तराईमा जितिया पर्वको रमझम, मिथिलानी महिलाको कठोर व्रत (फोटो फिचर)

सोमबार, १५ असोज २०७५, १७ : ५७ महेशकुमार दास

126


महोत्तरी– मिथिलानी महिलाले निष्ठापूर्वक मनाउने महान् पर्व जितिया सोमवारदेखि सुरु भएको छ। पुत्रको दिर्घायु एवं परिवारको मंगलकामना साथ महोत्तरी लगायत मिथिलाञ्चल भरिकै महिलाहरुले मनाउने जितिया पर्वका व्रतालुहरुले सोमबार आ–आफना घर र गाउँ नजिक पायक पर्ने पोखरी, नदी तलाव जलाशयमा स्नान गरेर भिजेकै लुगा लगाएर घिरौलाको पातमा जितुमाहन भगवानलाई तेल र खरी(पिना)चढाएर यो पर्वको विधिवत शुरुवात गरेका हुन। 

व्रतालु महिलाहरुले पर्वको दोस्रो दिन मंगलबार एकाविहानै सूर्य उदय अगावै घर आँगनमा च्युरा, दही, सखर, मिठा र अमोट पुनः चढाई आफू पनि खाने र आफना स–परिवारलाई समेत खुवाएर विहानैदेखि निराहार व्रत धारण गर्छन। तिज पछाडिको महिलाले मनाउने यो पर्व दोस्रो ठुलो चाड रहेको छ।

आश्विन कृष्ण अष्टमीका दिन विधिवत शुरु भएको जितिया पर्वमा मंगलवार उपवास बसेर तथा जिमुतवाहन देउताको कथा सुनेर जितिया पर्व मनाइने छ। अष्टमी तिथिमा यो पर्वको उपवास सुरु हुने र नवमीमा उपवास सम्पन हुने प्रचलन रहे अनुसार मिथिलानी महिलाहरु बुधवार विधिविधान पूर्वक जितिया पर्वको समापन गर्ने छन्।   

हिन्दु धर्मावलम्वीहरुले उपवास गर्ने पर्व मध्येकै सबैभन्दा लामो उपवास बस्नुपर्ने र व्रतालुले थुक समेत निल्न नहुने र निराहार उपवास बसी ब्रतलाई खण्डित गर्न नपाउने नियम रहेकाले यस पर्वलाई मिथिलाञ्चलमा मनाइने कठोर व्रत मध्यको एक भन्ने गरिन्छ।

यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई मधेसका प्रत्येक गाउँ घर शहरका महिलाहरुले मनाउँछन्। पुत्रको सुख शान्ति चिरायुका लागि महिलालले उपवास र प्राचीण प्रक्रिया अनुरुप पूजा गरेर यो पर्व मनाउने चलन रहि आएको छ। जितिया पर्व यस कारण पनि प्रसिद्ध छ की यसको नियम पूर्वक पूजा गर्नाले पुत्रका आयुमा वृद्धि हुने जनविश्वास पाइन्छ। 

यस पर्वमा माछमरुवा र ओंगठनको विशेष महत्व रहेको छ। ओंगठन  एकाविहानै उठेर दहि च्युरा, मिठा र आमको अमोटलाई मिसाएर घरको पर्खालमा अडेस लागेर खाने कार्यलाई ‘ओंगठन’भन्ने गरिन्छ। जुन यस पर्वको मूख्य विशेषता पनि हो। 

खासमा ओंगठन व्रत महिलाले लामो समयसम्म उपवास बस्नुपर्ने भएकोले गरिएपनि बालबालिकाहरुको यसमा विशेष रुचि हुने गर्दछ। बालबालिकाहरु जितिया पर्व आउनु केही दिन पहिलेदेखि नै ओंगठनमा दही च्युरा जमेर खाने योजना बनाउने गर्दछन्।

ओङ्गठनबारे एउटा भनाई छ, 
जितिया पावनि बड भारी,
धियापुताके ठोकि सुतौलनि 
अपने खयलनि भरि थारी । 

अर्थात जितिया पर्व धेरै ठूलो छ। यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छ अनि आफु थालभरी खान्छे, तर वास्तवीकता यो होइन त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी त्यो पर्व गर्नु भन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सतर्कताको क्रममा गरिने चरणको कार्य मात्र हो। 

धियाके जनम जनि दिय हे विधाता
देवनि सहोदर जेठ भाय
घैलाके ओङगठन गेरुलि 
बहिनियाँके ओङगठन भाय ।

मैथली भाषाको यो भनाईले पनि ओंङ्गठनको महत्व दर्शाउने गर्दछ। यस पर्वको आफनो विशिष्ट विधि विधान पनि रहेको छ। पर्वको एक दिन पूर्व अर्थात कृष्ण सप्तमीका दिन सधवा महिलाले माछा मरुवा(कोदो)को रोटी खाने गर्छिन भने विधवा महिला भात चिउरा कोदोको रोटी खाने परम्परा रहेको छ। शाकाहारी हुनेले स्नान गरेर गम्हरीको खीर वा भात पनि खाने चलन छ। 

