८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश सरकार ७ महिने बच्चा जस्तै : मुख्यमन्त्री पौडेल

मकवानपुर - तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएको सात महिना मात्र भएको भन्दै सरकारको कामकारवाहीको बचाउ गरेका छन्। सात महिने बच्चाले के गर्न सक्छ भनेर प्रतिप्रश्न गर्दै उनले यो अवधीमा धेरै कामको आश गर्नु मुर्खता भएको बताए। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको कार्यक्रममा बाेल्दै उनले दुई सय ५० बर्षे केन्द्रीय सरकारलार्इ ७४ बर्षे स्थानीय सरकारसँग तुलना गर्न नहुने जिकिर गरे। ‘प्रदेश सरकारले सात महिनामा गरेको कामबाट म सन्तुष्ट छु,’ उनले भने,‘पहिलो पटक गठन भएको प्रदेश सरकारबाट यो भन्दा धेरै काम गर्न सक्ने अवस्था छैन।’

सरकार शिशु अवस्थामा झैं रहेका कारण सरकारका कामबारे मुल्याङ्कन गर्ने बेला नभएको भन्दै उनले केन्द्र सरकारसँग तुलना गरेर प्रदेश सरकारले काम गरेन भन्नु गलत भएको टिप्पणी गरे। प्रदेश सरकारले नदेखिने हिसावमा धेरै महत्वपूर्ण काम गरेको मुख्यमन्त्री पौडेलले दाबी समेत गरे। ‘एउटा प्लेन कति स्पिडमा उडेको छ भन्ने कुरा यात्रुलाई थाहा हुन्न, विस्तारै उडेजस्तो भान हुन्छ’ उनले भने, ‘ल्याण्ड गर्ने बेला मात्र प्लेनको स्पिड अनुभव हुन्छ, प्रदेश सरकारले पनि तिब्र गतिमा काम गरेकाले केहि समयमा थाहा हुन्छ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग गर्नु पत्रकारको पनि दायित्व भएको भन्दै उनले सरकारलाई सहयोग गर्नुपर्ने तर्क गरे । देशका ठूला परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भुमिका खेलेको बताउँदै मुख्यमन्त्री पौडेलले सरकारलाई नलखेटी सहयोग गर्न पत्रकारलाई आग्रह गरे । ‘हामी (सरकार) पत्रकारलाई चौथो अंग मानेर सम्मान गर्छौ,’ उनले भने, ‘त्यसैले पत्रकारको नाममा हुने गलत कार्यलाई रोक्नुहोस्, सकारात्मक सुझाव दिनोस् ।’

यही मोडलले विकास हुँदैन, देश बर्बाद हुन्छ : कानुनमन्त्री जम्कट्टेल
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले बजेट छर्ने मोडलले विकासलाई गति दिन नसकिने भन्दै आक्रोश पोखेका छन्। कृषि, पर्यटन, औद्योगिक क्षेत्रको प्रचुर सम्भावना रहेको भन्दै उनले समृद्धी ल्याउन हावाको भरमा, एउटा कर्मचारीको भरमा विकास बजेट ल्याउने कार्यको अन्त्य हुनुपर्नेमा जोड दिए।
‘पैसा छरेको छ, हजारौ–लाखौं योजनामा,’ उनले भने, ‘अब पत्रकार साथीहरुले यो कुरा ठोकेर लेख्नुहोस, संघीय र प्रदेश सरकार तिम्रो मोडलले अब बिकास हुँदैन, नेपाल बर्बाद हुन्छ।’

 

प्रकाशित: १५ आश्विन २०७५ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App