७ वैशाख २०८१ शुक्रबार
शिक्षा

शिक्षकका सन्तान पढ्न थालेपछि गुणस्तर वृद्धि

काठमाडौं - सार्वजनिक विद्यालयका शिक्षकहरुले आफूले पठनपाठन गराउँदै आएका स्कुलमा आफ्ना नानी पढाउन थालेपछि स्कुलको पठनपाठन, सरसफाई, शैक्षिक वातावरण तथा अनुसानसमा सुधार हुन थालेको छ।

विश्वनिकेतन माविमा ५ वर्षअघि १२ सय विद्यार्थी थिए । त्यतीखेर केही शिक्षक तथा कर्मचारीले मात्र आफ्ना नानी सो स्कुलमा पढाउँथे । हाल सबै शिक्षक तथा कर्मचारीले आफ्ना सन्तान स्कुलमा अनिवार्य पढाउने अभियान चलाएपछि पाँच वर्षमा स्कुलले गुणस्तर वृद्धि भएको छ । २०७० मा विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर सबै शिक्षक कर्मचारीका विद्यालय उमेरका सन्तान स्कुलमा भर्ना गराउन अनुरोध गरेपछि स्कुलका शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरी स्कुलमै भर्ना गर्न थाले।

हाल स्कुलको विद्यार्थीको संख्या २७ सय पुगेको छ । स्कुलमा कार्यरत स्थायीअस्थायी गरी कुल १ सय १५ शिक्षकमध्ये ८० प्रतिशत शिक्षकका सन्तान सोही स्कुलमा पढ्छन्।

प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार स्कुलका शिक्षक कर्मचारीले स्कुल उमेरका सन्तानलाई सोही स्कुलमै पठनपाठन गराइरहेका छन् । स्कुलका २० शिक्षकले आफ्ना नानी विश्वनिकेतनमै पढाइरहेका छन् । प्रधानाध्यापक कँडेलका दुई सन्तानले पनि विश्वनिकेतनबाटै १२ कक्षा पूरा गरेका हुन् । ‘म सहायक प्रिन्सिपल हुँदा नै आप्mना बच्चाहरु यहीँ भर्ना गरें,’ कँडेलले भने, ‘त्यसपछि अरु सरमिसले पनि आफ्ना नानी यहीँ भर्ना गर्नु थाल्नुभयो । त्यसपछि समुदायको विश्वास जित्न सफल भयौं ।’ गुणस्तर वृद्धि भएसँगै विश्वनिकेतनले उत्कृष्ट स्कुलको पुरस्कार नै ६ पटक पाइसकेको छ।

आफूले अध्यापन गराउने स्कुलमै नानी पढाउँदा स्कुल प्रति उत्तरदायित्व र जिम्मेवारी बढ्ने अनुभव शिक्षकहरुको छ । ‘सार्वजनिक शिक्षकले पहिले आफ्नो स्कुलमाथि विश्वास गर्नुपर्छ,’ विश्व निकेतन स्कुलका समाजिक विषयका शिक्षक नारायणप्रसाद नेपालले भने, ‘शिक्षक भएकै स्कुलमा नानी पढाउँदा स्कुलका समस्या, कमजोरीलगायतका विषयबस्तु शिक्षकलाई थाहा हुन्छ र प्रशासनसँग छलफल गरी सुधार गर्न मद्दत मिल्ने रहेछ।’

बलम्बुमा रहेको बलम्बु माविमा पनि यही नियम छ । स्कुल व्यवस्थापन समितिले नानीहरु स्कुलमै पढाउनुपर्ने व्यवस्था गरेको स्कुलको प्रिन्सिपल सुमन राउतले बताए।

दुई दशकअघि सो स्कुलमा विद्यार्थी संख्या १५/१६ मात्र थियो । व्यवस्थापन समितिले सबै शिक्षक कर्मचारीलाई आप्mना सन्तान स्कुलमै पढाउने निर्णय गरे पनि कार्यान्वयन हुन गाह्रो भयो । तर प्रधानअध्यापक राउतले हार मानेनन् । सबैलाई मनाउने प्रयास गरिरहे । स्कुलले शिक्षक कर्मचारीलाई आफ्ना सन्तान स्कुलमै पढाउने निर्देशन जारी गरेपछि ३० शिक्षक कर्मचारीमध्ये ६० प्रतिशतले स्कुल उमेरका आफ्ना सन्तानलाई स्कुलमा भर्ना गराए । त्यसपछि स्कुलमा विद्यार्थीको संख्या पनि बढ्दै गयो । स्कुलले यस वर्ष सिट नभएको कारण डेढ सय विद्यार्थी फिर्ता गर्नु परेको उनले बताए।

