४ वैशाख २०८१ मंगलबार
राजनीति

गैरसरकारी संस्थाले कर्णालीलाई गरिब बनाए : मुख्यमन्त्री शाही

फाइल तस्विर

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले योजनावद्ध तरिकाले कर्णालीलाई गरिब बनाएको आरोप लगाएका छन्। कर्णाली गरिब नभएको बताउँदै मुख्यमन्त्री शाहीले एनजिओ तथा आइएनजिओहरुले यहाँका जनताको मानसिकतामा गरिबी भरिदिएको बताए। ‘विभिन्न समयमा कर्णालीमा आएका एनजिओ तथा आइएनजिओहरुले चाउचाउ खान सिकाए, कुहिएको चामल खान सिकाए र यहाँको जनतालाई गरिबीको ट्याग लगाउँदै फोटो खिचेर डलर कमाए’ सोमवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘यहाँका जनता गरिब होइनन् गरिब बनाइएको हो।’

मुख्यमन्त्री शाहीले केही वर्षअघिसम्म कर्णाली सबै कुरामा आत्मनिर्भर रहेको बताउँदै एनजिओ र आइएनजिओ प्रवेश गरेसँगै कर्णाली गरिब बन्दै गएको बताए। ‘चरेसको थालमा मार्सी चामलको भात खाने, गाउँमै कपास खेती गरेर कपडा उत्पादन गर्ने कर्णालीवासी गरिव होइनन्’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीमा डलर कमाउन गएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससले यहाँका जनतालाई गरिब बनाएका हुन्।’ उनले अव कर्णालीमा गैससको मनोमानी नचल्ने बताए। ‘अव प्रदेश सरकारले तोकेको मापदण्डभित्र रहेर गैससहरु चल्नुपर्छ, उनीहरुको मनोमानी यहाँ चल्दैन्’ मुख्यमन्त्री शाहीले भने, ‘सरकारको लक्ष्य र योजनालाई सघाउ पुर्याउने गैससले मात्रै यहाँ काम गर्न पाउँछन्।’ उनले गैससकै कारण कर्णालीमा श्रम गर्ने बानी हराउँदै गएको बताए। ‘अर्गानिक उत्पादन मार्फत प्रयाप्त मुनाफा कमाउने आधार हुँदाहुँदै गैससहरुले यहाँका युवालाई परनिर्भर बनाए’ मुख्यमन्त्री शाहीले भने, ‘श्रम गर्ने बानीको विकास गर्न र श्रमप्रतिको सम्मानका लागि प्रदेश सरकार लागिपरेको छ।’

मुख्यमन्त्री शाहीले मन्तव्यको अधिकांस समय गैससको आलोचनामै खर्चिए। उनले कर्णालीमा आउने केही विज्ञहरुले ह्वाइट बोर्डमा सुन्तला फलाउने गरेको आरोप लगाए। ‘भूगोलमै नपुगेर ल्यापटप र ह्वाइटबाेर्डमा सुन्तला फलाएर समृद्धि आउँदैन्, अब कर्णालीलाई त्यस्ता विज्ञको आवश्यकता छैन्’ उनले भने, ‘यहाँको माटोसँग भिजेका, काम गरिरहेकाहरुसँग हातेमालो गर्दै कर्णालीलाई समृद्ध बनाउँछौं।’ मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश विकट नभएको बताए। ‘कर्णाली स्वर्णभूमि हो, पाँच पाण्डव र छायानाथ जस्ता भगवानको बास भएको प्रदेश हो’ उनले भने, ‘यस्तो भूमिलाई ‘नर्क’ र विकट भन्नु गलत हो।’ 
 

 

प्रकाशित: १५ आश्विन २०७५ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App