यसवर्ष मंगलबार विहानदेखि व्रतालुहरुले उपवास शुरु गरेर बुधबार विहानै पारवान गर्ने तिथी परेको जलेश्वर नगरपालिका ४ घर भएका पण्डित महेशप्रसाद झाले बताए। 

ब्रतालु महिलालले बुधबार बिहानै उठेर पोखरी नदीमा गएर स्नान गर्छिन र त्यहि डिमा घिरौलाको पात कचौरामा लगेको तेल लगाई त्यसमाथि हल चढाएर अर्घ दिसकेपछि घर आउँछन र आ आफना सन्तानहरुको कपालमा कचौरामा रहेको सो पूजाको तेल लगाइने चलन रहेको छ। यसपछि सबैलाई दही च्युरा र फलफूल खान दिएर व्रत आफू पनि पारायण गरेर पर्वको समापन गर्ने पण्डित झाको कथन रहेको छ। 

जितिया पर्व मधेसी संस्कृतिको पर्वमध्ये एउटा मुख्य पर्वको रुपमा पनि लिइन्छ। यस पर्वलाई जिमुतवाहन व्रत पनि भन्ने गरिन्छ। विशेष रुपले आइतबार र मंगलबार पर्ने जितियालाई अधिक महत्व दिने प्रचलन रहेको छ। यसलाई खडजितिया पनि भनिन्छ। मिथिलाञ्चलमा कुनै व्यक्ति ठुलो दुर्घटनाबाट बच्दा उनको आमाले खड्जतिया गरेकी रहेछन भने जनविश्वास पनि रहँदै आएको छ। विशेष रुपले आइतवार र मंगलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ।  

जिमुतवाहन देउताबारे एउटा कथा पनि रहेको छ। भविष्य पुराण अनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए। उनी माथि महादेवको कृपा थियो। नियम निष्ठाले व्रत गर्ने महिलालाई उनले सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए। 

जितिया पर्वमा चिल र स्यालको पनि पूजा गर्ने प्रचलन रहेको छ। जितिया पर्व गर्ने व्रतिले गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसो लगायतको जनावरको पूजा समेत गर्ने गर्छन। जितिया पर्वबारे एउटा किम्वदन्ती प्रचलित रहेको छ। 

कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्ने गर्थे र हाँगामा चिल बस्ने गर्थे। दुवै मित्र थिए। एक दिन जितिया पर्व मनाउने महिलाहरु नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए। व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो। दुवैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे। सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो। मृतकका आफन्त शवको अधिकांश भाग जलेपछि छाडेर घर फर्के। उनीहरु फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिइ मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो। दुवैको जन्म भास्कर नामक ब्राह्मणको घरमा भयो। चिलको शिलावतीर स्यालको कर्पुरावतीका रुपमा जन्म भयो। जेठी शिलावतीको विवाह धनवानको घरमा र कर्पुरावतीको राजाको घरमा। जेठी शिलावतीको सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको छोरा जन्मिए पनि मृत्यु भयो। 

यो घटनाले दुवैको सम्बन्ध विग्रियो। अनि शिलावतीले आफनी बहिनीलाई पूर्व जन्मको घटना स्मरण गराउँदै व्रत भंग गरेको कारण यस जन्ममा तिम्रो सन्तानको मृत्यु भएको भनी जानकारी गराएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। त्यसै कारणले यो व्रत जति कठोर भएपनि व्रतलाई कसैले खण्डित गर्न चाहँदैनन्।

यस क्षेत्रमा एउटा अर्को भनाइ पनि प्रसिद्ध छः जितिया, दशे, दशमी, दशमी सोरहे सुकराति, सुकराति छवे छठी। जखने भेल छठ सव पाविन वईठ।  

यस भनाइले पनि जितिया सकिएलगत्तै विजया दशमी दिपावली र छठ पर्वको रौनकतालाई प्रष्ट गर्दछ। यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र साँस्कृतिक विविधतालाई पनि सामाजिक संरचनाकै अभिन्न पर्वको रुपमा बुझ्नु जरुरी भएको छ।

जिमुतवाहनको पूजा विधि 

कृष्णअष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान सूर्यलाई अर्घ अर्पण गर्छन्। त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ। डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नया कपडाले छोपिन्छ।

मध्याह्नतिर टोलभरीका महिलाले एकठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देउताको बारेमा एउटी व्रतालु महिलाले कथावाचन गर्छिन् र सबैले कथा श्रवण गरेपछि आ–आप्mना घर फर्किन्छन्। साँझतिर आँगनलाई गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ। त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हांगा गाड्नुका साथै हँंगामा माटोकोे चिलको आकृति बनाउछ र हाँगामुनि स्यालको आकृति बनाउँछ। त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन्।  







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad