८ वैशाख २०८१ शनिबार
समाज

४ लाखको हाराहारीमा अश्लील वेबसाइट छन्, २० हजार बन्द गर्यौंः प्राधिकरण

काठमाडौं– नेपाल दुरसञ्चार प्राधिकरणले अहिलेसम्म बीस हजार पोर्न साइट बन्द गरेको जनाएको छ।प्राधिकरणका सूचना अधिकारी एवं वरिष्ठ निर्देशक पुरुषोत्तम खनालका अनुसार सोमवारसम्म बीस हजार पोर्न साइट बन्द गरिएको छ।

खनालका अनुसार इन्टरनेट सेवा प्रदायक (आइएसपी), नेटवर्क सेवा प्रदायक (एनएसपी) र भ्वाइस सेवा प्रदायक (भीओआइपी) लाई निर्देशन जारी गरेर अश्लिल वेबसाइट बन्द गराइएको छ।

खनालले नेपालबाट ३ देखि ४ लाखसम्म त्यस्ता साइटमा पहुँच हुने गरेको अनुमान रहेको जानकारी दिए। तर जानकारहरुका अनुसार पाेर्न साइटको स‌ंख्या त्यो भन्दा कयाै‌ं गुणा ज्यादा छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर अश्लिल साइटको विवरण संकलन गर्दै क्रमशः बन्द गर्न आदेश दिएको हो।
प्राधिकरणले अहिले कन्टेन्ट फिल्टर सामग्री खरिद प्रक्रिया अगाडि बढाएको पनि सूचना अधिकारी खनालले जानकारी दिए। अश्लिल साइट बन्द गराउन नियमित काम बाहेक केही बोझ थपिएको भएपनि खासै समस्या नआएको खनालले जानकारी दिए।

मुलुकमा बलात्कार एवं यौनजन्य हिंसाका घटना बृद्धि भएसँग सरकारले इन्टरनेटका अश्लिल सामग्री नियन्त्रण गर्न पोर्न साइट बन्द गर्ने निर्णय लिएको हो।

"इन्टरनेटको माध्यमवाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित" गरेको ठहर गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अश्लिल साइट बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि असोज ८ गतेदेखि प्राधिकरणले अश्लिल साइट बन्द गर्न थालेको हो।

प्रकाशित: १५ आश्विन २०७५ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App