शिक्षकले आफ्नै नानी आफ्नै स्कुलमा पढाउँदा कक्षाकोमा शिक्षकहरु अनुशासित हुने गरेको अनुभव राउतको छ । ‘शिक्षकले विद्यार्थीलाई जथाभावि बोल्ने र हकार्ने व्यवहार बन्द भएको छ,’ राउतले भने, ‘आफ्ना सहकर्मी शिक्षकको गल्ती वास्ता नगर्ने शिक्षकहरु आफ्ना नानीले शिक्षकको गल्ती सुनाएपछि शिक्षकका गुनासा प्रसासनसम्म छिटो पुग्ने रहेछ । साथै अतिरिक्त क्रियाकलापमा जोड दिने, कक्षा नियमित हुने, शिक्षकले विद्यार्थीसँग राम्रो व्यवहार गर्ने र गृहकार्य जाँचे नजाँचेकोमा सावधानी अपनाउँदा रहेछन् ।’ स्कुलले शत प्रतिशत नजिता दिन सफल हुँदै ४ पटक क्षेत्रीय र २ पटक राष्ट्रिय पुरस्कार पाउन सफल भएको छ।

समुदायको विश्वास जित्न सहज
बाफलमा रहेको ज्ञानोदय माविका शिक्षकका नानीहरु आफनै स्कुलमा पठनपाठन थालेपछि स्कुलले फड्को मारेको छ । स्कुलका शिक्षकहरुले आफूले अध्यापन गराउने स्कुलप्रति विश्वास गरेरै आप्mना नानी पढाउन थालेको २०४६ देखि नै हो।

‘त्यतिखेर सबै समुदायको विश्वास जित्न सफल भएको हाम्रो स्कुलको विश्वास अझै कायम छ । अभिभावकले पत्याएर आज हाम्रो स्कुलमा २७ सय नानीहरु पढिरहेका छन्,’ प्रिन्सिपल महर्जनले भने, ‘मलाई अभिभावकले समेत भन्छन् तपाईंको स्कुलमा तपाईंको छोराछोरी पढ्छन् त्यही भएर हामीलाई पढाउन विश्वास लाग्छ ।’ स्कुलले ३ पटक क्षेत्रीय र एक पटक राष्ट्रिय पुरस्कार प्राप्त गर्न योग्य बनेको छ।

शैक्षिक गुणस्तर वृद्धि
सार्वजनिक पद धारण गर्ने सबै सरकारी शिक्षक र कर्मचारीले आप्mना नानीहरु सार्वजनिक स्कुलमै पढाउने अनिवार्य व्यवस्था सरकारबाटै हुनसके सबै सार्वजनिक स्कुलको शिक्षा सुधार हुने विश्वास ललितपुरको बुङमतीमा रहेको आदर्शशौलः युवक माविका प्रधानाध्यापक सरोजभक्त आचार्यको ठहर छ । सो स्कुलले व्यवस्थापन समितिबाटै निर्णय गराएर शिक्षक कर्मचारीका सन्तान अध्ययन गराए शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको उनले बताए। स्कुलमा कुल ७१ शिक्षककर्मचारी छन् । जसमध्ये १० जना शिक्षकको विद्यालय उमेरका नानीहरु अझै स्कुलमै पढिरहेका छन् । ‘कक्षामा आप्mना सन्तान हुँदा शिक्षकबीच नै छलफल भई कक्षा नियमित हुने, नियमित गृहकार्य दिने र जाँच्ने परिपाटी बस्दो रहेछ,’ आचार्यले सुनाए । यो स्कुलले पनि राष्ट्रिय पुरस्कार पाइसकेको छ।

यदि सबै सार्वजनिक विद्यालयका शिक्षक कर्मचारीका विद्यालय उमेरका सन्तानलाई उनैले पढाउने स्कुलमा पढाउनैपर्ने व्यवस्था गरियो भने सार्वजनिक स्कुलको गुणस्तर स्वतः सुधार हुने विश्वास प्रधानाध्यापकहरुको छ।

प्रकाशित: १६ आश्विन २०७५ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App