऋणमा डुबेको बताए । ‘उद्योगपतिको छलछाम र ठग प्रवृतिले किसान ऋणमा चुर्लुम्मै डुबेका छन्,’ अध्यक्ष मैनालीले भने, ‘भुक्तानी त परै जाओस्, साहुसँग लिएको ऋणको ब्याज तिर्दा तिर्दा किसान अत्यन्त मारमा परेका छन्।’

धनकौल निवासी प्रदेश सांसद् विरेन्द्र सिंहले अन्नपूर्ण उद्योगले किसानलाई पटक–पटक झुक्याएको बताए। ‘उद्योगले पटक–पटक भुक्तानीका लागि मिति तोक्ने तर पटक्कै भुक्तानी दिएको छैन,’ सिंहले भने, ‘भदौ पहिलो साता जिल्ला प्रशासन कार्यालयमा चिनी बिक्री भएपछि भुक्तानी गर्ने लिखित सहमति भए पनि त्यसपछि आठ करोडभन्दा बढीको चिनी बिक्री हुँदा समेत किसानलाई भुक्तानी रोकेर राखेको छ ।’ आठ करोडभन्दा बढीको चिनी बिक्री भइसके पनि तीन करोडको हाराहारी मात्र भुक्तानी दिएकाले आफ्नो नेतृत्वमा दुई दिनअघि पुनः उद्योगको चिनी निकासी रोकिएको सांसद् सिंहले बताए।

स्थानीयले उद्योगबाट चिनी निकासीमा रोक लगाएकाले भुक्तानी गर्न नसकिएको भनेपछि भदौ पहिलो साता सरोकारवालाको बैठकले चिनी बिक्री खुल्ला गर्ने र २५ प्रतिशत चिनी बिक्री हुने बित्तिकै किसानलाई भुक्तानी सुरु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । ‘सहमतिअनुसार उद्योगले चिनी बिक्री गरे पनि किसानलाई भुक्तानी नदिएको गुनासो आइरहेको छ,’ प्रजिअ पोखरेलले भने, ‘हामीले उद्योग व्यवस्थापनलाई पटक–पटक ताकेता गरिरहेका छौं।’

अन्नपुर्ण सुगर मिलले गत सिजन ५९ करोड बराबरको १२ लाख ६८ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । जसको प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसाले ६८ करोड तीन लाख ५८ हजार ८० रुपैयाँ हुन्छ । त्यस्तै सो उद्योगले अघिल्लो वर्षकै सात करोड हाराहारी किसानको भुक्तानी बाँकी राखेको थियो।

उद्योगले हालसम्म अघिल्लो वर्षको सबै र यस वर्षको २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको अन्नपूर्णका महाप्रवन्धक केडी प्रसादले दाबी गरे । चिनी बिक्री गरेर २५ करोड रुपैयाँ भुक्तानी गरिसकिएको र अझै उद्योगको गोदाममा २७ करोड रुपैयाँको चिनी मौज्दात रहेको उनको दाबी थियो । अबको तीन महिनामा सम्पूर्ण किसानको भुक्तानी गरिसक्ने पनि केडी प्रसादले प्रतिबद्धता जनाए । स्थापना कालदेखि नै किसानलाई भुक्तानीको विषयमा विवादित अन्नपूर्णमा पटक–पटक महाप्रबन्धक फेरिँदै आएका छन् । सञ्चालकले किसानको भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि उद्योग सम्हाल्न आउने महाप्रबन्धकहरु ६ महिनापछि पुनः जिम्मेवारीबाट पन्छिने गरेका छन् । सुरुका महाप्रबन्धक केडी प्रसाद पुनः अहिले अन्नपूर्ण उद्योगमा फर्किएका हुन्।

सधै नियमित रुपमा उखुको भुक्तानी दिँदै आएको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले पनि अझै किसानलाई ४१ करोड रुपैयाँ दिन बाँकी छ । यस क्रसिङ सिजनमा उद्योगले किसानबाट एक अर्ब ८३ करोड रुपैयाँको उखु खरिद गरेकामा एक अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गरिसकिएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए।

उद्योग सञ्चालकले सरकारले विदेशी चिनी सस्तो मूल्यमा आयात हुन दिँदा आफूहरुको चिनीले उचित मूल्य नपाएको र बिक्री हुन नसकेको बहानामा किसानको भुक्तानी रोक्दै आएका छन् । सरकारले उखुको प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा तोकेको र चिनीमा भ्याट छुटबापतको रकम पुनः उद्योगलाई नै पठाइसके पनि उद्योगपतिले पूरा भुक्तानी नदिएको उखु उत्पादक महासंघका अध्यक्ष मैनालीको आरोप छ।

प्रकाशित: १६ आश्विन २०७५ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App